
काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। सोमबार भएको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको हो। दशरथ रङ्गशालामा सम्पन्न खेलमा बंगलादेशका लागि खेलको १७ मिनेटमा बंगलादेशले अग्रता लियो।
बंगलादेशका लागि श्रीमोती के सरकारले २ तथा साम्सुनहारले १ गोल गरे। नेपालका लागि अनिता बस्नेतले गोल गरिन्। १७औँ मिनेटमा साम्सुनहारले डी–बक्सभित्रबाट उत्कृष्ट फिनिसिङको नमुना पेस गर्दै भ्रमणकारी टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन्।
मोनिका चक्काले उपलब्ध गराएको सटिक क्रसलाई उनले दोस्रो पोल च्याप्दै गोल गरेकी हुन्। साम्सुनहार खेलको ११ मिनेटमा जहान सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी हुन् । खेलको ३६ मिनेटमा नेपाल बराबरीको नजिक पुगे पनि गोल गर्न असमर्थ भएको थियो।
अनिता बस्नेतले बक्सबाहिरबाट हानेको उत्कृष्ट फ्री किकलाई बंगलादेशकी गोलकिपर रूप्ना चम्काले पञ्च गर्दै बाहिर पठाएकी हुन्। ४१ मिनेटमा बंगलादेश अग्रता दोब्बर बनाउन सफल भयो।
नेपाली रक्षकहरूबीच समन्वय हुन नसकेकाले सरकारले गोल गरेकी हुन् । ७०औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे पनि ७७औँ मिनेटमा सरकारले गोल गर्दै १५ हजार घरेलु दर्शकलाई निराश बनाएकी थिइन् ।
बंगलादेशको दोस्रो फाइनल प्रवेशमा यो पहिलो उपाधि हो। नेपालको यो पाँचाँै फाइनल प्रवेश हो । यसअघि ४ पटक फाइनलमा नेपाल भातरसँग पराजित भएको थियो। यसअघिका हरेक संस्करणमा उपाधि जितेको भारत सेमिफाइनलमा नेपालसँग १–१ ले पराजित हुँदै बाहिरिएको हो।
पहिलो चरणमा बंगलादेशले भारतलाई ३–० ले हराएको थियो। डेंगीको समस्याले ग्रस्त स्टार खेलाडी सावित्रा भण्डारीको अभाव फाइनल खेलमा प्रष्ट देखिएको थियो। यस पटक नेपाली टोलीका प्रशिक्षक कुमार थापा थिए।
थापाले दोस्रो पटक टोलीको जिम्मेवारी सम्हालेका हुन्। पहिलो पटक थापाको प्रशिक्षणमा खेलेको नेपाल फाइनल प्रवेश गर्न असफल भएको थियो। नेपाली टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ र कमला रखाल थिए । यसैगरी व्यवस्थापकीय जिम्मेवारी बिन्द्रा देवानले सम्हालेका थिए।
फेयर प्ले अवार्ड पनि बंगलादेशले जित्यो । प्रतियोगितामा शीर्ष गोलकर्ता पनि बंगलादेशकी कप्तान सबिना खातुन नै भइन्। उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि घोषित भइन् । उत्कृष्ट गोल रक्षक पनि बंगलादेशकै रूप्ना चम्का नै भइन्। उनले प्रतियोगिता भर १ गोल मात्र हुन दिएकी थिइन्।