‘सिण्डिकेट अपराध हो, अपराध गर्नेलाई कारबाही हुन्छ’



म्याग्दी : गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डिकेट गर्ने अपराधीलाई कारबाही गरिने बताएका छन् । 

म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालित सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उनले सिण्डिकेटको पूर्ण रुपमा अन्त्य गर्ने बताएका हुन् । 

गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डिकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा यसको अन्त्यका लागि सरकारले ध्यान दिइरहेको बताए । उनले सिण्डिकेट गर्नु गैरकानुनी भएको र आपराधिक गतिविधि भएको कारण अपराधीलाई राज्यले सजाय दिने आश्वासन दिए । 

यातायातका क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य र व्यवस्थापनका लागि यातायात मन्त्रालयले कार्यदल गठन गरेको बताउँदै गृहमन्त्री थापाले कार्यदलमार्फत काम अगाडि बढाइएको जानकारी दिए । 

उनले देशको सबै ठाउँमा सिण्डिकेट रहेकाले विकासले गति लिन नसकेको बताउँदै सबै ठाउँमा भएको सिण्डिकेटको अन्त्य गर्नुपर्नेमा जोड दिए । देशलाई गरिब बनाउन सिण्डिकेटले भूमिका खेलिरहेको उनको तर्क थियो । गृहमन्त्री थापाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्