बर्खास्त मन्त्री सोडारी पार्टीबाटसमेत निकालिए



कैलाली : मंगलबार सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीबाट बर्खास्तमा परेका दीर्घबहादुर सोडारीलार्इ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ ।

नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले सोडारीले पदीय आचरण विपरित कार्य गरेकाले साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको पुष्टि गरे । केहीबेर अघिमात्रै उनको स्थानमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदीलार्इ नियुक्त गरिएको थियो ।

'पदीय आचरण विपरित काम गरेकाले उहाँलार्इ साधारण सदस्यबाट समेत निष्कासित गरिएको हो', थापाले भने, 'प्रदेश पदाधिकारीको निर्णयले उहाँलार्इ साधारण सदस्य समेत नरहने निर्णय गरेको हो ।'

नेकपाको प्रदेश इन्चार्जमा भीम रावल, सह–इन्चार्जमा लक्ष्यण दत्त जोशी, सचिव नेप चौधरी र अध्यक्ष स्वयम थापाले उनलार्इ साधारण सदस्यबाट समेत निष्कासित गर्ने निर्णय गरेको हो ।

प्रत्यक्ष तर्फ निर्वाचित भएकाले सोडारीको सांसद पद भने यथावत रहने भएको छ । तत्कालिन एमाले र एकिकृत माओवादी मिलेर नेकपा बन्नुअघि उनी एमालेका जिल्ला अध्यक्ष थिए ।

सोडारीले आर्थिक अनियमितता गरेको, विभिन्न अपराधिक पृष्ठभुमीका मानिसहरुलार्इ छुटाउन प्रहरी प्रशासनमा दबाब दिएको लगायतका आरोप लाग्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्