‘याे सरकार हल न चलकाे अवस्थामा छ’



चितवन : कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारकाे कडा अालाेचना गरेका छन् । उनले सरकार हल न चलको अवस्थामा रहेको भन्दै सरकारको गतिविधिप्रति नकारात्मक टिप्पणी गरेका हुन् । आवश्यक बहुमत भएर पनि कम्युनिष्ट सरकारले काम गर्न नसकेको भन्दै पाैडेलले सरकारले जनतामा निरासा दिलाउनेबाहेक केही गर्न नसकेको अाराेप लगाए ।  

 

नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सरकारको भनाइ एउटा र गराइ अर्कै भएकाे बताए। सरकारको कामप्रति सत्ता पक्षका नेता नै असन्तुष्ट रहेको जिकिर गर्दै कम्युनिष्टको सिद्धान्त र नेताले देखाएको व्यवहारका कारण शून्यता छाएको बताए।

 

पौडेलले विपक्षी दल शान्त हुनु र आवश्यक बहुमत हुँदा पनि सरकारमा बस्नेले काम गर्ने मेसो नपाएको आरोप लगाए। ' पर्याप्त बहुमत प्राप्त, विपक्षी शान्त भएको यति अनुकुल समयमा काम गर्न मेसो पाएन, पौडेलले भने, 'कम्युनिष्टको भनाई र गराईमा फरक भएकै कारण देशमा निराशा छाएको छ, यो चिन्ताको विषय हो।' 

 

पार्टीभित्र आफूले गुट नगरेको भन्दै उनले पार्टी नेतृत्वले सबैलाई मिलाएर लान नसक्दा गुट देखिएको दाबी गरे। पार्टीको आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने विषयमा भने उनी बाेल्न चाहेनन् । 

 

पदभन्दा पार्टी सुधार्ने चिन्ता रहेकाले आफू त्यसैमा लागेको उनकाे स्पष्टाेक्ति थियाे। 'सभापति को हुने भन्ने ठूलो होइन, पार्टी बनाउने मुख्य चिन्ता हो, उनले भने,' पदमा बस्नेभन्दा पनि पार्टी हारेको कुराले कसरी सुधार गर्ने भन्ने चिन्ता हो।'

 

उनले पार्टीको विधानमा केन्द्रीय समिति बढाए पदाधीकारीको संख्या बढाउनुपर्ने धारणा राख्दै दुईमा एक मात्र बढाउन नसकिने बताए। सभापतिको अधिकार अहिलेको विधानले पर्याप्त गरेकोले त्यसलाई बढाउन नहुने उनको तर्क थियो। 

प्रतिक्रिया दिनुहोस्