सन्दीप कालोसूचीमा !



काठमाडौं । अध्यागमन विभागले नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ। लामिछानेमाथि एक १७ वर्षीया नाबालिग बलात्कारको आरोप लागेको छ।

बलात्कार आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालोसूचीमा राखेको विभागले जनाएको छ  हाल लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्टइन्डिजमा छन्। बलात्कारको अभियोग लागिसकेपछि नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले उनलाई क्याप्टेन पदबाट निलम्बन गरिसकेको छ।

लामिछानेले गत शुक्रबार एक ट्वीट गर्दै आफू नेपाल फर्किएर आरोपको सामना गर्ने बताएका छन् । लामिछानेले ट्वीटमार्फत आफू निर्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्किने बताए पनि कहिले फर्कने भन्ने खुलाएका छैनन् । त्यसैले जुनसुकै बेला पनि आउन सक्ने भएर विभागले लामिछानेलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा राखेपछि लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीले जानकारी दिए। २३ भदौमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पक्राउ गर्न अनुमति दिइसकेको छ।

बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै फरार सूचीमा परेका लामिछानेविरुद्ध प्रहरी प्रधान कार्यालयले सबै जिल्लामा पक्राउ आदेशसमेत पठाएको छ। अदालतबाट लामिछानेको नाममा पक्राउ आदेश जारी भएपछि प्रधान कार्यालयले सबै जिल्ला प्रहरी कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सन्दीपको सबै विवरणसहित उनी फेलापरेमा नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा पठाउन भनिएको छ।

पक्राउ आदेशमा ‘स्याङ्जा आरुचौर गाउँपालिका स्थायी वतन भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका बस्ने अन्दाजी ५ फुट ७ इन्च उचाइ, गहुँगोरो पातलो वर्णको सन्दीप लामिछानेविरुद्ध जब्र्जस्ती करणीको जाहेरी दर्ता भएर अदालतबाट पक्राउ आदेश जारी भएकाले जहाँ भेट्यो, नियन्त्रणमा लिएर पठाउन’ भनिएको छ।

अदालतबाट बलात्कार आरोपमा पक्राउ गर्ने अनुमति पाएलगत्तै उनी हवाई या स्थल जुन मार्गबाट आए पनि नियन्त्रणमा लिन सबै प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयमार्फत परिपत्र गरिएको हो। लामिछानेको मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको छ।

बलात्कार भएको भनिएको होटल सिनामङ्गलमा रहेकाले जाहेरी प्रहरी वृत्त गौशालामा दर्ता भएको हो । ‘घटनाबारे आवश्यक अनुसन्धान जारी छ । अनुसन्धानमा कुनै गल्ती नहोस् भन्नेमा हामी सचेत छौँ’, काठमाडौ परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भने ।

विदेशमै लुक्न सक्छन् त सन्दीप ?

जाहेरीअनुसार घटना ५ भदौ बेलुकाको हो । बलात्कार भएको भनिएको घटनामा सबैभन्दा बलियो प्रमाण होटलको क्लोज सर्किट टेलिभिजनको क्लिप हो । तर, बलात्कारको आरोप लागेका सन्दीप भने देशबाहिर रहेकाले भाग्न सक्ने अनुमान गरिएको छ।

बलात्कार जस्तो जघन्य आरोप लागेका उनी वेस्टइन्डिजबाटै भाग्ने त होइनन् ? भन्ने जनमानसमा आशङ्कासमेत उब्जेको छ। सन्दीप विदेशमै भाग्लान् कि भन्ने जनमानसमा आशङ्का रहे तापनि त्यो त्यति सजिलो भने नरहेको डीआईजी ज्ञवालीले बताए।

सन्दीप नेपाल वेस्टइन्डिजबाटै अन्य देश भाग्न सक्ने जोखिम देखिएमा प्रहरीले नेपालमा रहेको इन्टरपोलको शाखामार्फत अदालतको पक्राउ आदेशको आधारमा ‘डिफ्युजन नोटिस’ जारी गराउन प्रक्रिया सुरु गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी टेकप्रसाद राईले जानकारी दिए।

