कर्णालीका ७ हजार बालबालिका पुनर्स्थापनाकाे पर्खाइमा



सुर्खेत । कर्णाली प्रदेशमा अपाङ्गता भएका ७ हजारभन्दा बढी बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको पाइएको छ।

अपाङ्गताहरूका क्षेत्रमा कार्यरत विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका अनुसार प्रदेशभर त्यस्तो सेवा चाहिने बालबालिकाको संख्या ७ हजार ८ सय ४२ रहेको छ।

केन्द्रका संयोजक नित्रबहादुर देउजाले पछिल्लो जनगणनाले कर्णालीमा ८ हजार ३ सय ७ जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेको देखिएको बताए। त्यसमध्ये एक हजार ८ सय ७७ जना बालबालिका उपचाररत छन् भने ४ सय ६५ जनाले उपचार पूरा गरेका छन्।

प्रदेशमा सबैभन्दा बढी सुर्खेतका एक हजार ६ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको बताइएको छ । त्यस्तै, दैलेखमा एक हजार ३ सय ३४ जना, सल्यानमा एक हजार २ सय २० जना, जाजरकोटमा ८ सय ८ जना, कालीकोटमा ७ सय १० जना र रूकुम-पश्चिममा ७ सय ९८ जनाको उपचारलगायतका पुनर्स्थापना सेवाको जरुरी छ ।

जुम्लामा ५सय ५ जना, मुगुमा २ सय ८० जना, डोल्पामा एक सय ९२ जना र हुम्लामा २ सय ६२ जना अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको जनाइएको छ ।

केन्द्रका संयोजक देउजाले कर्णालीमा अझै पनि अपाङ्गता भएका सबै बालबालिकाको पहिचान भने हुन नसकेको बताए ।

कर्णालीमा पुनर्स्थापना सेवा आवश्यक रहेका बालबालिकाको संख्या ठूलो देखिएपछि यहाँ पनि अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र स्थापनाको तयारी गरिएको छ।

विकलाङ्ग मित्र समूहले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र स्थापनाको तयारी थालेको हो। विकलाङ्ग मित्र समूहले अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा विगत ३८ वर्षदेखि सञ्चालन गर्दै आएको छ।

आफ्नो सेवालाई विस्तार गर्ने उद्देश्यले कर्णाली प्रदेशमा पनि अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको स्थापना गर्न लागिएको हो। अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाले सोही विषयमा जानकारी दिन बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागिएको केन्द्रका संयोजक देउजाले जनाए।

वीरेन्द्रनगरमा आधारभूत सेवाहरू उपलब्ध गराउने गरी असोजबाट केन्द्र स्थापना गरिनेछ। तत्काल पुनर्स्थापनाका प्राथमिक सेवाहरू उपलब्ध गराइने र यसलाई विस्तारै अस्पतालको रूपमा विकास गरिने योजना रहेको बताइएको छ। वीरेन्द्रनगर–१ चनाबारीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनमा नै पुनर्स्थापना केन्द्र स्थापना गरिने भएको छ।

त्यसका लागि वडा कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका ५ वटा कोठा पुनर्स्थापना केन्द्रका लागि उपलब्ध गराउने निर्णय गरिएको छ । कर्णालीमा अपाङ्गता भएका बालबालिकाले सहज रूपमा उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको देउजाले बताए। कर्णालीमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा उपचार पाउन सकेका छैनन्। पुनर्स्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवाहरू उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्