अर्थ मन्त्रीले गरे सहसचिवहरुको व्यापक फेरबदल 



काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सहसचिवहरुको व्यापक सरुवा गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवा आज (आइतबार) सार्वजनिक गरिएको छ । जसमध्ये सबैभन्दा आकर्षक मानिने आन्तरिक राजश्व विभागको महानिर्देशकमा भर्खरै प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर आएका सहसचिव विनोद कुँवर जान सफल भएका छन् । 

त्यसैगरी अर्को आकर्षक पद भन्सार विभागको महानिर्देशकमा अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई बनाइएको छ । भन्सारका महानिर्देशक रहेका रामेश्वर दंगालको प्रदेशमा सरूवा भएपछि उक्त पद रिक्त थियो ।

अर्थको प्रशासन महाशाखामा मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका सहसचिव झक्कप्रसाद आचार्यलाई सरूवा गरिएको छ । 

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यस्तरीय करदाता कार्यालय प्रमुख बनाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुखमा भने अहिले कसैलाई पठाइएको छैन । 

भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजस्व तालिम केन्द्रको प्रमुख बनाइएको छ भने भर्खरै सरूवा भएर अर्थ मन्त्रालय आएका मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ ।

वीरगन्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ भने त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभागमा ल्याइएको छ ।

भन्सार विभागमा कार्यरत तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा लगिएको छ भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ ।

त्यसैगरी, अर्थ मन्त्रालयकै अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक  बनाइएको छ ।

यसपछि अर्थमन्त्रालय उपसचिव प्रमुख रहेका कार्यालय प्रमुखहरुको सरुवाको तयारीमा जुटेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्