चिकित्सक भन्छन् : मोहमदको शरीरमा ४ वटा गोली पाइयो



काठमाडौं । गोठाटारमा अपरिचित समूहको गोली प्रहारबाट मृत्यु भएका लाल मोहमदको शरीरमा ४ वटा गोली लागेको पाइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा सोमबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार मोहम्मदको टाउको, छाती र कम्मरमा गरी ४ वटा गोली लागेको पाइएको हो ।

अस्पतालका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक/एक राउण्ड गोली लागेको छ । सोमबार बेलुकी साढे ६ बजे मोटरसाइकलमा आएका ३ जना व्यक्तिमध्ये १ जनाले उनलाई गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए ।

जोरपाटीबाट फ्याक्ट्रीको सामान लिएर आउँदा कारबाट ओर्लिने वित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । घटनामा गम्भिर घाइते भएलगत्तै उनलाई शंकरापुर अस्पताल लगिएको थियो ।

अस्पतालका निर्देशक डा। रमेश ढकालका अनुसार अस्पतालमा उनलाई आधा घन्टा राखिएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मोहम्मदको सोमबार राति मृत्यु भएको थियो । साथै गोली प्रहार गर्ने व्यक्ति घटनास्थलबाट नजिकै रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा बसेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्