आजदेखि सहुलियत मूल्य पसल, खाद्यान्नमा ५ देखि १०० रुपैयाँसम्म छुट



काठमाडौं । सरकारले आजदेखि सहुलियत मूल्य पसल सञ्चालन ल्याउने भएको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान र साल्ट टे«डिङ कर्पाेरेसनले देशका विभिन्न स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याउन लागेका हुन्।
सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्न चामल, दाल, नुन, तेल, पिठो, चिउरा, गेडागुढी, घिउ, पनिर, चिजलगायतका वस्तुहरूमा छुट उपलब्ध गराइनेछ । खाद्य व्यापार कम्पनीले देशभर ४१ जिल्लाका ४३ वटा स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको हो ।

चाडपर्वमा दैनिक उभपोग्य वस्तुको माग र आपूर्ति अन्य समयको तुलनामा बढी हुने हुँदा बजार मूल्य नियन्त्रण गर्न सरकारले हरेक वर्षको दसैँदेखि र छठ पर्वसम्म सहुलियत मूल्य पसल सञ्चालन ल्याउने गरेको छ । त्यस्तै कोभिड १९ पछि अनलाइन मार्फत सहुलियत दरमा उपभोक्तालाई खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ । सो कार्यलाई नै यस वर्ष पनि निरन्तरता दिएको छ ।

खाद्य व्यापार कम्पनीले दसैँका लागि खसीबोका, च्याङ्ग्रा, खाद्य वस्तु दाल, चामल, गेडागुडी, खाने तेल, पिठो, चिउरालगायतका खाद्य वस्तुमा छुट दिने भएको छ। दसैँको समयमा काठमाडौं उपत्यकामा मासुको खपत धेरै नै हुने हुँदा निजीक्षेत्रले बजारमा मनपरी मूल्य लिँदा उपभोक्ता नठगियून् भन्ने उद्देश्यले कम्पनीले दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले यस वर्षको चाडपर्व लक्षित सहुलियत पसलबाट उपभोक्तालाई चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट रहेको जानकारी दिए। विगतका वर्षमा ती वस्तुमा सरकारले प्रतिकेजी ५ रुपैयाँ छुट दिने गरेको थियो । यसपटक प्रतिकेजी २ रुपैयाँ बढाएर ७ रुपैयाँ छुट दिएको उनले बताए।

नायब महाप्रबन्धक खनालले काठमाडौं उपत्यकामा ४ स्थानबाट उपभोक्तालाई खाद्य सामग्री बिक्रीवितरण गरिने बताए। उनका अनुसार रामशाहपथ, नख्खु, थापाथली र भक्तपुरको सूर्यविनायकबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य वस्तु बिक्रीवितरण हुनेछ।

यदि कम्पनीको वेबसाइट/अनलाइनबाट अर्डर गरेमा काठमाडौं उपत्यका, पोखारा र सुर्खेतबाट सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधासमेत रहेको उनले जानकारी गराए। कम्पनीले हाल बासमती चामल प्रतिकिलो ११० रुपैयाँमा बिक्री गरिरहेकोमा सहुलियत दरमा १०३ रुपैयाँ पर्नेछ। जिरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ।

त्यस्तै खाने तेलको मूल्यमा पनि प्रतिलिटर ७ रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ। तेलको ब्रान्डअनुसार फरकफरक मूल्य पर्दछ। यसैबीच कम्पनीले दसैँका लागि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ। जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ।

यस्तै दुग्ध विकास संस्थानले विगतको जस्तै यसपटकको चाडपर्वमा पनिर, चिजमा प्रतिकोली २० रुपैयाँ छुट दिने भएको छ । दहीमा १० र घिउ प्रतिकिलो ५० रुपैयाँ छुट दिने भएको छ।

दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारले तोकेका सहुलियत मूल्य पसलबाट र अन्य विभिन्न सङ्घ संस्था सहकारी मार्फत पनि उपभोक्तालाई आफ्नो उत्पादनमा छुटसहित बिक्रीवितरण गरिने जानकारी दिए।

साल्ट ट्रेडिङ कर्पाेरेसनले पनि चाड लक्षित सञ्चालन भएका सहुलियत पसलबाट उपभोक्तालाई ५ रुपैयाँदेखि १०० रुपैयाँसम्म छुट दिने भएको छ ।
साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झालेले काठमाडौं उत्पयाकाका विभिन्न ५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन ल्याउने र ३ वटा मोबाइल भ्यानबाट उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने जानकारी दिए ।

उनका अनुसार सहुलियत पसल सञ्चालन हुने स्थान सतुङ्गल, कालिमाटी, जाउलाखेल, जडिबुटी र भक्तपुरको सूर्यविनायक रहेका छन्। उनले चाडवर्प लक्षित सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुमा ५ देखि १०० रुपैयाँसम्म छुट हुने बताए।

प्रबन्धक झाले तेल प्रतिलिटर १५ रुपैयाँ, दाल र गेडागुढी ५ देखि १० रुपैयाँ, चामल बोरामा २० देखि १०० रुपैयाँ, चिउरा १० र नुन २ रुपैयाँ छुट दिएको जानकारी दिए। सरकारको निर्देशनअनुसार चिउरामा ७ रुपैयाँ र कम्पनीले आफ्नो तर्फबाट उपभोक्तालाई ३ रुपैयाँ गरी चिउरामा प्रतिकेजी १० रुपैयाँ छुट दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्