छठ पूजा गर्न घाटमा गएका बेला घरमा आगो लाग्यो, १० लाख क्षति



सुनसरी : सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट दुलालको काठको दुईतले घर जलेर नष्ट भएको छ । इनरुवा नगरपालिकाको दमकल लामो समयदेखि बिग्रिएर थन्केका कारण समयमै आगो निभाउन नसकिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्