महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा १ हजार ७ सय बिजुली महसुल बक्यौता



काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ– १७ सय रुपैयाँ । काठमाडौं मैतीदेवीमा रहेको महाकविको घर ०७२ सालको भूकम्पले जीर्ण बनाइसकेको छ । त्यहाँ कोही बस्दैन ।

प्रधानमन्त्री केपी ओलीले उनको घरलाई संग्रहालय बनाउने घोषणा पनि गरिसकेका छन् । तर, बिजुली र खानेपानीको बिल अहिले पनि उनकै नाममा आउँछ । उनको ग्राहक नम्बर ००३–०६–२०२५ रहेको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् । 

देवकोटाको घरमा बत्ती भने बल्दैन । बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र घर भताभुंग भइसकेको छ । दशकौँ बित्दा पनि उनको परिवारले विद्युत् ग्राहक नम्बर नामसारी गरेको छैन ।

घरमा कोही नबस्दा पनि बिजुलीको बिल उठेकोमा परिवार दिक्क भएको छ । ‘बत्ती बल्दैन तर प्राधिकरणले हरेक महिना महसुल बिल पठाउने गरेको छ’, महाकविकी माइली छोरी अम्बिका रिमालले भनिन् ।

रिमालका अनुसार भूकम्प अघिसम्म परिवारले महसुल तिर्दै आएको थियो । मान्छे बस्न छाडेपछि बक्यौता तिरिएको छैन । पटकपटक भन्दा समेत बिजुलीको लाइन नकाटिएको परिवारको गुनासो छ । परिवारले नामसारी नगर्दा र प्राधिकरणले विद्युत् नकाट्दा नेपाली साहित्यका धरोहरको नाममा हरेक महिना बिल उठ्ने गरेको हो ।

प्राधिकरणले घरमा कोही नभएकाले नियमित मिटर रिड गर्न नपाएको बताउँछ । प्रक्रिया पु‍¥याएर आए लाइन काट्न कुनै समस्या नरहेको अर्यालले बताइन् ।

काठमाडौँ खानेपानी लिमिटेडले पनि देवकोटाका नाममा नियमित बिल पठाइरहेको छ । घरबारे स्थानीय र देवकोटा परिवारबीच मुद्दामामिला समेत भइरहेको छ । स्थानीयले उनको घरबाट ढल हाल्न पाउनुपर्ने भन्दै परिवारविरुद्ध मुद्दा हालेका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्