अछाम पहिरो अपडेट : १२ को मृत्यु, ११ जना अझै बेपत्ता



काठमाडौं । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा ५ जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा २ जना र ढकारी गाउँपालिका-६ मा १ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाको उद्धार गरिएको छ। कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा पहिरोमा परेका ६ जनामध्ये ५ जनाको शव भेटिएको छ। त्यहाँ एक जनाको उद्धार गरिएको छ।

यस्तै कमलबजार नगरपालिका–६ मा पहिरोमा परेका १४ जनामध्ये ४ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए। यस्तै त्यहाँ अझै ३ जना बेपत्ता छन्। ढकारी गाउँपालिका–६ मा पहिरोमा परेका ५ जनामध्ये १ जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन्।

३ जनाको सकुसल उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका–५ मा पहिरोमा परेका ९ जनामध्ये २ जनाको शव भेटिएको छ भने अन्य बेपत्ता ७ जनाको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्