भुजुङमा गाउँको नीति नियम बनाउन भदौसभा



लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा भदौसभा सम्पन्न भएको छ। क्व्होलासोंथर गाउँपालिका वडा नम्बर-४ भुजुङ गाउँमा हरेक वर्ष भदौसभा हुने गरेको छ । भदौको अन्तिम साता भदौसभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताएका छन्।

भदौसभामा जनप्रतिनिधिलाई पनि सहभागी गराइएको छ। यो सभा समापन गर्न पहिले १ सातासम्म लाग्थ्यो। अहिले ३ दिनसम्म भदौमा सभा सञ्चालन हुने गरेको छ। लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङका अनुसार भदौसभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने गरिएको छ।

समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ। सभाले गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला मूल्य निर्धारण गर्ने गर्छ।

भदौसभा १ देखि ४ दिनसम्म सञ्चालन हुँदै आएको छ। गाउँका १ देखि ९ वटा टोलका घरमूली सभामा आउँछन्। गतवर्ष पारित गरेको नियम पालना गरे नगरेको कसम खाने गरिन्छ। नियम विपरीत गरेकालाई जरिवाना हुन्छ।

रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौसभा गर्ने गरिएको बताए।

भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र हरेक वर्ष परिमार्जन गर्दै लाने गरेका छन्। उनकाअनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौसभा भन्ने गरिएको हो।

प्रतिक्रिया दिनुहोस्