पुस्तक अंश : ‘फरैना’का दुःख



  • सन्तोष श्रेष्ठ

काठमाडौं । बस्तीमा घाम लागेर मात्र उज्यालो हुँदैन । बस्ती उज्यालिनका लागि शिक्षाको किरण फैलिनुपर्छ । ज्ञान, विवेक र चेतनाको भर्‍याङ उक्लेर सफलताको शिखर उक्लन शिक्षाकै आवश्यकता पर्ने गर्छ। भन्ने गरिन्छ नि– ज्ञानी, विवेकी र चेतनशील व्यक्तिले माटोमा पनि सुनका कणहरू देख्छन्। बगरमा पनि सुनका बालाहरू झुलिरहेका देख्छन् ।

झिङ्नी गाउँमा प्रौढ शिक्षाको रूपमा रात्रिकालीन अनौपचारिक शिक्षाको सुरुआत हुने भयो । यो कुरा सुनेर रूपलालका ठरवा मेहरूवा (श्रीमान्–श्रीमती) औधी खुसी भए किनकि उनीहरूका शिक्षारूपी आँखा त्यसबेलासम्म खुलिसकेका थिएनन् । जुगन्या दिनभरिको आफ्नो काम सकेर थकाइ मार्दै रात्रिकालीन अध्ययनमा संलग्न हुन थालिन् । जुगन्याको अध्ययनमा उनका श्रीमान्ले पनि सघाए । जुगन्या केही दिनपछि विस्तारै अक्षर चिन्न सक्ने भइन् ।

आफ्नो नाम आफैँले ‘जुगन्या’ भनेर हस्ताक्षार गर्न र केही अक्षर चिन्नसम्म सक्षम भएकामा उनलाई अपार हर्षको अनुभूति भयो । यसरी सामान्य अक्षर चिन्न आँखा खुलेको र सही गर्न सुरुआत गरेपछि जुगन्या आन्तरिक रूपमा छुट्टै उत्साहित हुन थालिन् । अक्षरसँगको अनुरागले उनको हृदयको बारी रसिलो र हराभरा भयो । एक दिन राति सुत्नु अगाडि जुगन्या र फरैना अक्षरहरूको लिपिबद्ध सम्वादमा संलग्न भए ।

टुकीको धमिलो प्रकाशमा आमा–छोरी अक्षरहरू मुसार्दै थिए । मानौँ, यो झुपडी भविष्यका आधुनिक ऋषि–मुनि–तपस्वीहरूको तपोभूमि हो र उनीहरू सामाजिक रूपान्तरणका लागि नयाँ वेदको सिर्जनामा जुटेका छन् । फरैनाले आमालाई भनिन्, ‘गुल्यार अच्छरले अपन नाउँ लिखो टे ।’
(बाटुलो अक्षरले आफ्नो नाम लेख्नू त !)
छोरीको अभिव्यक्तिअनुरूप जुगन्याले आफ्नो नाम लेखिन् र छोरीलाई देखाइन् । दुवैको मनमा प्रसन्नता छायो । ओठका डिलडिलसम्म मुस्कान चुहिन आइपुग्यो ।
‘आब मोर नाउँ फेन लिखो ।’
(अब मेरो नाम पनि लेख्नू !), फरैनाले भनिन् ।
जुगन्याले छोरी फरैनाको नाम लेखिन् । पति रूपलालको नाम र छोरो कालुको नाम पनि लेखिन् । हर्षविभोर भएका रूपलाल केही बोलेनन् । यसरी फरैना स्कुलमा पढ्न थालेको र फरैनाकी आमा जुगन्याले रात्रिकालीन अनौपचारिक शिक्षाको सुरुआत गरेको जमिनदारलाई पटक्कै मन परेको थिएन । कहिलेकाहीँ गाउँमा भलाद्मीहरू बसेर गफ छाँट्दै गरेका बेला ‘अब त हाम्रो गाउँमा पनि पोथी बास्न थाले है !’ भनेर कटाक्षपूर्ण शब्दबाणले हिर्काउन थाले ।

हुनत जमिनदारहरूले आफ्नी छोरी, चेलीहरूलाई पनि नपढाएका र स्कुलमा नपठाएका त कहाँ हुन् र ! तर यो त खालि ती गरिब थारू परिवारलाई हेपेको कुरा मात्र हो।गरिब कमैयाहरूले उनीहरूका तिखा बाणरूपी यस्ता कुरा सुने–नसुनेझैँ गर्नुपथ्र्यो । यसरी आफूमाथि प्रहार भएका शब्दहरूले मुटुमा बिझाए पनि प्रतिकार गर्न सक्ने साहस हुँदैनथ्यो किनकि उनीहरूको प्रतिकार गर्नुभन्दा सहेरै बस्नु नै उत्तम हुन्थ्यो। जीवन सङ्घर्षको क्रममा कुनै दिन यी सबै पक्षमा हाम्रो जित हुनेछ भन्ने कुरामा रूपलालका दम्पती ढुक्क हुँदै थिए ।

