गोठाटार हत्याकाण्ड : कहाँ चुक्यो प्रहरी ?



काठमाडौं । सोमबार साँझ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा कपडा व्यवसायी सर्लाही हरिवन– २ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको गोली हानी हत्या भयो । उनको हत्यापछि काठमाडौंका व्यवसायीहरू त्रसित बनेका छन् ।

पेस्तोलसहित आएका अज्ञात व्यक्तिले मोहम्मदलाई लखेटीलेखेटी गोली हानेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । गाडीबाट बाहिर निस्किएलगत्तै उनलाई पछाडिबाट एक व्यक्तिले गोली हानेका छन् । भिडियोमा गोली प्रहार हुन थालेपछि उनी जोगिन प्रयास पनि गरिरहेका छन् ।

गोली चलेर मोहम्मदको हत्या भए पनि अहिलेसम्म उनको हत्यामा संलग्न रहेकालाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । कसले र किन उनको हत्या गरेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक साताअघि मात्र पनि मोहम्मदमाथि गोली प्रहार भएको थियो । त्यतिबेला उनीमाथि बौद्ध क्षेत्रको जम्बुडाँडा नजिकै गोली प्रहार भएको थियो । सो क्रममा उनलाई पाखुरामा गोली लागेको थियो ।

आफूमाथि आक्रमण भएपछि मोहम्मदले त्यतिबेलै ढाँटेर काँडाघारी प्रभागमा ‘मलाई सुरक्षा खतरा भयो’ भनेर खबर गरेका पाइएको छ । तर, उनको सूचनालाई प्रहरीले वास्तै गरेन र दोस्रो प्रयासमा हत्या नै भयो । यस घटनामा प्रहरी चुकेको सुरक्षाविज्ञहरूको निष्कर्ष छ ।

‘सुरक्षा खतरा भयो’ भनेर प्रहरीमा खबर गरिसकेपछि वास्ता नगर्नुचाहिँ प्रहरीको ठूलो कमजोरी हो’, एक सुरक्षाविज्ञ भन्छन्, ‘कानुनबमोजिम अनुसन्धान गर्ने दायित्व र जिम्मेवारी बोकेको प्रहरीले नागरिकको सुरक्षामा चासो नदिनु सुरक्षा संयन्त्रको ठूलो कमजोरी हो ।’

हत्या भएका मोहम्मदकी छोरीले सुरक्षा खतराको जानकारी काँडाघारी प्रहरीलाई गराएको बताएकी छन् । मोहम्मदले दिएको सूचनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको भए क्षति रोक्न सकिने जानकारहरू बताउँछन् । त्यही नै प्रहरीको कमजोरी भएको उनीहरूको भनाइ छ ।

उनले सुरक्षा खतरा भयो भनेर खबर गरेपछि प्रहरीले सूक्ष्म रूपमा विश्लेषण गरी अनुसन्धान गर्न किन चाहेन ? पहिलो पटक नै उनीमाथि कसले आक्रमण गरेको हो भनेर प्रहरीले किन वेवास्ता गर्‍यो ? यस विषयमा अहिले प्रहरी केही बोल्न चाहँदैन ।मोहम्मदको हत्या भएको घटनास्थल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व गरिरहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकको मातहत पर्छ । उनको मातहतमा जिल्ला प्रहरी परिसर, काठमाडौंसमेत पर्छ ।

काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहरा रहेका छन् । ‘सुरक्षा खतरा भयो’ भनेर मोहम्मदले काँडाघारी प्रभागमा खबर गरेपछि त्यहाँका कार्यालय प्रमुख इन्स्पेक्टर सुजन पाठकले धानुक र बोहरालाई घटनाबारे जानकारी गराए कि गराएनन् ? गम्भीर प्रश्न यहाँ उब्जिएको छ ।

मुख्य योजनाकार भारतीय भएको आशङ्का

मोहम्मदको हत्यामा संलग्न व्यक्ति भारतीय व्यक्ति रहेको हुन सक्ने अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले बताए । मोहम्मदको हत्या गर्ने उद्देश्यले नै भारतको नयाँ दिल्ली घर भएका ती व्यक्ति लामो समयदेखि नेपाल बस्दै आएको खुलेको छ।

