बाढीपहिरो प्रभावितको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्री खाणको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते भएकाहरू, प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउँधनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परी घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसूर बाँकी नराख्न र जिल्लामा भएको स्रोतसाधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिएका छन् ।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरी हालसम्म १२ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्