डेंगुका बिरामी बढ्दै, ६ हजारभन्दा बढी बिरामी



काठमाडौं । डेंगुका बिरामी तिव्र रुपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर डेंगुका बिरामी बढेको हो ।

महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा डेंगुका सबैभन्दा बढी बिरामी भेटिएका छन् । काठमाडौं उपत्यकामा ३ दिनमा एक हजार २ सय ४ जना डेंगुका बिरामी फेला परेको महाशाखाको तथ्याङले जनाएको छ ।

महाशाखाकाअनुसार उपचारका लागि अस्पतालमा आइपुगेका बिरामीहरुको रिपोर्टेड संख्याअनुसार पछिल्लो ३ दिनमा सबैभन्दा धेरै ललितपुरमा ६४७, काठमाडौंमा ५२२ र भकत्तपुरमा ३५ जना नयाँ बिरामी थपिएका छन्। ३ दिनमा थपिएका डेंगुका बिरामीसहित काठमाडौंका ३ वटै जिल्लामा डेंगुका बिरामी ४ हजार २३ जना पुगेका छन्।

उपत्यकाका ३ जिल्लामध्ये सबैभन्दा धेरै ललितपुरमा २ हजार ४ सय ७९, काठमाडौंमा एक हजार ४ सय १० र भक्तपुरमा एक सय ३४ डेंगुका बिरामी छन्।

महाशाखाकाअनुसार जेठयता देशभर डेंगुका बिरामी देखिने क्रम बढेको हो। जेठयता देशभर ६ हजार ६ सय ३५ डेंगुका बिरामी भेटिएका छन्। डेंगुका बिरामी सबैभन्दा धेरै बाग्मती प्रदेशमा छन्। बाग्मती प्रदेशमा ५ हजार ६६ जनामा डेंगु फेला परिसकेको छ। त्यसपछि लुम्बिनी प्रदेशमा ९३३, प्रदेश १ मा २५६, सुदूरपश्चिम प्रदेशमा १६१, गण्डकी प्रदेशमा १२८, मधेश प्रदेशमा ११९ र कर्णाली प्रदेशमा ४४ जना डेंगुका बिरामी भेटिएका छन्।

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्छ। यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्छ। यो लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि सक्रिय हुने गर्छ।

डेंगुको लक्षण

१.एक्कासी उच्च ज्वरो आउने
२.ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने
३.अत्यधिक टाउको दुख्ने
४.आँखाको गेडी दुख्ने
५.हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने
६.शरीरमा बिमिरा आउने
७.रिंगटा लाग्ने
८.वाकवाकी लाग्ने, बान्ता हुने।

डेंगुका गम्भीर लक्षण

१.लगातार बान्ता हुने
२.बान्तामा रगत देखा पर्ने
३.धेरै पेट दुख्ने
४.श्वासप्रश्वासमा समस्या आउने
५.नाक वा गिजाबाट रगत बग्ने
६.रक्तश्राव हुने
७.बेहोस हुने।

बच्ने उपाय

१.पूरा शरीर ढाकिने गरी कपडा लगाउने
२.लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने
३.सुत्दा झुलको प्रयोग गर्ने
४.झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने
५.लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने।

प्रतिक्रिया दिनुहोस्