डराईडराई ऐना झ्यालको पुतली



काठमाडौं । २०७२ सालको भूकम्पपछि निर्देशक सुजित बिडारी ‘मोनोटोनस’ भई घरमा नै बसिरहेका थिए । त्यहीबेला उनलाई दिदी र आमाहरूको कथा किन नभन्ने सोच दिमागमा आयो । घरमा २ दिदीसँगै हुर्किएका सुजित त्यही हुर्काइ र सङ्घर्षलाई पर्दामा देखाउन चाहन्थे ।

यिनै सुजित आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘ऐना झ्यालको पुतली’लाई लिएर जति उत्साहित छन्, उनमा डर पनि उत्तिकै छ । किनकि उनकै भनाइमा फिल्मको कथा पनि डरले नै लेखिएको थियो ।

‘दिदी र आमाको कथा किन नभन्ने सोचाइ आयो । कथा कस्तो होला भनेर डराईडराई ट्रायल गरेर लेखियो । त्यसबेला झण्डै ७ पृष्ठ कथा लेखेँ’, हालैको भेटमा सुजित भन्दै थिए, ‘कथा आफूलाई त राम्रो लाग्यो तर साथीभाइले के भन्लान् भन्ने अर्को डर पनि थियो । त्यो कथा साथीभाइलाई शेयर गर्दा ‘सबैले तेरो दिदीभाई र आमाको मात्र कथा होइन, यो हाम्रो पनि कथा हो’ भनेर आत्मबल बढाए । स्क्रिप्ट लेख्दै गएपछि निर्मातासँगै फिल्ममा काम गर्ने चाहना राख्ने साथीहरू पनि जोडिए ।’

कथा लेखिहँदा सुजित किन डराए ? यो प्रश्नमा उनी केहीबेर गम्भीर बने । ‘यो कथामा लेखकको रूपमा मेरो कदर भएको छैन भने त्यो कथाले मलाई विश्वास गर्न सक्दैन । मलाई विश्वास नगर्ने कथाले अरूलाई कन्भिन्स गर्न सक्दैन’, उनी भन्छन्, ‘तर, म के कुरामा ढुक्क थिएँ, मैले समाजका परिवारलाई जति नजिकबाट नियाल्ने मौका पाएँ, त्यही बनावटलाई कथामा ढालेँ । त्यही बनावट एउटा भावनात्मक कथा बन्यो ।’

सुजितका लागि जसोतसो कथा लेखे पनि लोकेसन कहाँ हुन सक्छ भनेर खोज्ने काम अर्को चुनौती थियो । उनले सङ्खुवासभा रोजे, सुटिङ सकेसँगै पोस्ट प्रोडक्सन पनि सुरु गरे । ‘मेरालागि सबै कुरा नौलो थियो । कास्टिङ, लेखनदेखि सुटिङको टकसम्म नयाँ थिए’, उनी नोस्टाल्जिक बने, ‘काम गर्दै जाँदा समाज र त्यसको कथालाई फरक देखाउने क्रममा भावनात्मक यात्रा जोडियो ।

यो फिल्म एक परिवारको आमा र दिदीको भावनात्मक यात्रा नै हो, जुन यात्रामा दर्शकहरू पनि जोडिनुहुन्छ ।’सुजितका अनुसार फिल्ममा एक ९ वर्षको बालकले देखेको १३ वर्षकी दिदी र आमाले गरेको सङ्घर्षलाई चित्रण गरिएको छ । ‘म आफैँ पनि ९ वर्षको हुँदा मेरी आमा र दिदीले गरेको सङ्घर्षलाई देखेको छु । मेरा २ जना दिदी हुर्किंदै गर्दा मेरो धेरै समय उहाँहरूसँग बित्यो । त्यो कारण अहिले यो कथा लेखिसक्दा त्यो समयको सङ्घर्ष मभित्र आफैँमा रहेछ भन्ने अनुभव भयो । त्यही कुरालाई व्यक्त गर्दै दिदी र आमाको कथालाई फिल्ममा देखाएको छु ।’

सुजितको बुझाइमा उनको कथा र फिल्मका पात्रहरूको कथा अन्य वास्तविक परिवारमा मेल खाने नहोला तर कथामा देखाइएको ‘इभेन्ट’ र सङ्घर्ष धेरै नेपाली परिवारसँग मिल्ने उनको दाबी छ । ‘यो स्क्रिप्ट पढ्दा कतिपयले नभोगे पनि उनीहरूले भोगेको अनुभव गरे । यो एक परिवारको कथा भन्दा पनि समग्र समाजकै कथा हो’, बिडारी खुले ।

फिल्ममा अभिनेत्री सिरु बिष्टले आमाको भूमिकामा अभिनय गरेकी छन् । धेरै फिल्म र टेलिफिल्ममा अभिनय गरेकी सिरुका लागि यो फिल्म केही फरक रहेछ । ‘मैले धेरै फिल्म र टेलिफिल्ममा अभिनय गरेँ तर एउटा सत्य घटनामा आधारित फिल्ममा काम गर्ने मन थियो । स्क्रिप्ट पढ्नुअघि फिल्म गर्ने कुरामा विश्वस्त थिइनँ तर जब पढेँ, म काम गर्न सहमत भएँ’, उनी भन्छिन्, ‘स्क्रिप्ट पढेसँगै यो त मैले भोगेकै कथा त रहेछ भने अनुभूति भयो, त्यसैले मैले नाइँनास्ती गरिनँ । मैले अहिलेसम्म घाँस काटेकी, दूध दुहेकी, गुन्द्री बुनेकी, डोको-नाम्लोको काम गरेकी थिइनँ । यो फिल्मले यस्ता धेरै कुरा मलाई सिकायो ।’

फिल्ममा सिरुसहित कन्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय छ । सिरुबाहेक सबै कलाकार नयाँ हुन् । फिल्म दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बङ्गलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डलगायतका महोत्सवमा छनोट भइसकेको छ ।

आइसफल प्रोडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्ममा आकाश पौडेल, प्रवीन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्