तक्मा बनाउन नौ करोड, बहुमूल्य धातु किन्न सुरु



काठमाडौं : सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ । 

अर्थ मन्त्रालयबाट यो प्रयोजनका लागि नौ करोड रुपैयाँ आइसकेको गृह मन्त्रालयको विभूषण शाखाले जनाएको छ । गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्तले विभिन्न मानपदवीबाट सुशोभित भएकाका लागि तक्मा बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए । 

महाशाखाका अनुसार सुन र चाँदी राष्ट्र बैंकसँग खरिद गरिनेछ । हीरा भने प्राइभेट कम्पनीसँग टेन्डर गरी खरिद गरिनेछ । सबै तक्मा घरेलु कार्यालयअन्तर्गतका कालीगढले बनाउने सहसचिव पन्तले बताए । तक्मा तथा पदकमा जलप लगाउने कार्य भने राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखा सुन्धाराले गर्नेछ । 

सरकारले प्रदान गर्ने मानपदवी तथा अलंकारमा नेपाल रत्न, राष्ट्रगौरव, राष्ट्रदीप, जनसेवाश्री गरी विभिन्न श्रेणीका तक्मा छन् । ती तक्मा बनाउन प्रतितक्मा ५० हजारदेखि १३ लाख रुपैयाँसम्म खर्च हुने गृह मन्त्रालयले जनाएको छ । 

सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपाल रत्न बनाउन मात्रै १३ लाख रुपैयाँ खर्च लाग्नेछ । गृहका अनुसार केही विभूषण चार लाखदेखि १० लाखका छन् । दुईदेखि तीन लाख रुपैयाँसम्मका धेरै विभूषण छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्