नजिकियो दसैँ : न टिकट, न बजार



काठमाडौं । दसैँ आउन १ महिना बाँकी छ । उपत्यकालाई कर्मथलो बनाएर बसेका २० लाखभन्दा बढी मानिस दसैँ मनाउन जन्मभूमि फर्कने तयारीमा जुटिसकेका छन् ।

तर, दसैँका लागि अहिलेसम्म यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउने तयारीसम्म थालेका छैनन् । व्यवसायीले मात्र होइन, दसैँ लक्षित बजार सञ्चालन गर्दै आएको सरकार नियन्त्रित निकायले समेत दसैँ बजार केन्द्रित सुलभ खाद्यान्न बिक्री वितरण डिपोलगायतका कुनै तयारी थालेको छैन ।

व्यवसायी र सरकारले दसैँका लािग गर्नुपर्ने व्यवस्थापकीय कार्यमा बेवास्ता गर्दा हरेक वर्ष सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् । सरकार र व्यवसायीको बेवास्ताका कारण यस्तो सास्ती यस वर्ष पनि झेल्नुपर्ने देखिएको छ ।

दसैँमा घर जाने यात्रुको सहजताका लागि भन्दै सरकारले बसको अग्रिम टिकट बुकिङको समय निर्धारण गर्ने गर्छ । दसैँमा सर्वसाधारणलाई सहुलियतका लागि सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने गरेको छ । तर, समयमा यी काम नगर्दा हरेक वर्ष जस्तै यस वर्ष पनि सर्वसाधारणले दसैँको मुखमा टिकट किन्न र सामान किन्न हापझाँप गर्नुपर्ने देखिएको छ ।

दसैँका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुल्ने गर्छ । दसैँका लागि अग्रिम बुकिङ टिकटका लागि केही तयारी नभएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।

अग्रिम टिकटका लागि व्यवसायीहरू नै नआएको हुँदा विभागका तर्फबाट तयारी नभएको उनले बताए । प्रवक्ता पनेरुले भने, ‘विभागले सबै ठाउँको यातायातको भाडा निर्धारण गरेको छ । विभागले यातायात व्यवयासीले यात्रुबाट भाडा बढी लिएको छ÷छैन र नियमअनुसार बसको क्षमताभन्दा बढी यात्रु राखेको छ भने नियमन गर्ने हो । अग्रिम टिकट बुकिङ खुला गर्न तयार हुनुपर्ने व्यवसायीहरू हो ।’ आजको दिनसम्म अग्रिम टिकट बुकिङक लागि कुनै तयारी नभएको प्रवक्ता पनेरुको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला दसैँका लागि अग्रिम टिकट बुकिङ तयारीका लागि यातायात विभागले व्यवसायीलाई बोलाउनुपर्ने तर आजसम्म आफूहरूलाई कुनै जानकारी नदिएको बताउँछन् ।
उनले विगतका वर्षमा दसैँ आउनु १५-२० दिनअघि अग्रिम टिकट खुला गर्ने गरेको बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले दसैँमा काठमाडौं उपत्यकाबाट २० लाखभन्दा बढी यात्रुहरू बाहिरिने गरेको बताए । सधैँजस्तो दसैँका लागि १५-२० अघि सार्वजनिक यातायातको टिकट बुकिङ खुला गर्ने गरेको प्रवक्ता भट्टको भनाइ छ ।

दसैँको १ साताअघि काठमाडौं बाहिर जानेको चाप धेरै नै हुने हुँदा ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न समस्या हुने गरेको उनले बताए । समयमा अग्रिम टिकट बुकिङ खुला गर्दा काठमाडौं बाहिर जानेलाई सजिलो हुने साथै ट्राफिक व्यवस्थापन पनि सहज हुने उनको भनाइ छ ।

दसैँमा आमसर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुका सामग्री सहुलियत मूल्यमा बिक्री वितरण गर्न सरकारले विगतमा करिब १ महिनाअघि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको थियो ।

अघिल्लो वर्षको दसैँमा समेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्घ संस्थान र साल्ट ट्रेडिङ कम्पनीको सयुक्त सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । यस पटक दसैँ आउन १ महिना मात्र बाँकी हुँदा सम्बन्धित निकायले सुपथ मूल्य पसल सञ्चालन गर्न कुनै सारसुरै गरेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले सुपथ मूल्य पसल सञ्चालनका लागि कुनै तयारी नभएको बताइन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायलको निर्देशन नआएको र मन्त्रालयको निर्देशन आएपछि खाद्य कम्पनीले दसैँका लागि सुपथ मूल्य सञ्चालन गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्