डिफ्युजन नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्रमध्ये जुन देश भागे पनि उनलाई नियन्त्रणमा लिएर नेपाल फर्काउन सकिनेछ । इन्टरपोलका सदस्य राष्ट्रहरूले लागुऔषध, अवैध हतियार, मानव बेचबिखन र महिला तथा बालबालिकाविरुद्धको हिंसामा कडा नीति लिने गरेका छन्।

जो कोही आरोपी विदेशबाट भागेर लुकेको अवस्थामा डिफ्युजन नोटिस जारी गराएर सहजै नेपाल ल्याउन सकिने प्रवक्ता राईले बताए । जनमानसमा सन्दीप उतैबाट भाग्ने पो हो कि भन्ने आशङ्का उब्जे पनि उनले क्यानमार्फत खेल सकेर स्वदेश फर्कने बताइसकेकाले उनी नेपाल आएर आफूविरुद्धको अभियोग कानुनी रूपमा सामना गर्ने तयारीमा रहेका बुझिन्छ।

सन्दीप नेपाल आएपछि के हुन्छ ? 

यसबीचमा पीडित नाबालिग किशोरी र लामिछानेबीचको कल डिटेल रेकर्ड प्रहरीले सङ्कलन गरिसकेको छ। त्यस्तै, प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गरिसकेको छ भने घटनास्थलको मुचुल्का गरिसकेको जनाएको छ।

आरोपी लामिछाने नेपालबाहिर भए पनि प्रहरीले गर्ने अन्य अनुसन्धानहरू जारी रहेको परिसरका एसएसपी बोहोरा बताउँछन्। उनका अनुसार घटना भएको भनिएको होटलमा पुगेर प्रहरीले प्राप्त गर्ने सक्ने प्रमाणहरू सङ्कलन गरिसकेको छ। तर, प्रहरी सन्दीप कहिले आउँछन् भनेर कुरेर बसिरहेको छ।

नेपाल आउनासाथ पक्राउ परेपछि सन्दीपको बयान र घटना नभएको पुष्टि गर्ने आधार र प्रमाणहरू उनले पनि पेस गर्न पाउँछन्। अहिलेसम्म बाहिरिएको घटना पीडित पक्षको उजुरीको आधारमा भएको अनुसन्धान मात्र हो।

सन्दीपले पेस गर्ने प्रमाण र बयानको आधारमा पनि प्रहरीले थप अनुसन्धान गर्ने एसएसपी बोहोराले बताए। ‘यो त नियमित प्रक्रिया नै हो । सबैलाई थाहा भएको कुरा नै हो । हामी पनि कानुनअनुसार नै अगाडि बढ्छौँ’, एसएसपी बोहराले भने।

सन्दीप नेपाल आएपछि प्रहरीले पक्राउ गरेको मितिले २४ दिनभित्र आफ्नो अनुसन्धान सकेर बुझाउनुपर्ने हुन्छ। प्रहरीले अनुसन्धान सकेपछि आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँछ।

त्यसपछि सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान चित्त बुझे मात्र केस अगाडि बढाउनेछ । केस अघि बढेको अवस्थामा सरकारी वकिलको कार्यालयले उक्त फाइल जिल्ला अदालतमा पेस गर्नेछ अनि अदालतमा मुद्दा दर्ता हुन्छ।

त्यसपछि अदालतमा बहसपछि सन्दीपका विषयमा ३ वटामध्ये एउटा आदेश दिन्छ– साधारण तारेखमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने र पुर्पक्षका लागि जेल चलान गर्ने।

यदि प्रहरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई चित्त नबुझेमा प्रहरीलाई पुनः अनुसन्धान गर्न आदेश दिन्छ । त्यसो त मुद्दा चल्न नसक्ने देखिए त्यहीँबाट पनि सन्दीपलाई छाड्न आदेश दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्