दौडिएर आम्दानी नहुने बेलाका बैकुण्ठको दौडकथा



  • पदम श्रेष्ठ

काठमाडौं । म्याराथन धावक बैकुण्ठ मानन्धर शनिबार एउटा कार्यक्रममा भन्दै थिए, ‘हाम्रो पालामा यति धेरै सम्मान कहाँ ?’ मानन्धरले पढेको स्कुल शान्ति निकुञ्ज पूर्वविद्यार्थी सङ्घको २५औँ वर्षगाँठको अवसरमा आयोजित दौड प्रतियोगितामा छात्रतर्फ प्रथम विश्वराम कुँवर, द्वितीय अजय विक, तृतीय स्थान सोनाम शेर्पाले प्राप्त गरे ।

त्यसैगरी छात्रातर्फ अञ्जु खड्का, सोनु घटानी र सरिता रम्तेल क्रमशः प्रथम द्वितीय र तृतीय भए। उनीहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

पूर्वविद्यार्थी सङ्घका अध्यक्ष वीरेन्द्रभक्त प्रधानाङ्गको सभापतित्वमा आयोजित सो सभामा विश्व प्रसिद्ध अल्ट्राधाविका सुनमाया बुढालाई १ लाख १०५ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो भने भेट्रान म्याराथन धावक शम्भुप्रसाद दाहाललाई अभिनन्दन गरिएको थिायो ।

मानन्धरको सम्झनामा विगत, उनकै शब्दमा

आमा क्यान्सर रोगले थला परेकी थिइन् । उपचारपछि पनि रेडियोथेरापी गराइरहनुपथ्र्यो । आफूसँग कुनै आयस्रोत थिएन। आफूले जानेको एक मात्र काम दौडनु थियो । दौडिएर सुको आम्दानी हुँदैनथ्यो । उल्टै पोषण नपुगे सुकेनास लाग्ने डर। दोधारकै बेला २०३७/०३८ सालतिर पाकिस्तानमा आयोजित म्याराथनमा पहिलो पल्ट भाग लिने मौका पाएँ, काइदेआजम अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा ।

सो १० हजार मिटरको दौडमा म पहिलो भएँ । मेरो खुसीको सीमा रहेन किनकि पहिलो लक्ष्य भेट्टाएको त्यो दिन थियो मेरो जीवनको। अन्तर्राष्ट्रिय १० हजार मिटरको म्याराथनमा भाग लिई पहिलो हुने नेपालको पहिलो खेलाडी पनि म नै भएँ। तर, मलाई देशभित्र कुनै सम्मान दिइएन, आफैँ खुसी हुनुबाहेक। त्यतिबेला छोराले दौडिएर नाम राखेछ भन्ने आमालाई थाहा भए पनि अण्डा–माछाको सगुन दिनुपर्ने गरी सिल्ड ल्याएछ भन्नेचाहिँ थाहा भएनछ। मन त्यसै मारेँ र चुपचाप बसेँ।

भत्ता आदि गरेर हजार रुपैयाँजति बचाएको थिएँ । लक्ष्य भने जारी राखेँ । एक दिन अवश्य खेलकुदप्रति सम्मान हुने नै छ भन्ने ठानेँ । मैले बनाएको रेकर्ड कसैकोे दयामाया र भीख थिएन। खेलकुद मात्र यस्तो विद्या हो, जहाँ सोर्सफोर्समा दिएको तक्माको कुनै मान रहँदैन । तर, उल्टै बैकुण्ठेले दौडिएकै होइन भनेर लख काट्नेहरू पो देखिएछन्।

मैले स्पष्टीकरण दिने आवश्यकता ठानिनँ । नेपाली सेनाले भने कदर स्वरूप हवल्दारमा प्रमोसन गरिदियो । त्यसभन्दा अगाडि सेना/प्रहरीलाई दौडमा चुनौती दिन सक्ने सर्वसाधारण म मात्र थिएँ । म पनि सेनामा गएँ किनकि स्वतन्त्र खेलेर घर चलाउनै असम्भव थियो त्यतिखेर।

