गगन थापाको गुनासो : डेंगी नियन्त्रणलाई सरकारले प्राथमिकता दिएन



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना महामारीबाट सिकेर सरकारले आवश्यक तयारी नगरेकोमा उनको असन्तुष्टि थियो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे । कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो ।

काठमाडौंमा सीमित रहेको डेंगी रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीनवटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।

‘कोभिडबाट अहिले डेंगीको बेलामा आउँदा खासै धेरै कुराहरू सिक्न सकिएनछ हामीले । स्थानीय सरकारको तयारीको बारेमा हामीले हेर्‍यौं भने, प्राथमिकताका सन्दर्भमा हामीले हेर्‍यौं भने अथवा यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन । हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरू छ कि छैन रु यो काठमाडौंमा मात्रै सीमित भएको कुरा देशभर फैलने क्रममा जुन छ । कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो । कोभिड लगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरूको निर्माणमा खासै चासो दिएको देखिएन वा सिक्न चाहेन ।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरूले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्