
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहेका छन् ।
उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्छन् ।
‘‘सबै मन्त्रालयका सचिवले प्रत्येक महीनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ’’, उनले भने, ‘‘सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहनुभएको छ ।’’
मन्त्रालयका कामकारवाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफैँले अनुगमन शुरु गरेका हुन् । गत असोजमा सोसम्बन्धी सफ्टवेयरको विकास गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले नियमित रुपमा सबै मन्त्रालयको कार्यप्रगतिबारे निकट भएर अनुगमन गरिरहेको बताए ।
‘‘प्रधानमन्त्री कुन मन्त्रालयको कार्यप्रगति कस्तो रहेको छ भनेर उहाँ नियमित अनुगमनबाट जानकार हुनुहुन्छ’’ उनले भने, ‘‘अनुगमनका क्रममा देखिएका कतिपय समस्या प्रधानमन्त्री आफैँले मन्त्री र सचिवलाई निर्देशनसमेत दिनुहुन्छ ।’’