प्रधानमन्त्रीले उद्घाटन गरेको ‘बिजुली बस’ पुल्चोकमै थन्कियो



काठमाडौं : महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरेका थिए ।

उक्त बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गर्नेगरी एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले खरिद गरेको थियो । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा सञ्चालन गर्ने भनिएको थियो । 

त्यतिन्जेलसम्म उपत्यकाभित्र चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता पनि भएको थियो । तर, लुम्बिनी विकास कोषले लिखित सम्झौता साझालाई नदिएको कारण सञ्चालनमा ल्याउन नसकेको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए ।

 ‘दसैं–तिहारको कारणले हुन सक्छ लुम्बिनी विकास कोषसँग लिखित सम्झौता हुन पाएको छैन, सम्झौताको पखाईमा छौं,’ उनले भने ।

लुम्बिनी–काठमाडौं तथा अन्य जुनसुकै ठाउँमा बिजुलीबस परीक्षण तथा सञ्चालन गर्न साझा सदैव इच्छुक रहेको बताउँदै उनले भने, ‘नेपालको अर्थतन्त्र, जनस्वास्थ्य र वातावरणका लागि बिजुलीबस प्रयोग अपरहार्य छ ।’

उद्घाटनका दिन प्रधानमन्त्री ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, बन मन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्च पदस्थ सरकारी व्यक्तिहरुले पुल्चोकदेखि सिंहदरबारसम्म ‘बिजुली बस’ चढेका थिए । 

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकापर्ण गरेका थिए । सोही कार्ययोजनाअन्तर्गत रहेर साझाले बिजुली बस चलाउने अध्यक्ष दीक्षितले बताए ।

प्रतिक्रिया दिनुहोस्