सिद्धार्थनगर प्रथम उपमेयर कप कराँते प्रतियोगिता : रोहिणीले चुम्यो उपाधि



भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप कराँते प्रतियोगिता-२०७९ उपाधि रोहिणी गाउँपालिकाको कार्यालयले चुमेको छ। आयोजित प्रतियोगितामा रोहिणी गाउँपालिकाले २ वटा गोल्ड, २ वटा र एउटा ब्राउन्स पदक प्राप्त गरी प्रथम भएको प्रतियोगिताका संयोजक एवम् नेपाल सितोरियो कराँते डो संघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए।

त्यस्तै दीप बोर्डिङ स्कुल दोस्रो र बुटवल डोजो तेस्रो स्थानमा रहन सफल भए। भैरहवामा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ ३४, ३८, ४२, ४७ र महिला तर्फ ३०, ३५, ४० र ४५ तौल समूहका खेलाडीहरू सहभागिता जनाएका थिए।

प्रतियोगितामा बुटवल डोजो, दीप बोर्डिङ स्कुल, एभरेस्ट बोर्डिङ स्कुल, कालिका कराँते डो एकेडेमी, मजुवा डोजो, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका, रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका खेलाडीहरू प्रतियोगितामा सहभागी थिए। प्रतियोगिताका उपाधि चुमेको रोहिणीका खेलाडीहरूलाई सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन्।

त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका समूहलाई उनले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन्। प्रतियोगितामा पुरुष तर्फ दीप बोर्डिङ स्कुलका गोविन्द अर्याल र महिला तर्फ कालिका कराँते डो एकेडेमीको अर्यधा ढकाल उत्कृष्ट खेलाडीको रूपमा छनोट भए। उनीहरूलाई पनि ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिएको छ। विभिन्न तौल समूहको खेलका विजेता अन्य खेलाडीहरूलाई मेडल र प्रमाण प्रदान गरिएको थियो भने प्रशिक्षकहरूलाई पनि प्रमाण पत्रले सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरको उपमेयर उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकाले खेल र खेलाडीहरूको प्रोत्साहनका लागि अगामी बजेटमा कराँते खेलका लागि थप बजेट विनियोजन र योजना निर्माण गर्ने बताइन्। ‘खेलले नगरलाई विश्वमै पहिचान दिलाउन सक्ने भएकोले हामीले खेललाई प्राथमिकतामा राखेर काम गर्छौ’ उनले भनिन्, ‘समस्यामा आत्मरक्षाका लागि पनि उपयोगी हुने भएकोले कराँते खेल र खेलाडीहरूका लागि हामी सधैँ सकारात्मक छौँ।’

उनले नगरपालिकाले अगामी दिनमा अझ थप प्रतियोगिताहरू आयोजना गर्ने जनाइन्। उनले अगामी दिनमा हुने प्रतियोगितामा प्रथम आउनेलाई नगरपालिकाका तर्फबाट पनि पुरस्कृत गर्ने बताइन्। कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्