जुगन्या त्यस गाउँका अन्य महिला दिदीबहिनीहरूसँग पढ्थिन् । उनी भने अरूको अगाडि अलिक चलाख र नेतृत्व गर्न सक्ने खालकी थिइन् । त्यसैमा पनि अब त अक्षर चिनिसकेकी र सबैका सामु निर्धक्कसँग बोल्न सक्ने भइन् । यही भएर पनि गाउँले दिदीबहिनीहरूले केही काम गर्दा पनि यिनैलाई सोधेर गर्थे । त्यसो त रूपलालले पनि आफ्नी बूढीलाई धेरै कुराहरू सिकाइरहन्थे ।

अतः सबैले जुगन्यालाई नै नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि अनुरोध गर्थे, जसअनुसार जुगन्याले पारिवारिक र सामाजिक कठिनाइका बाबजुद कमैया, कमलरी मुक्तिका लागि आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने सोच बनाइन् । आफू र आफ्नो समुदायको उत्थानका लागि अगाडि सर्ने दृढ सङ्कल्पसमेत उनले गर्न थालिन्।जुगन्याको नेतृत्वदायी भूमिकालाई उनको समुदायको पूर्ण सहयोग रहन थाल्यो । उनीहरू जस्तै थुप्रै परिवारका सदस्यहरू मुक्तिको आन्दोलनमा सहभागी हुँदै जान थाले। यद्यपि, त्यो समाजमा यस्तो आन्दोलन अत्यन्तै कठिन एवं चुनौतीपूर्ण थियो ।

वास्तवमा उनीहरू जसको आश्रयमा बाँचिरहेका थिए, आज तिनकै विरुद्धको आन्दोलनमा अगाडि बढ्नु आगोमा हिँड्नु जस्तै थियो । खुकुरीको धारमा पाइला टेक्नु जस्तै थियो, बाघको मुखभित्र हात घुसारिदिनु जस्तै थियो, राम्ररी पौडिन नजानेको एउटा बटुवाले उर्लिरहेको नदीमा हाम फालेर सकी नसकी पौडिँदै पल्लो किनारमा पुग्नु जति कठिन थियो, यो आन्दोलन र आन्दोलनपछि प्राप्त हुने सफलता यिनीहरूका लागि त्यस्तै जोखिमपूर्ण थियो ।

आन्दोलनको नदी तरेर पारि पुग्न सके हार्दिक, शालीन, सौम्य र मधुर सफलताको बाँसुरी बजाऔँला भन्ने उत्साहचाहिँ यिनीहरूमा मरेको थिएन। सफल हुनेहरूले नै सफलताको इतिहास लेख्ने हो तर नदी तर्न नसकेर जीवनको अन्त्य हुने पनि त धेरै हुन्छन् । यो आन्दोलन पनि त्यस्तै हो । यदि नदी पार गर्न नसके हेर्ने रमितेहरूले केवल ‘कठै जिन्दगी ! नदीमा बग्यो बिचरो !’ भनेझैँ मात्र हो ।

हुनत इतिहास जित्नेहरूको मात्र होइन, हार्नेहरूको पनि हो तर अत्यन्तै कठिनाइका बाबजुद जीवन जिए पनि समाजमा बर्चस्व कायम गर्नेहरूकै हालिमुहाली हुन्छ।जुगन्याको नेतृत्वमा आन्दोलन अगाडि बढ्ने भन्ने कुरा चारैतिर चल्यो । यो कुरा थाहा पाएपछि जमिनदारहरूबाट एउटा भयानक षड्यन्त्र सुरु भयो । एक दिन रातको समयमा रूपलाल र जुगन्याको झुपडीमा उनीहरू सुतेको र निदाएको अवस्थामा षड्यन्त्रकारीहरूले आगो लगाइदिए । बाहिर निस्किएपछि उनीहरूलाई मार्ने योजनासमेत बनाइएको थियो ।

जुन षड्यन्त्रअनुसार उनीहरूले त्यो झुपडीमा आगो सल्काए । त्यसपछि घरबाट धुवाँको ठूलो मुस्लो निस्क्यो । झुपडीभित्र आगो दन्किएर चारैतिर फैलियो । गाउँलेहरू सबैले आगो लागेको थाहा पाए र त्यतैतिर दौडिए । तर आगो के, कसरी, कसले लगायो ? कसैले अनुमान गर्न सकेनन् । यसरी आफू बसेको झुपडीमा आगो लागिसकेपछि धुवाँमा निस्सासिँदै रूपलाल र जुगन्या बिउँझिए । उनीहरू बेस्सरी अत्तालिए । सर्वप्रथम उनीहरूको ध्यान आफ्ना छोराछोरीतिर खिचियो । उनीहरूलाई उठाएर भाग्ने तरखर गर्न लागे । जुगन्याको मुखबाट अचानक निस्कियो, ‘गुहार, गुहार ! हमरिहिन बचाऊ ।’
(गुहार, गुहार ! हामीलाई बचाओ ।)
त्यतिबेलासम्म घर आधा जलिसकेको थियो । सामान्य बाँसले बारेर बनाएको झुप्रो घरमा खरको छानो भएकोले छिटोछिटो आगो दन्किरहेको थियो । बाकसमा राखिएका रूपलालका परिवारका महत्वपूर्ण कागजात र लत्ताकपडासँगै फरैनाले पाएका विभिन्न प्रमाणपत्रहरूसमेत जलेर सबै नष्ट भए ।

पहिले छोराछोरीलाई निकाल्न खोज्दाखोज्दै आगोको ज्वालाले पोल्न थाल्यो उनीहरूलाई । छोरी आफैँ पनि भाग्न सक्ने भएकाले बाहिर निस्केपछि उसको ज्यान त बच्यो तर काखको छोरासहित केही महŒवपूर्ण सामान जोगाएर भाग्न खोज्दाखोज्दै जुगन्याको शरीरका कपडाहरू आगोमा सल्कन थाले । रूपलालले आगो निभाउन खोजे पनि उनको र बच्चाको शरीरको केही भागलाई आगोले जलायो । सकी नसकी रूपलाल र जुगन्या घरबाहिर निस्किए । निस्कन त निस्किए तर त्यो काखे बालक कालु भने आगोमा पोलिएका कारण बेहोस भइसकेको थियो ।

बाहिर षड्यन्त्रकारीहरू उनीहरूलाई कुटपिट गर्न तयार भएको सुइँको पाएपछि जसोतसो त्यो ठाउँबाट रूपलाल, जुगन्या र छोरी फरैना आगोले पोलिएर घाइते भएको काखे बच्चासहित भाग्न सफल भए । झुपडीभित्र आगोको रापले पोलिएको अनि धुवाँले निस्सासिएको त्यो बालकको मुखतिर हेर्ने फुर्सदसम्म थिएन उनीहरूलाई । स्वाँस्वाँ फ्वाँफ्वाँ गरेर लामो लामो सास फेर्दै पछिल्तिर फर्केर हेर्दै उनीहरू दौडिए । मानौँ, कुनै म्याराथुन दौडको ठूलै प्रतियोगिता भइरहेछ ।

यसरी बेतोड एवं बेहोसको दौडले अलिक परसम्म भाग्दा निकै थकित भएपछि एकान्त ठाउँमा पुगेर उनीहरू सुस्ताए । साह्रै अफसोचको कुरा, घरबाट निस्केर भागदौड गर्दागर्दै त्यतिबेलासम्म छोराको मृत्यु भइसकेको रहेछ। उनीहरूले बडो जोडजोडले रुँदै निकै बिलौना गरे । फरैना पनि निष्प्राण भइसकेको आफ्नो एक मात्र प्यारो भाइको अनुहारतिर हेर्दै निकै रोइन् । आफ्नो भविष्यको आशास्तम्भ यसरी आफ्नै अगाडि निष्प्राण सुतिरहेको देखेपछि रूपलालले आफूलाई थाम्न सकेनन् ।

हजार बिच्छीहरूले एकै पटक मुटुमा डसेजस्तो भयो। आकाश खसेर छातीमा अँचेटेझैँ लाग्यो । टाउकोमा कसैले पछाडिबाट निर्ममतापूर्वक गह्रुँगो घनले हानेझैँ भयो । उनका हातखुट्टा थरथर काँप्न थाले । आँखाबाट समुद्र बग्यो । रूपलाल बरबराउन थाले, ‘हे भग्वान्, महि यि कैसिन सजाइ डेलो ! मोर परानप्यारा लर्काहे पौंह्राइ नैपैटि का करे चोंठके लैगैलो ? यि लर्कक् का डोस रहिस् भगन्वा ? मै बिना फुलक डँहियाहस् जिन्गि कैसिक जिना ? यकर सटहा बेन मोर यि मक्राइल जिउ लैजैटो टे हु जाइट ।’ (हे ईश्वर, मलाई यो कस्तो सजाय दिएको ? मेरो प्राणप्रिय बालकलाई फुल्नै नपाई कोपिलाबाटै किन यसरी चुँडेर लग्यौ ? यो बच्चाको के दोष थियो भगवान् ? मैले फूलबिनाको उजाड डाली जस्तो जिन्दगी कसरी बाँच्नू ? यसको सट्टा बरु मेरो यो बूढो शरीर लगेको भए हुन्थ्यो नि !)

