नेता कार्यकर्तालाई प्रचण्डले दिए यस्तो निर्देशन 



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार अन्तरपार्टी निर्देशन–२ जारी गर्दै पार्टीले गर्न लागेको विशेष राष्ट्रिय अभियानका लागि तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

पार्टीको नेतृत्वमा सुरु गर्ने भनिएको अभियानको स्वरुप कस्तो हुने भन्ने बारेमा केही पनि खुलाइएको छैन । साथै, अभियान कहिलेदेखि सुरु हुने र त्यस अन्तरगत कुनकुन कार्यक्रम जनताका माझमा लगिइँदै छन् आदि विषय पनि खुलाइएको छैन ।

नेकपाका एकजना सचिवालय सदस्यका अनुसार अध्यक्ष दाहालले २ जेठदेखि ९ भदौसम्म बसेका सचिवालय बैठकका निर्णयका आधारमा अन्तरपार्टी निर्देशन–२ जारी गरेका हुन् । उनका अनुसार अन्तरपार्टी निर्देशन–२ पार्टीका सबै केन्द्रीय सदस्यलाई पठाइसकिएको छ । प्रेसित अन्तरपार्टी निर्देशन–२ मा उल्लेख भएअनुसार ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

अन्तर पार्टी निर्देशन–२ जारी गरेसँगै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले पार्टीले गर्ने राष्ट्रिय अभियान विशेष प्रकारको हुने भएकाले त्यसलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि पार्टी पंक्तिलाई आजैदेखि तयारी हालतमा रहन कडा निर्देशन पनि दिइसकेका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएको १५ महिना बित्दा समेत एकता प्रक्रिया पूर्णरुपमा टुंगिइसकेको छैन । पोलिटब्युरो कमिटी, लेखा, अनुशासन, निर्वाचन गरी तीन आयोग, जेष्ठ कम्युनिष्ट मञ्च लगायतका संगठन निर्माण गर्न अझै बाँकी नै रहेका छन् । यसैगरी विभाग, जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लागे पनि यी संगठनले अझैं पूर्णता पाउन सकेका छैनन् ।  

तर अध्यक्ष दाहालले पार्टी एकताको काम अधिकांश टुंगो लागिसकेको र केही बाँकी रहेका काम पनि छिट्टै नै टुंगो लाग्ने बताउँदै विशेष राष्ट्रिय अभियान गर्ने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टी एकता घोषणासभामा शीर्ष नेताहरुले तीन महिनाभित्र एकताको टुंगो लगाइसक्ने उद्घोष गरेका थिए । तर १५ महिना बित्दा समेत एकताका काम अझैं बाँकी नै छन् । विविध कारणले टुंगो लाग्न नसकेकाले बाँकी काम केही समय भित्रै टुंगो लागिसक्ने भएकाले हाललाई अभियानको तयारीमा जुट्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

यसैगरी राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारीले गर्दा एकता–एकीकरणका बाँकी काम भनेकै समयमा सम्पन्न गर्न सम्भव नभएको उल्लेख पनि गरिएको छ । सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अब अन्तिम चरणमा आइपुगेको भन्दै अध्यक्ष दाहालले छिट्टै नै एकताका बाँकी कामहरू सम्पन्न हुने प्रतिवद्धता समेत् व्यक्त गरेका छन् ।

एकीकृत पार्टी नेकपामा अब २५ वटा जनवर्गीय संगठन र ३३ विभाग हुनेछन् । निर्देशनमा नेकपाले एकीकरण प्रक्रिया बाँकी रहेका जिल्ला कमिटीहरुको एकता छिटो सक्न निर्देशन दिएको छ । अन्तरपार्टी निर्देशन–२ मा एकता प्रक्रियाका क्रममा अहिलेसम्म टुङ्गिएका विषयहरुबारे जानकारी गराइएको छ ।

यसैगरी जनवर्गीय संगठनहरूको विधान, कमिटी सदस्यहरूको छनोटलगायतका विषयमा प्रस्ताव तयार गर्ने जिम्मेवारी इन्चार्ज, सह–इन्चार्ज तथा संयोजक, सहसंयोजकलाई दिइएको जानकारी गराउँदै विशेष सम्पर्कका लागि पार्टी महासचिवसँग छलफल गर्न सकिने जनाइएको छ ।

एकतासँगै पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने पनि नेकपाले जनाएको छ । नेकपाले केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन–१ जारी गरिसकेको छ ।

    

 

प्रतिक्रिया दिनुहोस्