२०४० सालमा पुनः पाकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय खेलकुदमा पनि म प्रथम भएपछि दिनको १०० रुपैयाँका दरले महिनाको ३ हजार र खेलकुद परिषद्ले ५ हजार रुपैयाँ दिएर खेलाडीको सम्मान गर्ने संस्कार थाल्यो ।

२०४२ सालमा नेपालमा आयोजित प्रथम साफ गेमले भने मेरो भाग्यको फैसला नै गर्‍यो । नेपालमा आयोजित सो खेलमा पहिलो गोल्ड मेडल ल्याउने म्याराथन धावक हुन सफल भएँ । बंगलादेशमा आयोजित दोस्रो साफ गेममा नेपालका लागि एक मात्र गोल्ड मेडल ल्याई २०४३ सालमा म चर्चाको शिखरमा पुग्न सफल भएँ ।

त्यसै साल राजा वीरेन्द्रबाट सम्मान र पुरस्कारबाट नेपालको प्रथम युवा पुरस्कार नगद १० हजार रुपैयाँसहित गोरखा दक्षिणबाहु चौथो प्राप्त गरी सम्पूर्ण खेलाडीहरूको प्रेरणाको स्रोत बन्न सफल भएँ। २०४४ सालमा तेस्रो साफ गेम भारतको कलकत्तामा आयोजना हुँदा मैले २ घन्टा १५ मिनेट ३ सेकेन्डको म्याराथनको रेकर्ड कायम गरी दक्षिण एसियाकै इतिहासमा ह्याट्रिक गर्न सफल भएँ।

मैले २७ वर्ष अगाडि बनाएको म्याराथन रेकर्ड अहिलेसम्म तोडिएको छैन । २०४६ सालमा पाकिस्तानमा आयोजित चौथो साफमा तेस्रो स्थानपछि मैले खेलकुदबाट संन्यास लिएँ ।
तत्कालीन खेल प्रमुख शरद्चन्द्र शाहको सकारात्मक सोच खेलाडीलाई डाइट खर्च छुट्याउने, दौडँदा पनि टर्निङ–टर्निङमा पानी खुवाउनका लागि मान्छे राख्ने र विदेशबाट खेलेर फर्कंदा एयरपोर्टदेखि नै स्वागत गर्दै माला/अबीर पहिर्‍याएर ल्याउने परम्परा बसालेको मलाई याद छ ।

खेलकुदमा प्रोत्साहन, व्यावसायिक प्रयोग

बंगलादेशको राजधानी ढाकामा आयोजित साफ गेममा खेलकुद प्रमुख शरद्चन्द्र शाहसँग नेपालको राष्ट्रिय झन्डा फिल्ड प्रवेश गर्दा आफूले बोक्न पाउनुपर्छ भनी अड्डी कसेँ । त्यसभन्दा अगाडि राष्ट्रिय झन्डा खेलाडीलाई होइन, छुट्टै व्यक्तिलाई बोकाइन्थ्यो । खेलकुद प्रमुख शाहले के सोचे खै, भने, ‘ल ल बैकुण्ठलाई नै दिऊँ झन्डा ।’

झन्डा बोकी मैले आर्मी पाराले खुट्टा बजार्दै सलामी चढाएँ । मबाट प्रभावित हँुदै प्रमुख शाहले धाप मार्दै ५०० रुपैयाँ पुरस्कार दिए । प्रोत्साहनले सुकेको घाँसलाई अमृतको थोपाले चुठाइदिए जस्तो हुन पुग्यो । मरुभूमिका प्यासीलाई पानीको कुवा ।

उचित तालिम र प्रोत्साहन दिने हो भने अहिले पनि नेपालका कुनाकुनामा त्यस्ता खेलाडीहरू थुपै्र छन् । दर्शकहरूले ३६ वर्षीय नेपाली चितुवाको १८ बर्से जोस भनी तारिफ गरे । गेम सकिएपछि रङ्गशालाबाहिर चिया पिउन गएँ । कलकत्ताकी चिया पसल्नीले मलाई अँगालो हालेर स्वागत गरिन् । र, माटोको गिलासमा दूधैदूधको चिया खुवाउदै मसँग फोटो लिई ठूलो सम्मान गरिन् ।

