एअार्इजी डा. थापालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआर्इजी) मा पदोन्नति भएकी डा. दुर्गा थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच डा. थापालाई दर्ज्यानी चिन्हद्वारा शुसोभन गरिएको हो । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीपरिषदको कात्तिक २५ गतेको निर्णयअनुसार उनी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएकी थिइन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएकी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए ।

नेपाल प्रहरी अस्पताललाई नेपालमै रहेका अस्पतालमध्ये राम्रो अस्पतालको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको नीतिलाई अक्षरस कार्यान्वयन गर्दै पारदर्शी रुपमा अस्पतालको कार्यसम्पादन हुने विश्वास समेत व्यक्त गरे ।

अस्पताललाई सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको उनले बताए ।

उक्त अवसरमा पदोन्नति भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा। दुर्गा थापाले अस्पताललाई आधुनिक, अनुशासित र कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन्।

नेपाल प्रहरी अस्पतालले स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सदैव क्रियाशील रहेको समेत उनले बताइन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्