महोत्तरीमा बाढीको वितण्डा, सयौँ बिघा धान खेत डुबानमा



महोत्तरी । बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा-६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित छन् । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ ।

अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि  सरस्वती चिन्तित बनेकी हुन् ।

वाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन् ।

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ । ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उनले भनिन् । सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा-६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन ।

गनरापुराका कै  रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन । कुलोसँगै जोडिएको उनको घर डुमानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताए ।

बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ ।

‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षिय सुरदेव यादव चिन्ता व्यक्त गर्छन् । अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्‍याएको थियो ।

हामीलाई यो कुलोले निक्कै समस्या बनाउँदै आएको छ । बर्सेनि यही कुलाको  कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्छन् ।

कुलोमा आउने बाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी,  थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् ।

यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार  जोखिममा छन् । स्थानीय सरकारले आफूहरूको समस्यालाई बेवास्ता गरेको पीडितहरूको गुनासो छ । तर, उनीहरूको समस्याप्रति आफूहरूको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्