गोठाटारमा बस्दै आएका मृतक मोहम्मद बस्ने घर नजिकै एउटा गेष्ट हाउस छ । सो गेष्ट हाउसको नाम होऔ‘कोसीपारि गेष्ट हाउस एण्ड होटल ।’ सोही गेष्ट हाउसमा ३० भदौ साँझ ती व्यक्ति बसेका थिए । ती व्यक्ति हुन्  जितेन खान । गेष्ट हाउसको इन्ट्री बुकमा उनले सो नाम लेखाएका छन् । गेष्ट हाउसमा इन्ट्री गराएको नाम वास्तविक हो कि होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । सिबिजेट मोटरसाइकल चढेर गेष्ट हाउसमा पुगेका जितेनले नै मोहम्मदको हत्या योजना बनाएको हुनसक्ने प्रहरीको दाबी छ ।

३० भदौदेखि रेकी गरेका जितेनले ३ असोज साँझ मात्र योजनाबद्ध रूपमा मोहम्मदको हत्या गर्न सफल भएका हुन् । जितेन आफैँले मोहम्मदको हत्या गरे कि सुटर बोलाएर हत्या गरे भन्ने थप अनुसन्धानबाट खुल्ने एक प्रहरी अधिकारीले बताए ।
गेष्ट हाउसमा बसेर निगरानी गर्ने जितेन नै मोहम्मदको हत्याका मुख्य योजनाकार रहेको प्रहरीको आशङ्का छ । मुख्य योजनाकार भनिएका जितेन र मोहम्मदको बीचमा आर्थिक कारोबारको विषयमा विवाद हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोहम्मदको हत्यामा संलग्न भनिएका मुख्य योजनाकार जितेन प्रहरीको खोजी सूचीमै रहेको पाइएको छ । १ वर्षअघि न्यूरोडबाट ७० लाख नेपाली रूपैयाँ र ३० लाख भारु लुटमा संलग्न भएको आशंकामा प्रहरीले उनलाई खोजिरहेको थियो । त्यतिबेला हुण्डीको रकम लुटेर उनी फरार भएका थिए ।

एसएसपीको नेतृत्वमा समिति गठन

व्यवसायी मोहम्मदको हत्या भएको घटनाको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ । मङ्गलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको हो । प्रहरीले यस घटनाको अनुसन्धान जटिल बनेपछि विशेष समिति गठन गरेको हो । यसको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अधिकारीहरू समितिमा छन् ।

मोहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख धानुकले बताए । उनले भने, ‘मोहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । समितिले घटनाको विशेष अनुसन्धान गर्नेछ ।’

कसरी भयो मोहम्मदको हत्या ?

गार्मेन्ट व्यवसायी भनेर चिनिएका मृतक मोहम्मदलाई लखेटीलखेटी गोली हानिएको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । बा ६ च ५१५२ नम्बरको कारमा साँझ पौने ७ बजेतिर पसलमा आइपुगेका मोहम्मदलाई कारबाट झर्नासाथ गोली प्रहार भएको फुटेजमा देखिन्छ ।

रातो लुगा लगाएका व्यक्तिले लखेटीलखेटी मोहम्मदलाई गोली प्रहार गरेको भिडियोमा देख्न सकिन्छ । आफूमाथि गोली हान्न थालेपछि मोहम्मद आफ्नो कारमा छलिँदै भाग्न खोज्छन् तर जति नै छले पनि उनीमाथि पटकपटक गोली लाग्छ । मोहम्मदलाई गोली प्रहार गरेको उनकी छोरीले थाहा पाएपछि घरको तलामाथिबाटै हामफाल्छिन् । उनी घटनास्थलमा पुगे पनि सुटरले गोली प्रहार गरेर भागिसक्छन् । त्यसपछि उनले बुबालाई समात्दै घरतर्फ लैजान्छिन् । गोली प्रहार गर्ने व्यक्तिहरू भने मोटरसाइकलमा फरार हुन्छन् ।

