दलहरूको आन्तरिक भिडन्त, हेभीवेट नेताहरू घेराबन्दीमा



  • विशाल बस्नेत

महोत्तरी । महोत्तरी जिल्लामा दलहरूले उम्मेदवार सिफारिस गर्ने क्रममा कतिपय क्षेत्रमा एकल नाम सर्वसम्मतिले सिफारिस गरेका छन् । मधेसका मुख्य दलहरू लोसपा, जसपा, एमाले, कांग्रेस, माओवादीले जिल्लाबाट प्रदेशसभा र प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेका हुन्।

एकल नाम सिफारिस हुने भाग्यमानी उम्मेदवारहरूमा नेपाली कांग्रेसबाट महेन्द्रराय यादव, रामचन्द्र तिवारी, नेकपा एमालेबाट रामदयाल मण्डल, सरोज यादव र राम परीक्षण यादव छन् । त्यसै गरी लोसपाबाट लक्ष्मी महतो, शिवचन्द्र साह, हरिनारायण यादव, सुरेन्द्रकुमार यादवको प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस भएको छ।लोसपा भने धमाधम उम्मेदवार टुङ्ग्याउने कसरतमा लागेको छ।

अहिलेसम्म सिफारिसका लागि टुङ्ग्याइएका नामहरूमध्ये क्षेत्र नम्बर ४ बाट शरदसिंह भण्डारीको नाम सर्वसम्मत सिफारिस भएको लोसपाका जिल्ला अध्यक्ष रामबाबु साहले जानकारी दिए। शरदसिंह भण्डारीको नाम क्षेत्र नम्बर १ र २ बाट पनि आएको अध्यक्ष साहको भनाइ छ। तर माओवादी केन्द्रले कुनै पनि क्षेत्रबाट एकल नाम सिफारिस गर्न सकेन।

क्षेत्र नम्बर १ बाट अघिल्लो निर्वाचनमा गिरिराजमणि पोखरेलको एकल नाम सिफारिस हुँदै आएकामा अहिले उक्त क्षेत्रबाट मात्र ४ जनाको नाम सिफारिस भएको छ। गिरिराजमणि पोखरेलसहित राजु खड्का, भरत साह र प्रकाशहरि पोखरेलको नाम सिफारिस भएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

नेकपा एमाले क्षेत्र नम्बर १ मा रोचक

नेकपा एमालेका तार्फबाट क्षेत्र नम्बर १ मा सिफारिसमा परेका उम्मेदवारहरूको नाम रोचक बनेको छ । प्रदेश ‘क’ र ‘ख’मा सिफारिसमा परेका प्रदेशसभा उम्मेदवार र प्रतिनिधिसभाको उम्मेदवारको नामावलीलाई लिएर निकै टिप्पणी सुरु भएका छन् ।

प्रतिनिधिसभा उम्मेदवारहरूमा कुमार भण्डारी, देवेन्द्र गौतम र शङ्कर महतोको नाम सिफारिस भएको छ । जिल्लाबाट अनुमोदन भएका नाम जस्ताको तस्तै प्रदेशबाट केन्द्र पठाएसँगै उम्मेदवारहरू जोडतोडले टिकट आफ्नो पोल्टामा पार्न लागिपरेका छन् ।

अझ रोचक त कहाँनिर छ भने भर्खरै माओवादी परित्याग गरेर एमालेमा भित्रिएका नेता शङ्कर महतोको नामसमेत सिफारिस भएको छ । सङ्घको टिकट पाउने आश्वासनपछि एमाले भित्रिएका नेता महतो कतै माछो–माछो, भ्यागुतो त बन्ने होइनन् भन्ने नेकपा एमाले र एमालेइतरमा चर्चा सुरु भएको छ ।

नेकपा एमालेमा नै बसेर राम्रो छाप छाड्न सफल सिफारिसमा परेका अन्य नेताद्वय कुमार भण्डारी र देवेन्द्र गौतमले अमुक पार्टीका नेतालाई भिœयाएर टिकटका लागि सजिलै आत्मसमर्पण गर्लान् त भन्नेसमेत बाक्लै अडकलबाजी छन् । ‘शङ्करलाई टिकट दिनुपर्छ भने किन दिनुपर्छ भन्ने विषयमा पार्टीले स्पष्ट बनाउनुपर्छ’, एक नेताले भने ।

सजिलो छैन गिरिराजमणि पोखरेललाई यसपालि

माओवादी केन्द्रले गिरिराजमणि पोखरेललाई टिकट दिए पनि पहिले जस्तो सहज नभएको आम मानिसको बुझाइ छ । त्यसो त अर्का नेता भरत साह यसपालि जसरी पनि टिकट आफ्नो पोल्टामा पारिछाड्ने कसरतमा छन् ।

लगातार १५ वर्ष यसै क्षेत्रबाट विजयी बन्दै आएका नेता पोखरेललाई यसपालि टिकट दिन हुँदैन भन्दै माओवादीभित्रकै एउटा समूह कम्मर कसेर नै लागिपरेको छ। यसरी हेर्दा नेता पोखरेलको टिकटसमेत सुनिश्चित देखिएको छैन। स्थानीय तहको निर्वाचनदेखि पोखरेलनिकट नेताहरूले गुट सिर्जना गरी अन्तर्घातसमेत गरेको आरोप खेपिरहेका नेता पोखरेलसमेत ताक परे तिवारी नत्र गोतामे भन्ने स्थितिमा छन् ।

पोखरेल निकट नेताका अनुसार महोत्तरीमा यदि जित्ने अवस्था नदेखिए पोखरेल चुनाव नलड्ने मनस्थितिमा छन् । जनमोर्चा धारका नेता पोखरेल पार्टीको ह्विपविपरीत एमसीसीको विपक्षमा उभिएका थिए । पार्टीको फ्लोर क्रस गरेका नेता पोखरेलको तिक्तता पार्टी पङ्क्तिमा नरहे तापनि निर्वाचन क्षेत्रमा भने पार्टीभित्र तीव्र असन्तुष्टि छ।

स्थानीय तहको निर्वाचनमा वर्दिबास नगरपालिकामा पराजित भएका अर्का शक्तिशाली नेता राजु खड्काले पार्टीभित्र उत्पन्न विवाद र तिक्ततालाई कसरी मिलाएर लैजालान् प्रश्नको घेरामा छन् । पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका खड्का आफैँ पनि प्रतिनिधिसभाको उम्मेदवारका लागी सिफारिसमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्