महिना दिनदेखि रोकिएका कन्टेनर भित्रिन सुरु



काठमाडौं । महिना दिनदेखि ठप्प तातोपानी र केरुङ नाका सञ्चालनमा आएका छन् । कोरोना भाइरस सङ्क्रमण बढेको भन्दै चीन सरकारले गत २३ साउनदेखि ती व्यापारिक नाका बन्द गरेको थियो ।

नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चानसुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेपछि चीनले सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीको केरुङ नाका सञ्चालन ल्याएको हो ।

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग छलफल गरी नेपालको व्यापारिक नाका खुला गरेका थिए । नेपाल राष्ट्रिय व्यापार सङ्घका उपध्यक्ष रामचन्द्र पराजुलीले गत २३ साउनदेखि रसुवागढीको केरुङ नाकामा थन्किएका सामान बुधबार दिउँसो ३ बजेदेखि नेपालभित्रिन सुरु भएको जानकारी दिए ।

बुधबार दिउँसो राष्ट्रपति भण्डारीसँग चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चानसुको भेटवार्ता भएको थियो । अध्यक्ष ली चानसु सोमबार नेपाल ४ दिने भ्रमणमाका लागि आएका थिए । अध्यक्ष चानसु नेपालको ४ दिने भ्रमण सकी आज बिहीबार दक्षिण कोरिया प्रस्थान गर्दै छन् ।

महिना दिनदेखि नेपाल चीनबीचको व्यापारिक तातोपानी र केरुङ नाका बन्द हुँदा नेपाली व्यापारी समस्यामा परेका थिए । बुधबारदेखि २ नाका सञ्चालन आएपछि व्यापारीहरू खुसी भएका छन् ।

तिब्बत क्षेत्रमा कोभिड भाइरस सङ्क्रमण भएपछि २५ साउनदेखि तातोपानी नाका पनि बन्द भएको थियो । नेपाल राष्ट्रिय व्यापार सङ्घका उपाध्यक्ष पराजुलीले कोभिडका कारण चीनले कडा मापदण्ड लागू गर्दा विगत ४ वर्षदेखि चीन-नेपालबीच स्थलमार्गबाट हुने व्यापार प्रभावित हुँदै आएको बताए ।

चीन सरकारले कोभिड सुरु भएदेखि चीन-नेपालबीच स्थलमार्गबाट पटकपटक बन्द गर्दा नेपाली व्यवसायीहरू समस्या परेको उनले बताए । बुधबारदेखि दुवै नाका सञ्चालन हुँदा सबै व्यापारी खुसी भएको उनले बताए । नाका खुल्दा दसैँमा व्यापार गर्न सहज हुने उपाध्यक्ष पराजुलीले बताए ।

पराजुलीका अनुसार तातोपानी नाकाबाट बुधबार साँझ ७ बजेसम्म १३ वटा कन्टेनर र केरुङ नाकाबाट ९ वटा कन्टेनर नेपाल भित्रिएका छन् ।

उनले १ महिना नाका बन्द हुँदा व्यापारीको करिब ३ अर्र्ब नोक्सानी भएको बताए । कपडा, खाद्यान्नदेखि जुत्ताचप्पल, गार्मेन्टलगायतका सामान नाकामा थन्किएको उनले बताए । लामो समयदेखि बाटोमा सामान थन्किँदा लगानीको ७ प्रतिशत नोक्सानी व्यापारीले बेहोर्नुपरेको उनको भनाइ छ ।

करिब ४०० नेपाली व्यापारीले चीनबाट विभिन्न सामान ल्याएर स्थानीय बजारमा बिक्रीवितरण गर्ने पराजुली बताउँछन् । नेपाल राष्ट्रिय व्यापार सङ्घका महासचिव वैकुण्ठ दाहालले तातोपानी र केरुङ नाकासँगै अन्य नाका पनि खोल्नुपर्ने बताए । लामो समयदेखि चीन-नेपालबीचको व्यापारिक तातोपानी, केरुङ बन्द हुँदा नेपाली व्यापारीले धेरै समस्या भोग्नुपरेको बताए ।

कोभिडको कारण देखाएर चीन सरकारले विगत ४ वर्षदेखि उक्त नाका पटकपटक खोल्ने र बन्द गर्ने गर्दा नेपाली व्यवसायीले धेरै नोक्सानी बेहोर्नुपरेको उनको भनाइ छ । महिना दिनदेखि ठप्प रहेका नाका खुल्दा दसैँमा व्यवसायीलाई केही राहत हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्