मधेसका ‘ठूला नेता’को अग्निपरीक्षा !



जनकपुरधाम । आगामी ४ मङ्सिरका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएपछि दलहरू तीव्र गतिमा तयारी गरिरहेका छन्। अहिले दलहरूका लागि उम्मेदवार छनोट टाउको दुखाइको विषय बनेको छ।

पछिल्लो निर्वाचनभन्दा आउने निर्वाचनको समीकरण फरक देखिएकाले कुनै दललाई तयारी पनि पछिल्लो पटकको तयारीभन्दा पृथक किसिमले गर्नुपरिरहेको छ। २०७४ को सङ्घीय निर्वाचनमा मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांश निर्वाचन क्षेत्रमा तत्कालीन सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले जित निकालेका थिए। यी २ दल ३२ मध्ये १९ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सदस्य निर्वाचित गराउन सफल भएका थिए।

सङ्घीय समाजवादी पार्टी र राजपाको गठबन्धनले मधेसमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई कमजोर तुल्याएको थियो। नेपाली कांग्रेस ६ स्थानमा खुम्चिएको थियो भने एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दासमेत एमालेले २ र माओवादी केन्द्रले ५ स्थानमा मात्रै जित निकाल्न सकेका थिए।
तर अब समीकरण फेरिएको छ।

पछिल्लो स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेस मजबुत भएर आएको छ भने मधेसवादी दलहरू जसपा र लोसपा तथा माओवादी केन्द्रको शक्ति क्षीण भएको देखिन्छ । एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीसमेत यस पटकको निर्वाचनमा सहभागी हुनुले हरेक दललाई केही प्रभाव पार्ने निश्चित देखिन्छ।

लोसपाका नेताहरू जोखिममा
२०७४ मा लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनको क्षेत्रमा अहिले जनता समाजवादी पार्टी (जसपा) बलियो देखिएको छ। उक्त क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूमा जसपाले १४ हजार ३५७ मत ल्याएको छ। लोसपाले १२ हजार ७३५ मत ल्याएको छ।

५ दलीय सत्ता गठबन्धनमा जसपा रहेकाले लोसपा यो क्षेत्रमा अझै कमजोर बन्न सक्छ। नेपाली कांग्रेसले ९ हजार ४३ मत ल्याएको छ। एमालेको १० हजार ८२० मत छ। नेकपा (माओवादी केन्द्र)को ५ हजार १९५ मत छ। यो क्षेत्रमा ठाकुरले निर्वाचन जित्नका लागि सत्ता गठबन्धनकै सहारा लिनुपर्छ।

सत्ता गठबन्धनमा आउन लोसपाले प्रयास गरे पनि जसपा अध्यक्ष उपेन्द्र यादव सहमत नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय लिन सकेका छैनन्। स्रोतका अनुसार यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि साथ दिएका छन्। लोसपाले एमाले, जनमत पार्टी र राप्रपासँग तालमेल ग¥यो भने पनि ठाकुरका लागि जित निकाल्न कठिन छ।

यता लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनावका लागि झन् धेरै जोखिममा छन्। २०७४ को निर्वाचनमा महतोले धनुषा ३ बाट ३० हजार ७५० मत ल्याएका थिए। उनले कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई हराएका थिए । निधिले २७ हजार ८४८ मत ल्याएका थिए।

स्थानीय तहको निर्वाचनमा लोसपाले यो क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूबाट ८ हजार ७६३ मत मात्रै पाएको छ। जबकि नेपाली कांग्रेसले २२ हजार ४२८ मत पाएको छ। एमालेले १७ हजार ९६, जसपाले ८ हजार २३८, एकीकृत समाजवादीले ३ हजार ७२५ मत ल्याएका छन् । यस हिसाबले महतो पनि जोखिममै देखिन्छन्।

लोसपाका अर्का नेता अनिल झालाई पनि रौतहट क्षेत्र नम्बर १ मा जित्न निकै कठिन हुने देखिएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव उठ्ने तयारी गरेका छन् । स्थानीय चुनावको मतअनुसार यो क्षेत्रमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको छ।

वडा तहमा उसले १९ हजार ६९८ मत ल्याएको छ। नेपाली कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २४१, माओवादी केन्द्रले ८ हजार ११९, एमालेले ७ हजार ३८५ मत ल्याएका छन्। सत्ता गठबन्धनले यो क्षेत्रमा माधव नेपाललाई उम्मेदवार बनाउने निश्चित जस्तै छ । स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने पनि माधव नेपालका लागि यो क्षेत्र सुरक्षित छ।

मातृका र रघुवीरका लागि पनि विपरीत स्थिति

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवलाई धनुषा क्षेत्र नम्बर १ मा गठबन्धनबिना चुनाव जित्न कठिन छ। २०७४ सालमा यादवले यो क्षेत्रबाट एमालेको समर्थनमा फराकिलो अन्तरले चुनाव जितेका थिए । गत स्थानीय चुनावमा यो क्षेत्रमा माओवादी केन्द्र तेस्रो बनेको छ।

स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेसले १३ हजार ५४४ र एमालेले १२ हजार २१३ मत पाएका छन् । माओवादी केन्द्रले ८ हजार ४९३ मत मात्रै पाएको छ । यो परिणामलाई आधार मान्ने हो भने मातृकालाई बिनागठबन्धन जित निकाल्न एकदमै गाह्रो छ।

एमालेका सचिव रघुवीर महासेठलाई पनि निर्वाचन जित्न सजिलो छैन। उनले गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट धनुषा ४ बाट निर्वाचन जितेका थिए। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस अगाडि छ।

उसले २५ हजार १९५ मत ल्याएको छ । एमालेले २३ हजार ६३०, जसपाले ८ हजार ३७८, एकीकृत समाजवादीले ८ हजार १६४ र माओवादी केन्द्रले ४ हजार ४३४ मत ल्याएको छ ।

राउतले जित निकाल्नेमा शङ्का

जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी– २ बाट निर्वाचन लड्ने घोषणा गरेका छन्। उनका लागि यो क्षेत्र सजिलो हुने देखिँदैन। यो क्षेत्रबाट २०७४ को निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । उनी यो क्षेत्रका स्वाभाविक दाबेदार हुन्।

स्थानीय तहको मत परिणामअनुसार पनि जसपा यो क्षेत्रमा पहिलो दल हो। सप्तरी क्षेत्र नम्बर २ मा जसपाले सबैभन्दा धेरै मत पाएको छ। उसले १४ हजार ४०३ मत ल्याएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १० हजार ८०७ मत पाएको छ।

तेस्रोमा रहेको लोसपाले १० हजार ४३५ मत ल्याउँदा माओवादी केन्द्रको ९ हजार ५३४ मत छ । एमालेले यो क्षेत्रमा ५ हजार ९५१ मत मात्रै पाएको छ । यही क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका राउतको पार्टीले स्थानीय निर्वाचनमा वडा तहमा ४ हजार ५४२ मत मात्रै पाएको छ।

यो क्षेत्रमा एकीकृत समाजावादीको २ हजार ४०८ मत छ । यद्यपि राउतले जित निकाल्नेमा अहिले शङ्का देखिए पनि उनको उम्मेदवारी अन्य दलका लागि टाउको दुखाइको विषय बन्ने निश्चित छ । कतिपयले उनी यस क्षेत्रबाट अप्रत्याशित जित निकाल्न सक्ने सम्भावनालाई समेत नकार्दैनन् ।

प्रतिक्रिया दिनुहोस्