मन, अपराध र हत्या-हिंसासम्बन्धी समाचार



  • दीपक खनाल

काठमाडौं । समाजमा हरेक दिन विभिन्न घटनाहरू भइरहन्छन् । ती घटना मानवीय र प्राकृतिक पक्षबाट हुने विभिन्न किसिमका हुन्छन्। यी दुवै प्रकारका प्रमुख घटना समाचार बन्छन् । मानिसबाट हुने नकारात्मक, सकारात्मक क्रियाकलाप पनि समाचार हुन् भने प्राकृतिक रूपमा हुने विपद् (बाढी–पहिरो, भूकम्प, शीतलहर, चट्याङ आदि) पनि समाचार नै हुन्।

कहिलेकाहीँ मानिसका कारण हुने घटनाले बढी समाचारको चर्चा पाउँछ।समाचारका रूपमा सम्प्रेषण नभए पनि त्यस्तो घटना एक मानिसबाट अर्काे मानिसमा सर्दै भुसको आगोझैँ समाज, देशभर फैलिन्छ । गत साउन महिनामा देशमा अन्य धेरै घटना भए तर २ वटा घटना निकै चर्चामा आए । एउटा घटना थियो, काठमाडौंको काभ्रेस्थलीमा गोरखाको अस्राङका पाण्डे थरका व्यक्तिले गरेको भनिएको हत्या र आत्महत्या ।

अर्काे घटना थियो, नेपाल सरकारका एक जना ‘गोल्ड मेडलिस्ट’ उपसचिवले लिएको भनिएको २२ लाख ५० हजार रूपैयाँ घुस प्रकरण । यी दुवै घटनाबारे अध्ययन, अनुसन्धान भइहेकाले अन्तिम यथार्थ निष्कर्ष आउला नै, तर, यो भन्दा पनि पहिला यस्ता घटनाहरू किन हुन्छन् र यस्ता घटना दीर्घकालीन रूपमा कसरी रोक्न सकिन्छ भन्नेतिर ध्यान दिन आवश्यक छ ।

मन

भौतिक शरीर बाहिरी आवरण हो । यसलाई मनले बेरेको हुन्छ । मनलाई भावनाले ढाक्छ । भावनालाई चेतनाले मार्ग प्रशस्त गर्छ । चेतना बिग्रियो भने भावना, मन, शरीर बिग्रन्छ । चेतना बिगे्रपछि मानिस भावनामा बग्छ । भावनामा बगेपछि मन भाँडिन्छ । मन भाँडिएपछि मानिसले प्रणालीबद्ध रूपमा केही कार्य गर्न सक्दैन ।

जस्तैः मनै लागेन भने मानिसले जतिसुकै पढेर पनि अरूलाई पढाउन सक्दैन । विभिन्न क्षेत्रमा जतिसुकै सीप भएर पनि प्रदर्शन गर्न सक्दैन । जति धेरै धन भए पनि कुनै कार्य गर्र्ने विचार फुराउन सक्दैन । यी सबै कार्य गर्नका लागि मन नै सक्रिय हुनुपर्छ ।

भावना चेतनाभन्दा धेरै गुणा शक्तिशाली हुन्छ । त्यसैले मानिस भावनामा बग्यो भने उसबाट सकारात्मक, नकारात्मक घटना हुन्छन् । यदि उसको दाहिने दिमागको चेतनामा सकारात्मक भावको विकास भएको रहेछ भने उसले सकारात्मक ठुलो कार्य गर्न सक्छ भने नकारात्मक चेतना बढेको रहेछ भने गलत कार्य गर्न पुग्छ ।

दाहिने दिमागको चेतनाको तह जति तलतल घट्टै जान्छ, उतिउति उसले विभिन्न अपराध गर्न पुग्छ । हत्या–हिंसा जस्ता जघन्य अपराधमा नै सरिक हुन पुग्छ ऊ । फेरि उसको देब्रे दिमाग चल्यो भने उसले यस्ता घटना गराउन सक्दैन किनकि देब्रे दिमाग बुद्धि, विवेकको क्षेत्र हो । बुद्धि, विवेकको विकास भएमा हत्या–हिंसा जस्ता घटना हुन सक्दैन । र, व्यक्तिले सकारात्मक कार्य गर्न सक्छ ।

माथिका प्रतिनिधिमूलक २ वटा उदाहरणलाई यसरी नै बुझौँ । यी दुवै घटना हुनु मानिसको मनको खेल हो । मनलाई नियन्त्रण गर्न नसक्दा यस्तो घटना भयो । मनलाई नियन्त्रण गर्न सकेको वा चेतनाको तह ज्यादै न्यून नभएको भए काभ्रेस्थलीका पाण्डेले यस्तो जघन्य अपराध गर्ने थिएनन् । ती उपसचिव त्यति सक्षम हुँदाहुँदै लोभमा फसे । उनले पनि मनलाई नियन्त्रणमा राख्न सकेको भए यो घटना हुने नै थिएन ।

