अनशनरत डा.केसी र सरकारबीच बार्ता सुरु



काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनशनमा बसेका डा.गोविन्द केसी र सरकारपक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षासचिव, स्वास्थ्यसचिव सहभागी छन् । डा.केसीका तर्फबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय टोली छ ।

सरकारले केसीसँग संवाद गर्न शुक्रबार वार्ता टोली गठन गरेको थियो । सरकारले कार्यालयका सचिव रामप्रसाद रिजालको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ ।

जारी वार्तामा अहिले डा. केसीले राखेका मागहरूमा बुँदागत छलफल भइरहेको उनका प्रेस संयोजक प्रितम सुवेदीले जानकारी दिएका छन् ।

सरकारका तर्फबाट भने डा.केसीसँग हालसम्म भएका सम्झौताको कार्यप्रगति र अहिले राखिएका मागबारे बुँदागत विवरण पेस गर्ने कार्यक्रम रहेको बताइएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा आमरण अनशनमा रहेका डा.केसीको स्वास्थ्य अवस्था सातौँ दिनमा आइपुग्दा अवस्था जटिल भएको अस्पतालको रिपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस्