लुम्बिनी प्रदेश सरकारबाट ६१ जना विभूषित



बुटवल । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको हो ।

संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतिय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको हो ।

यसैगरी, बाँकेका डा.मोहिउद्दिन किदवाई र चितवनका डा.राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितिय प्रदान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितिय नौ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय चार जनालाई र उजिरसिंह दीप पदक तृतीय ४ जनालाई प्रदान गरेको छ ।

समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम २ जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।

प्रजापति गौतम पदक द्वितिय र तृतियबाट एक-एक जना, दंगिशरण बलिहाङ पदक द्वितियबाट एक जना तथा दंगीशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरी ६१ जनालाई विभूषित गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्