खेलकुदकै भेट्रान खेलाडी ती महिलाले १ हजार भारु मेरो खल्तीमा राखिदिइन् । कारण– मैले चिया पिउन गएको पसलमा थुप्रै मान्छेहरूले चिया खान गएपछि खुसी भई फाइदाका आधारमा त्यो रुपैयाँ दिएकी रहिछन् । मेरो देशभित्र भन्दा भारतीय जनता, पत्रपत्रिका, सञ्चार माध्यमहरूबाट मप्रति देखाएको सद्भावले मलाई भावविह्वल नै बनायो ।

त्यसपछि भने नेपाल आएपछि राजा वीरेन्द्रबाट विख्यात त्रिशक्तिपट्ट पनि प्राप्त गरेँ भने खेलकुद प्रमुख शाहले ५ हजार रुपैयाँ र सरकारले पनि नगदसहित सम्मान गर्दा त्यस वर्ष २५ हजार रुपैयाँ नगद पाएको थिएँ मैले । त्यो पैसाले मेरो घर परिवारमा अत्यावश्यक अभावलाई पूर्ति गर्नदेखि बिरामी आमालाई उपचार खर्चमा केही राहत दिलाउने काम गर्‍यो ।

सोही साल सिंगापुरमा आयोजित म्याराथनमा दोस्रो भएर २ हजार डलर प्राप्त गरेँ । त्यसपछि भने मैले अब खेलेरै बाँच्न सकिने रहेछ भन्ने अनुभूति गर्न थालेँ । त्यसैगरी मैले खेलकुद परिषद्मा सहायक प्रशिक्षकको रूपमा मासिक १ हजार रुपैयाँ पाउने गरी कार्यरत हुन पाएँ ।

खेलेरै खान पाइने भो भनेर के सोचेको मात्र थिएँ, तर यहाँ पनि षड्यन्त्र गरिएछ । शरद्चन्द्र शाहले प्रशिक्षक भनी नियुक्ति दिए पनि मलाई त त्यो तलब डाइट खर्च भनेर दिइएको रहेछ । १ वर्षपछि खर्च रोकिँदा त्यो कुरा थाहा पाएँ । त्यो कुरा माथिल्लो तहसम्म पुगेछ । पुनः खेलकुद प्रमुख शाहले नै क्षतिपूर्तिबापत अधिकृत स्तरको नियुक्तिपत्र दिँदै रङ्गशाला हेर्ने, दौडने जिम्मेवारी दिएर राखे ।

सन् १९७६ मा क्यानाडाको मोन्ट्रियल, सन् १९८० मा मस्को, सन् १९८४ मा लस एन्जल्स र सन् १९८८ मा सोलमासहित ४ वटा ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी बन्न सफल भएँ म । मेरो जीवनमा सबैभन्दा गौरवको अनुभव भनेको दक्षिण एसियाली खेलकुदका सुरुका ३ संस्करण म्याराथनमा स्वर्ण पदक हासिल गर्न सक्नु नै हो ।

त्यही स्वर्ण पदकले मेरो भविष्यको निर्धारण गर्‍यो भने आज मेरो पहिचान नै ‘दक्षिण एसियाली जिराफ’को उपनाम त्यही सिल्डले दिलाएको हो।दौडलाई खेलकुदको आमा भने पनि हुन्छ, बाबु भने पनि हुन्छ । म्याराथन वास्तवमा खुला सडकमा लामो दुरी (४२ किलोमिटर १९५ मिटर)को दौड हो भने छोटो (२००, ४००, १ हजार, १० हजार आदि मिटर) दुरीको ट्र्याकभित्र दौडने प्रक्रियालाई म्याराथन भनिँदैन।

जुनसुकै खेलकुदमा पनि दौड अनिवार्य हुन्छ । तपाईं उसु खेल्नुहोस् वा जिम्न्यास्टिक, फुटबल खेल्नुहोस् वा खेल्दै नखेल्ने तर स्वास्थ्यका लागि पनि खेल्नु अगाडि दौडनुपर्छ । खेलाडीले जति घेरै दौडिएर शरीरलाई चुस्त राख्छ, त्यस्तै खेलमा परिणाम दिन्छ भन्ने मलाई लाग्छ।

