रोकियो सेक्सोफोनको धुन



काठमाडौं । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले गत १७ वैशाखमा सङ्गीतकार शुभबहादुर सुनामलाई ‘भक्तराज आचार्य सङ्गीत सम्मान २०७८’ बाट सम्मान गरेपछि शुभले आफ्नो ‘पहिचान’ का रूपमा रहेको ‘सेक्सोफोन’बाट भक्तराजको गीत ‘जहाँ छन् बुद्धका आँखा’ सुनाए ।

सेक्सोफोनको धुनले भक्तराजसहित कार्यक्रममा उपस्थितलाई भावुक बनाए पनि उनले बोलेको कुराले सबैको ताली पाएको थियो । शुभ तिनै वाद्यवादक थिए, जसले ४ दशकअघि रेडियो नेपालमा रेकर्ड गरिएको ‘जहाँ छन् बुद्धका आँखा’मा सेक्सोफोन बजाएका थिए ।

‘म अहिले ७४ वर्षको भएँ, अझै पनि सङ्गीतमा साधनारत छु । यसैमा जीवन अर्पण गरेँ र बाँकी जीवन पनि अर्पण गर्छु ।’ उनले यसो भनिरहँदा उनीप्रति सहभागीको उच्च सम्मान प्रष्ट देखिन्थ्यो । तर, अब उनलाई प्रत्यक्ष सम्मान व्यक्त गर्ने अवसरमा पूर्णविराम लागेको छ।

सोमबार बिहान ५ बजे छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएपछि उनका सङ्गीत सिर्जना, संयोजन तथा सेक्सोफोनका धुनमा विराम लागेको छ । सुनामका सङ्गीतकार नाति एलिस कार्कीका अनुसार शुभबहादुर लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनको नियमित डायलसिस भइरहेको थियो ।

शुभले सङ्गीत भरेका ‘रेलीमाई रेलीमाई’, ‘फूलैफूलको मौसम तिमीलाई’, ‘हुँ यात्री’, ‘पर लैजाऊ फूलहरू’, ‘गोरेटो त्यो गाउँको’, ‘यो नानीको शीरैमा’, ‘चिसो चिसो हावामा’ लगायत गीत हिट गीतमा पर्छन् । उनले फिल्म, भजन, आधुनिक, टेलिसिरियल, पप, बालगीत र राष्ट्रिय गीत गरी करिब ७०० भन्दा बढी गीतमा सङ्गीत भरेका थिए । उनका सङ्गीतमा तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमूर्ति, कुमार बस्नेत, प्राश्ना शाक्यलगायतका स्वर छन् ।

शुभसँग लामो साङ्गीतिक सहकार्य गर्नेमा सङ्गीतकार शम्भुजित बासकोटा पर्छन् । बास्कोटाका धेरै गीतमा शुभले सङ्गीत संयोजन गरेका छन् । फिल्म ‘के घर के डेरा’ का गीतमा दुवैले बराबरी सङ्गीत भरेका छन् ।

शुभको सेक्सोफोनको धुनबाट शम्भुजित प्रभावित रहेछन् । ‘अहिले धेरैले सेक्सोफोन बजाउँछन्, तर उहाँको सेक्सोफोनको धुनमा ‘फिलिङ’ आउँथ्यो । जुन ‘फिलिङ’ अरूकोमा आउँदैन । उहाँबाहेक भारतीय सेक्सोफोनिस्ट मनोहर सिंहकोमा पाएको छु’, शम्भुजित भन्छन्, ‘उहाँ सबै किसिमका बाजा बजाउनुहुन्थ्यो । मृदभाषी, सरल र विशेषतः पाश्चात्य सङ्गीतको ज्ञान भएर उहाँले सुगम र आधुनिक सङ्गीतलाई आफ्नैपनमा राख्नुभयो । उहाँले सुगमतालाई बढी मान्यता दिनुभयो।’

शुभले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए । सैनिक ब्यान्डमा रही उनी वाद्यवादन र तथा सङ्गीत सिर्जनामा सक्रिय रहे। रेडियो नेपालका पूर्वनिर्देशक तथा सङ्गीतकार टीका भण्डारी २०४५ सालदेखि शुभसँग परिचित छन् । रेडियो नेपालको आधुनिक स्टुडियोमा टीका वाद्यवादन समूहको कलाकार हुँदा शुभ सेक्सोफोन बजाउन आउँथे ।

‘उहाँ राम्रो एरेन्जर हो । उहाँ नोट नछानीकन अर्थात् नोट नबजाईकन स्मरणबाट नोट लेख्नुहुन्थ्यो। नेपालमा त्यस्तो सङ्गीतकार छैनन्। स्मरणबाट टोनिक मोड पत्ता लगाई टोन तानेर त्यसको आधारमा स्मरण गर्दै नोटेसन लेख्ने क्षमता अद्भूत थियो’, टीका स्मरण गर्छन्, ‘त्यो समयमा झन्डै ३० वाद्य यन्त्रलाई संयोजन गरेर प्रत्यक्ष सङ्गीत भर्नु चुनौतीपूर्ण काम थियो । तर उहाँले गीतअनुसार नोट लेखेर दिएपछि राम्रा सङ्गीत सिर्जना हुन्थे।’

शुभले फिल्म ‘प्रतीक्षा’, ‘चाहना’, ‘दाजुभाइ’, ‘बन्धन’लगायत फिल्ममा पनि सङ्गीत दिएका थिए । ६ महिनाअघि पत्नी गुमाएका शुभको परिवारमा २ छोरा र १ छोरी छन् । उनको सोमबार नै पशुपति आर्यघाटमा फिल्म तथा सङ्गीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका थिए। उनको सम्मानमा नेपाली सेनाले सैनिक सलामी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्