मोहम्मद आफू जोगिनका लागि गाडीको वरिपरि घुम्दा पनि जोगिएनन् र अन्ततः उनको अस्पतालमा मृत्यु भयो । गोली लागी घाइते उनलाई सुरुमा शङ्खरापुर अस्पतालमा लगिएको थियो । सो अस्पतालमा उपचार नभएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकामा केही समयमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको एआईजी धानुकले बताए । ‘घटनाको अनुसन्धान र हत्या गर्ने व्यक्तिको खोजी भइरहेको छ’, उनले भने, ‘केही शङ्कास्पद व्यक्तिलाई लिएर सोधपुछ गरिरहेका छौँ । म आफैँ घटनास्थल पुगेर राम्रोसँग अनुसन्धान गर्न मातहतलाई निर्देशन दिएको छु ।’

काठमाडौंमा गार्मेन्ट व्यवसाय गरेर बसेका मोहम्मदलाई अज्ञात समूहले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएको भिडियोमा स्पष्ट देखिन्छ । मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि गोली हानिएको हो । घटनालगतै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं परिसरले अनुसन्धान गरिरहेको छ । तर, घटनास्थलबाट हत्यामा प्रयोग भएको मेड इन यूएसए लेखेको एक थान पेस्तोल, एउटा म्यागाजिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएका छन् ।

मोहम्मदलाई ४ वटा गोली

गोठाटारमा अपरिचित समूहबाट गोली हानी हत्या गरिएका मोहम्मदको शरीरमा ४ वटा गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजन्जमा सोमबार भएको पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी ४ वटा गोली लागेको पाइएको हो ।

उनको टाउकोको दाहिनेपट्टि २, दाहिने छाती र कम्मरमा १र१ राउण्ड गोली लागेको अस्पताल स्रोतले जनाएको छ । जोरपाटीबाट फ्याक्ट्रीको सामान लिएर आउँदा कारबाट ओर्लिनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो ।

मोहम्मदलाई विगत

गोली लागेर हत्या भएका मोहम्मद विगतमा आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ वर्षअघि २० असार २०६४ मा बलराम पटुवा नाम गरेका व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका खुलेको छ ।

पटुवाको काठमाडौंको अनामनगरस्थित धोबीखोलामा गोली प्रहारबाट हत्या भएको थियो । पटुवाको हत्या आरोपमा पक्राउ परेका मोहम्मद १० वर्ष जेल सजाय भोगेर ५ वर्षअघि मात्र छुटेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यतिबेला मोहम्मद नक्कली भारतीय नोटको कारोबार गर्ने गिरोहका नाइके इल्ताफ हुसेन अन्सारीसँग मिलेर काम गर्ने गर्थे । अन्सारी पछिल्लो समय २०७७ सालमा काठमाडौंमा भेटिएको साढे १४ किलो नक्कली सुन प्रकरणमा मुछिएपछि पक्राउ परेका थिए । उनीहरूकै समूहले त्यतिबेला बलराम पटुवाको हत्या गरेको थियो । भारतीय नक्कली नोटको कारोबार गर्ने समूहसँग मोहम्मदको ‘कनेक्सन’ देखिए पनि उनी अहिलेसम्म जाली नोट कारोबारमा चाहिँ मुछिएको ‘क्लु’ प्रहरीले भेट्टाउन सकेको छैन ।

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट’ चलाएर बसेका मोहम्मदको हत्या पुराना घटनाहरूसँग मिल्दोजुल्दो देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बताउँछन् । गोली हानेको फुटेज हेर्दा पेसेवर व्यक्तिकै संलग्नता रहेको जस्तो देखिने प्रहरीले दाबी गरेको छ ।

पछिल्लो समय उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न थिए वा थिएनन् भन्ने नखुलेको नेपाल प्रहरीका केन्द्रीय सहायक प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । ‘घटनाबारे अनुसन्धान भइरहेको छ । थप अहिले केही भन्न सकिने अवस्था छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्