जबराको पक्षमा प्रदर्शनको सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । आइतबार बिहान सर्वोच्च अदालत परिसरमा एक्कासि कानुन व्यवसायी जम्मा भए। वकिलहरू व्यापक भेला भएपछि सुरक्षाकर्मी पनि बढाइयो। अघिल्लो दिन राति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत फर्कने तयारीमा रहेको भन्दै रजिस्ट्रारलाई फोन गरेपछि सोमबार बिहानैदेखि अदालत परिसरमा तनावको स्थिति उत्पन्न भयो।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार इकाइले जबरा सर्वोच्च आए भित्र पस्न अवरोध गर्ने चेतावनी दिए। बारले त यसअघि नै जबरालाई सर्वोच्चमा अवरोध गर्ने निर्णय नै गरिसकेको छ । जबराले आफू ११ बजे सर्वोच्च आउने डेडलाइन नै मिडियालाई बताएपछि सुरक्षा व्यवस्था कडा बनाइयो।

प्रतिनिधिसभाको कार्यकाल सकिएलगत्तै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय भएको र आफूले सफाइ पाएको उनको जिकिर थियो। तर पाँचदलीय गठबन्धनले भने जबरामाथि लागेको महाअभियोग नयाँ संसद्लाई कार्यभार दिने सिफारिस गरेपछि उनले संसदबाट निलम्बन फुकुवा पाउन सकेका छैनन् । त्यसैले सरकारले जबरा निवासमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

जबराले आफू निवासमै नजरबन्दमा रहेको बताएपछि राजनीतिमा फेरि सनसनी फैलियो । उनको विषयमा नेपाली समाज नै दुई भागमा विभाजन भयो । तर, त्यस दिन जबरा सर्वोच्च फर्केनन्। सोमबार संविधान दिवस भएकाले सार्वजनिक बिदा थियो । तर, मंगलबार कार्यालय समय खुलेसँगै जबरा फेरि सर्वोच्च फर्कने चर्चा सुरु भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको हो । वीर गोर्खाली अभियान, एमाले निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन कडा पारिएको हो । जबकि सरकारले जबरालाई दिएको सुरक्षाकर्मी सबै फिर्ता बोलाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्