त्यसैले समाजमा जति पनि घटना हुन्छन्, ती मनकै कारण हुन्छन् । मनलाई बसमा राख्न नसक्दा नै हुन्छन् । अतः यस्ता घटना रोक्न मनलाई नियन्त्रणमा राखिरहनुपर्छ । मनलाई नियन्त्रणमा राख्ने उपाय भनेकै साधना हो । प्रणायाम, ध्यान, योग हो ।
अपराध
अपराध समाजमै हुने घटना हो । यो सामाजिक परिवेश, विभिन्न कारणबाट घट्ने मानवीय क्रियाकलाप हो। अपराधबिनाको समाज कल्पना नै गर्न सकिँदैन भन्ने विद्वान् पनि छन् । समाजमा घटाइने घटनालाई कानुनले गरेको परिभाषाअनुसार अपराध भनिन्छ। यसले समाज, राष्ट्र र व्यक्तिलाई हानि नोक्सानी पुर्‍याएको हुनुपर्छ ।

फौजदारी कानुनप्रति आकर्षित भएको हुनुपर्छ । केलाई अपराध भन्ने केलाई नभन्ने भन्ने कुरा कानुनको आँखामा भरपर्छ । यो देश, परिवेश समाजअनुसार फरकफरक हुन सक्छ । कानुन्विद् ब्ल्याकस्टोनका अनुसार सार्वजनिक कानुनको विपरीत उक्त कानुनले गर्नू भनेको नगर्नू र नगर्नू भनेको गर्नु अपराध हो ।

अर्का कानुनविद् स्टफेनले फरक परिभाषा दिँदै भनेका छन्, ‘विस्तृत रूपमा समुदायले आफ्नो अधिकारका रूपमा आदर गरेको अधिकारको उल्लङ्घनको खराब प्रवृत्ति नै अपराध हो ।’ अल्बर्ट कोहेनको परिभाषामा अपराध मानवीय व्यवहारको एउटा यस्तो पथभ्रष्ट आचरण हो, जसले सामाजिक अव्यवस्था सिर्जना गर्ने हुँदा दबाउनु जरुरी हुन्छ ।

एलेनका अनुसार ‘अपराध अपराध नै हो किनभने यो गलत कार्यसँग सम्बन्धित हुन्छ, जसले सामाजिक व्यवस्था र सुरक्षामा प्रत्यक्ष र गम्भीर स्तरमा हाँक दिन्छ तथा पीडित पक्षलाई क्षतिपूर्ति दिएर मात्र यसलाई क्षम्य मान्न सकिँदैन।’ यी ४ वटै परिभाषाबाट प्रष्ट हुन्छ– अपराध समाजको अक्षम्य मानवीय क्रियाकलाप हो, जो दण्डनीय हुन्छ । केन्नय पनि अपराध दण्डनीय नै हुने बताउँछन्।

उनी भन्छन्, ‘अपराधहरू गल्ती हुन्, जसको परिणाम दण्ड हुन्छ, जसको माफी कुनै व्यक्तिबाट हुन सक्दैन, हुन सक्ने भएमा राजाबाट मात्र हुन सक्छ।’ लिखत, सम्पत्ति, जीउ–ज्यान, करणी, राजकाजसम्बन्धी आदि अपराधका क्षेत्रहरू हुन्। अपराध हुनका लागि मानवीय आचरण, सार्वजनिक कानुनद्वारा निषेधित, दण्ड सजाय जस्ता तत्व हुनुपर्छ ।

हत्या–हिंसासम्बन्धी समाचार
सुरुमै प्रसङ्ग उठाइएझैँ समाजमा हुने विभिन्न घटनामध्ये अपराधसम्बन्धी घटना समाचारको एक प्रमुख स्रोत हो । अपराधलाई झैँ अपराधसम्बन्धी समाचारलाई विभिन्न ढङ्गले हेर्न सकिन्छ । अपराधबिनाको समाचार स्रोतको कल्पना गर्न सकिँदैन तर सबै अपराध समाचार हुन्छन् भन्न पनि सकिँदैन । समाचार भए पनि सम्प्रेषण नै गर्नुपर्छ भन्ने छैन ।

जस्तोः आत्महत्यालाई किन समाचार मानेर सम्प्रेषण गर्ने ? अझ यसरी झुण्डिएर, यस्तो औषधि खाएर भन्ने तरिका नै बताएर वा डोरी, सलको स्केच नै दिएर, औषधिको नाम नै दिएर । यसले झन आत्महत्या गर्न उत्प्रेरित गरेको जस्तो भएन र ?