रूपलाल दम्पत्तीको विरहको जबाफ दिने त्यहाँ कोही थिएन । निस्तब्ध रातको चकमन्न राज बढिरहेको थियो । डालीमा बास बसेका चराहरू उँघिरहेका थिए । आकाशमा टिलपिलाएका ताराहरू मौन देखिन्थे । थुँगे बादलहरू मौन देखिन्थे । जताततै शून्यताले टोकिरहेको थियो । रूपलाल दम्पत्ती मृत छोराको छातीमाथि घोप्टो परे । रातको अन्धकारलाई चिरेर बिहान भयो । उनीहरू पल्लो गाउँमा पुगेका थिए । आफ्नो भन्नु यिनीहरूको सँगै आएका ३ प्राणी मात्र थिए, रूपलाल, जुगन्या र फरैना ।

उनीहरूले गाउँका दयालु मानिसहरूको सहयोगमा मृतक छोराको सद्गत गरे । छिमेकी गाउँलेहरूले मलामी जान, लास गाड्न सहयोग गरे । छोराको मृत्युले रूपलाल र जुगन्यालाई मानसिक रूपमा अत्यन्तै विक्षिप्त तुल्यायो । केही दिन त्यही गाउँमा बसेपछि ती पीडितहरूका मालिक जमिनदार खोज्दै आए र उनीहरूलाई भेटे। रूपलाललाई तिनको अनुहार हेर्न मनै थिएन, यद्यपि, नजिकै आएर जमिनदार बोल्न थाले, ‘कस्तो छ तिमीहरूलाई ?’ रूपलालको आँखाबाट बरर्र आँसु खस्यो । उनी बोल्न नसक्ने स्थितिमा पुगे । नाकबाट पातलो पानी चुहिन खोज्यो । रूपलालले सुँक्क गरे ।

‘त्यो घटनाले म साह्रै दुःखी भएको छु तर के गर्नु, जस्तो भए पनि सहनै पर्ने रहेछ ।’ यस पटक पनि रूपलाल बोल्न सकेनन् । जमिनदारले भने, ‘हिँड, अब घर जाऔँ ।’
घर शब्द सुनेपछि रूपलालको भक्कानो छुट्यो । घर नामको त्यो झुपडीलाई आगोको लप्काले निलिसकेको थियो । उनलाई भाउन्न भयो । उनले भने, ‘जाइकटन कहाँ बा झे घर ?’
(जानलाई कहाँ छ र घर ?)

‘हत्तेरी, त्यो झुप्रो जल्यो त जल्यो । बितेको कुरा सम्झेर कति दुःखी भएको ? मेरो घर छैन ? त्यस्ता नाथे झुपडी त अर्को बनाऔँला नि !’, जमिनदारले भने । यसरी जमिनदारले फकाइफुल्याइ गरे । अपराधीहरूलाई चाँडै कारबाही हुने कुराबारे आश्वासनसमेत दिए । षड्यन्त्र आफूहरूलाई समेत थाहा नभएको कुरा जाल गर्नेहरूबारे रच्दै बताए । ती मालिकहरूकै षड्यन्त्र भएको आशङ्का भए पनि ठ्याक्कै आरोप लगाउन सक्ने तथ्य आधार थिएन । जे भयो, भइगयो अब गाउँमा यस्तो कहिल्यै हुन दिने छैनौँ भन्ने आश्वासन जमिनदारहरूले दिएपछि रूपलालका श्रीमान्–श्रीमती र छोरी निकै मलीन अनुहार बनाएर पुनः उही षड्यन्त्रकारी गाउँतिर लागे । (गायक तथा संगीतकार सन्तोष श्रेष्ठको पहिलो उपन्यास ‘फरैना’को अंश । ‘फरैना’ आज  शुक्रबार १ बजे नेपाल पर्यटन बोर्डमा लोकार्पण  गरिँदै छ।)

प्रतिक्रिया दिनुहोस्