म्याराथनको मार्मिक कथा

म्याराथन खेलबारेको कथा निकै मार्मिक पाएँ । करिब ४०० वर्ष अगाडि ग्रिसको राजधानी एथेन्सबाट ओलम्पिक सुरु हुनु अगाडिको कथन हो। ग्रिस र साइप्रसबीचको युद्धमा ग्रिसले विजय हासिल गरेछ।

युद्धमा घाइते ग्रिसका म्याराथन नामक सेनाले राष्ट्रको झन्डा बोकेर खुसीको सन्देश देशका उच्च पदस्थलाई सुनाउन दौडँदा युद्धस्थलबाट ४२ किलोमिटर १९५ मिटरसम्म पार गरेको दुरी नै अन्तर्राष्ट्रिय दस्तावेज बन्न गएको रहेछ। खुसीको सन्देश त सेना म्याराथनले देशबासीलाई सुनाए तर धपेडीका कारण उनको देहान्त हुन पुगेछ ।

सोही घटनाको स्मृतिमा सो दुरीको अन्तर्राष्ट्रिय मान्यता लिई म्याराथन थालिएको मानिन्छ । भनिन्छ– नेवार समुदायभित्रको मानन्धर समुदाय पनि अलेक्जेन्डर महानका साथ ग्रिसबाट आएका इन्जिनियर मिलान्डरका वंशज हुन् । कथनअनुसार ग्रिस हुँदै युद्धमा भारत आएका मिलान्डरहरूलाई त्यसै छाडेर अलेक्जेन्डर महान हिँडेपछि हाम्रो वंशज नेपाल प्रवेश गरेको हो रे !

भारत हुँदै नेपाल प्रवेश गरी शारीरिक रूपले कडा श्रम, जटिल बुद्धि खटाउनुपर्ने तेल पेल्ने, खट, रथ बाँध्ने इन्जिनियरिङको काम थालेका मिलान्डर नै पछि मानन्धर भनिएको तथ्य मेरा हजुरबुबा तीर्थमान मानन्धरले सुनाउनुहुन्थ्यो। युद्धमा प्राविधिक भई दौडने लक्षण मेरो पनि नश्लगत स्वभाव बन्यो होला। तर, मेरो मनमा म दौडन्छु र रेकर्ड राख्छु भन्ने प्रतिज्ञा उर्लिरहन्थ्यो त्यसैबेला।

मेरा हजुरबुबा पनि कालीमाटीदेखि हेटौँडासम्म खाद्य सामग्री बोकेर हिँडेरै पुग्नुहुन्थ्यो । व्यापारको सिलसिलामा हजुरबुबासँग म पनि धेरैपल्ट हिँडेरै हेटौँडा पुगेको छु। त्यसै बेलाको अभ्यास पनि होला मलाई दौडनमा उत्प्रेरणा दिने कारक।

तत्कालीन अवस्थादेखि नै मेरो भावना ग्रिस राष्ट्रप्रति आभारी भए पनि मन मेरो नेपालको राष्ट्रिय स्वाभिमानप्रति प्रतिबद्ध थियो किनकि ग्रिस आख्यानको पुर्खा भूमि हो भने मेरो वर्तमान मातृभूमि नेपाल हो ।

फेरि जुन भूमिले मेरो पुर्खालाई जन्मायो, हुर्कायो र मेरो वंशजलाई मर्न पनि सिकायो, त्यो तथ्यलाई बिर्सिएर आख्यान भूमिको पछि लाग्नु मेरो लक्ष्य पटक्कै थिएन । तर, ग्रिसका एक महान् व्यक्तित्वका त्यागलाई मैले मेरो आख्यान भूमि नभए पनि सलाम गर्नै पर्छ र गरेँ, बस् । आज मेरै नाउँमा दौड प्रतियोगिता आयोजना गरी अबका खेलाडीहरूलाई अगाडि बढ्न प्रोत्साहित गरिएकामा म धन्यधन्य भएको छु।

(म्याराथन धावक बैकुण्ठ मानन्धरसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्