हिंसाको दार्शनिक र आध्यात्मिक अर्थ व्यापक छ । काटमार, कुटपिट मात्र हिंसा होइन । मानिसको गलत विचारका कारण पनि हिंसा, मानसिक हिंसा हुन सक्छ । यहाँ भने हिंसालाई काटमार, कुटपिटका रूपमा लिइएको हो । पत्रकारले यस्ता हत्या–हिंसाका घटनालाई एकदमै प्राथमिकता दिएर समाचार बनाएर किन सम्प्रेषण गर्नपर्‍यो ?

के यी समाचारबिना पनि मिडिया सञ्चालन हुन सक्दैनन् र ? पत्रकारले हत्या–हिंसाका समाचारबाहेक अरू समाचार खोज्न र बनाउन सक्दैनन् र ? पर्दैन र ? त्यसैले अब यस्ता समाचारलाई के के न ‘स्कूप’ समाचारका रूपमा नलिई सकेसम्म नदिने, दिनै परे पनि सामान्य सूचना दिने हिसाबले मात्र दिने हो कि ? तर, हत्या–हिंसा जस्ता आपराधिक क्रियाकलापका समाचारलाई नराख्दा हुने भन्ने बुझाइ भए पनि नेपालका मिडियाले यसलाई अझै ध्यान दिएका पाइँदैन ।

यस्ता समाचारका साथमा अपराधका क्रममा प्रयोग गरिएका साधनको नाम र तस्विरसमेत दिएको पाइन्छ । जसरी मानिसलाई अन्य समाचारले प्रभाव पार्छन्, त्यसरी नै हत्या–हिंसासम्बन्धी समाचारले प्रभाव पार्छन्। जस्तो कि कुनै गरिबको विषयमा लेखिएको समाचारले जसरी कमलो मन भएका पैसावाल मानिसको मनमा प्रभाव पारेर उसले गरिबलाई आर्थिक सहयोग गर्न सक्छ, त्यसरी नै हत्या–हिंसाका समाचारका कारण मानव मनोविज्ञानमा त्यस्तै नकारात्मक प्रभाव पर्न सक्छ ।

यस्ता समाचार सुने, हेरे, पढेपछि सन्काह प्रवृत्ति भएको व्यक्ति यस्तै हत्या–हिंसाजन्य अपराधमा लाग्न उक्सिन सक्छ। त्यसैले बिहान उठ्नासाथ वा राति खाटमा सुत्न जानुअघि मानिसलाई किन हत्या–हिंसाका समाचार पढ्न, सुन्न र हेर्न बाध्य पार्ने ?

पत्रकार आचारसंहिताले पनि यस्ता समाचार सम्प्रेषण गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)को दफा ५ को उपदफा ३ मा हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने वाक्यांशअन्तर्गत भनिएकोे छ, ‘पत्रकार तथा सञ्चार माध्यमले हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’

सोही दफाको उपदफा ६ मा बीभत्स दृश्य र तस्विर प्रकाशन वा प्रसारणअन्तर्गत भनिएको छ, ‘पत्रकार तथा सञ्चार माध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता कारणबाट सिर्जित नग्न, क्षत–विक्षत र बीभत्स दृश्य एवं तस्विरहरू सम्प्रेषण गर्नुहुँदैन ।’

तर, उल्लिखित प्रावधानविपरीत पत्रकार र सञ्चार माध्यमले जघन्य अपराधका समाचार मात्र होइन, कार्टुन, चित्र बनाएर प्रस्तुत गरिरहेका पाइन्छ। तस्विर नै राखेका पाइन्छ। हत्या–हिंसाका समाचारमा तरबार, खुकुरी, चक्कु, चुप्पी प्रहार गरेको ‘स्केच’समेत बनाएर प्रस्तुत गरेको देखिन्छ । बीभत्स दृश्यसहित जघन्य अपराधका समाचार दिन आवश्यक नै छैन। यदि दिनै पर्‍यो भने पनि सामान्य सूचनाका रूपमा भित्र कतै दिए हुन्छ तर हाम्रो पत्रकारिताको क्षेत्रमा अझै यस्तो सोचको विकास भएको पाइँदैन।

अधिकांश वरिष्ठ पत्रकार र नाम चलेका मिडियाले समेत यसतर्फ ध्यान दिएका देखिँदैन । नागरिक समाज, अपराधशास्त्री आदिले यस्ता विषयविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी हालेको एउटै अभिलेख छैन । काउन्सिलले पनि छुट्टै क्लस्टर बनाएर यस्ता विषयमा स्वअनुगमन गर्न सकेको पाइँदैन। अतः यस्ता समाचार दिने विषयमा अब सबै सचेत पक्षले ध्यान दिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्