यी हुन् एकल नाम सिफारिस हुने पर्साका भाग्यमानीहरू



  • सूर्य वि.क.

वीरगन्ज । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूलाई उम्मेदवार सिफारिसको चटारो छ। राजनीतिक दलका क्षेत्रीय समितिहरूको बैठक बस्ने र उम्मेदवारको नाम सिफारिस गर्ने क्रमले तीव्रता पाइरहेको छ।

कतिपय क्षेत्रमा धेरै उम्मेदवारको नाम सिफारिस भएको छ भने कतिपय क्षेत्रमा एकल नाम पनि सिफारिस भएको छ। एकल नाम सिफारिस हुने भाग्यमानी उम्मेदवार वन तथा वातावरणमन्त्री प्रदीप यादव पनि हुन्।

पर्साको क्षेत्र नम्बर–१ बाट जनता समाजवादी पार्टी (जसपा)को क्षेत्रीय समन्वय समितिले यादवको एकल नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो। पर्साको क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्ताको पनि एकल नाम सिफारिस भएको छ।

नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर– ३ र ४ बाट एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर– ३ बाट पूर्वमन्त्रीसमेत रहेका सुरेन्द्रप्रसाद चौधरी र ४ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस भएको नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले जानकारी दिए।

जसपाले टुङ्ग्यायो उम्मेदवारको सिफारिस

जनता समाजवादी पार्टी (जसपा) पर्साले पर्सा जिल्लाका ४ वटै प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचनबाट उम्मेदवारको सिफारिस गरिसकेको छ। जसपा पर्साका सचिव तबरेज अहमदका अनुसार पर्साको क्षेत्र नम्बर– १ बाट वन तथा वातावरणमन्त्री प्रदीप यादवको एकल नाम सिफारिस भएको छ भने २ बाट ४ जनाको नाम सिफारिस भएको छ।

मधेस प्रदेशकी प्रदेशसभा सदस्य करिमा बेगमसहित ४ जनाको नाम क्षेत्र नम्बर–२ बाट सिफारिस गरिएको हो। जसपाका नेताहरू जनार्दनप्रसाद यादव, सुरेन्द्रप्रसाद कुर्मी र चन्दन यादवलाई पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको हो।

त्यस्तै, क्षेत्र नम्बर– ३ बाट २ जनाको नाम सिफारिस गरिएको छ। कार्डियोलोजी विशेषज्ञ डा. मधु गुप्ता र नेता भरत गिरीको नाम सो क्षेत्रबाट सिफारिस गरिएको हो । गुप्ता सोही क्षेत्रबाट निर्वाचित भएर निलम्बनमा परेका हरिनारायण रौनियारकी छोरी हुन्।

यस्तै, क्षेत्र नम्बर– ४ बाट पनि २ जनाको नाम सिफारिस गरिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपा पर्साका सचिव तबरेज अहमदको नाम सो क्षेत्रबाट सांसदको उम्मेदवारका लागि सिफारिस गरिएको जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवले जानकारी दिए ।

एमालेबाट पनि लगभग पक्कापक्की

नेकपा एमालेबाट पर्सा जिल्लाका ४ वटै क्षेत्रमा उम्मेदवार लगभग पक्कापक्की भएका छन् । पर्साका क्षेत्र नम्बर– १, २, ३ र ४ बाट क्रमशः बसरुद्दिन अन्सारी, विजय सरावगी, राजकुमार गुप्ता र जालिम मियाँ पक्कापक्की भए पनि सिफारिसमा भने अरूको पनि नाम समावेश गरिएको छ।

क्षेत्र नम्बर– १ बाट अन्सारीसँगै जुनैद अन्सारी र इस्लाम हवारीको नाम सिफारिस गरिएको नेकपा एमाले वीरगन्ज महानगर समितिका सचिव सुन्दर कुर्मीले जानकारी दिए । त्यस्तै, क्षेत्र नम्बर– २ बाट वीरगन्ज महानगरपालिकाका निवर्तमान प्रमुख विजयकुमार सरावगीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ।

क्षेत्र नम्बर– ३ मा राजकुमार गुप्ताको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर– ४ बाट जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जालिम मियाँ र एमाले पर्साका अध्यक्ष जयप्रकाश थारूको नाम सिफारिस भएको छ।

विवादका बीच कांग्रेसका उम्मेदवार सिफारिस

नेपाली कांग्रेसबाट पर्साको क्षेत्र नम्बर– १ बाट निवर्तमान जिल्ला सभापति एवं संविधानसभा सदस्य अजय द्विवेदी र संविधानसभा सदस्य अनिल रुँगटाको चर्चा चले पनि आधिकारिक रूपमा अहिलेसम्म पत्र नपाएको जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले बताए। उनका अनुसार क्षेत्र नम्बर– २ बाट पनि आधिकारिक रूपमा अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन।

क्षेत्र नम्बर– ३ र ४ बाट भने सर्वसम्मत रूपमा सुरेन्द्रप्रसाद चौधरी र रमेश रिजालको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर– १ र २ मा भने कांग्रेसको आपसी विवाद सामाजिक सञ्जालमा देखिएको छ। एकथरिले निवर्तमान जिल्ला सभापति अजय द्विवेदीलाई बधाई तथा शुभकामना दिइरहेका छन् भने अर्काथरिले अनिल रुँगटालाई शुभकामना दिने क्रम जारी छ।

त्यस्तै, क्षेत्र नम्बर– २ मा पनि अजय चौरसिया र राजेन्द्रबहादुर अमात्यको नाम चर्चामा छ। एकथरि समितिले सर्वसम्मत रूपमा राजेन्द्रबहादुर अमात्यको नाम सिफारिस गरेको समाचार सार्वजनिक गर्छ भने अर्कोथरिले आफ्नै प्यानलका व्यक्तिहरूको भेलाले सिफारिस गरेको अमान्य हुने भन्दै केन्द्रीय सदस्य अजय चौरसियाको नाम सिफारिस गरेको बतइएको छ ।

पर्सा कांग्रेसमा देखिएको आन्तरिक विवाद र आपसी द्वन्द्वले फेरि कांग्रेसलाई घाटा हुने सङ्केत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्