अपराधप्रति सजगता खोइ ?



काठमाडौं । मानव समाजलाई आदर्श, शान्त र अनुशासित समाजका रूपमा कल्पना गरिन्छ । मानवले आफूलाई आफैँले ‘चेतनशील’, ‘विवेकी’ र ‘आदर्श’ प्राणी दाबी पनि गरिरहेको छ ।

स्वाभाविक रूपमै मानिससँग यी ‘तत्वहरूको अपेक्षा पनि गरिन्छ । तर, संसारमा कुनै पनि एउटा यस्तो समाज छैन, जहाँ अपराध छैन । अपराधका विविध रूप छन्-हत्या, हिंसा, चोरी-डकैती, बलात्कार, लागुऔषध तस्करी, मानव तस्करी आदि । यी सबै कार्यहरू मानवबाटै भएका छन् । र, यस्तो अपराधको विश्वभर सञ्जाल बनिसकेको अवस्था छ । विश्वको कुनै पनि कुनामा बसेर अर्को कुनामा वा विश्वभर हत्यादेखि तस्करीसम्मका अपराधमा मानिस सक्रिय छ ।

अझ पछिल्लो समय विकसित सूचना प्रविधि र यातायातको सहजताका कारण यो जालो अत्यन्त तीव्र ढङ्गले फैलिइरहेको छ । एउटा स्थानमा बसेर प्रविधिको माध्यमले अर्को ठाउँमा हिंसा फैलाउने, हत्या गर्ने र तस्करी गर्ने कार्य व्यापक बन्दै गएको अवस्था छ । विभिन्न देशहरूले अपराध नियन्त्रणमा सुरक्षा सञ्जाल बनाएर काम गरिरहेका भए पनि यसलाई नियन्त्रण गर्न त के न्यूनीकरण गर्नसम्म सकिरहेका छैनन् । अर्बौं रुपैयाँ अपराध नियन्त्रणका नाममा खर्च गरेर पनि यसको छेउसम्म नियन्त्रण हुन सकेको पाइँदैन बरु अपराधको क्रम बढ्दो छ ।

अपराध कहिले, कहाँ, कसरी र कसले गर्छ, गर्दै छ भनेर सबै अवस्थामा पूर्वानुमान गर्न सकिँदैन । तर, कतिपय सन्दर्भमा अपराध हुने सङ्केत अवश्य प्राप्त हुन्छ । कतिपय पूर्वनिर्धारित घटनाक्रमहरूले अपराधको जनाउ दिइरहेका हुन्छन् । तर, यस्ता घटनाहरूमा पनि सुरक्षा संयन्त्र र सम्बद्ध सरोकारवाला पक्ष कानमा तेल, आँखामा पट्टी बाँधेर बसिदिन्छन् ।

यसले घटना नियन्त्रण गर्न वा रोक्न सकिने अवस्था हुँदाहुँदै ठूलै जनधनको क्षति हुने गरेको छ । सोमबार साँझ काठमाडौंको गोठाटारमा एक जना व्यवसायीको गोली हानी हत्या गरिएको छ । उक्त घटनाबारे सुरक्षा संयन्त्र धेरथोर जानकार रहेको खबर बाहिरिएको छ । हत्या गरिएका व्यक्तिले सुरक्षा निकायमा आफूमाथि कुनै पनि बेला आक्रमण हुन सक्ने जानकारी नेपाल प्रहरीलाई दिएका बुझिएको छ । उनले जीवन सुरक्षाको अपिल पनि गरेका भनिएको छ ।

यति हुँदाहुँदै पनि सुरक्षा संयन्त्र उनका सवालमा गम्भीर बन्न सकेको पाइएन । उपलब्ध सीसीटीभी फुटेजलाई हेर्दा अत्यन्त सहज किसिमले उनको हत्या भएको देखिन्छ । सामान्य तरिकाले गोली हानिएका उनलाई गाडी वरिपरि घुमाएर पटकपटक गोली प्रहार गरिएको देखिन्छ ।

उनीमाथि घटना हुने सङ्केत सुरक्षा संयन्त्रलाई यदि उनले दिइसकेका थिए भने सुरक्षा निकाय, विशेष नेपाल प्रहरीले किन उनको सुरक्षाबारे चासो राखेन ? अनि, सम्भावित आक्रमणकारीबारे किन खोजबिन गरेन र निगरानी गरेन बेलैदेखि ? उसो त, हत्या गरिएका व्यक्ति स्वयं पनि विगतमा कुनै अपराधमा संलग्न रहेका बुझिएको छ । तर, सजाय पूरा गरेर आफ्नो व्यवसाय गरिरहेका उनीमाथि सुरक्षा दिनु राज्यको जिम्मेवारी पनि हो भन्ने राज्यले बुझ्न जरुरी छ । यस्ता अन्य घटनाहरू भोलिका दिनमा नहोऊन् भन्नेतर्फ राज्य, सुरक्षा संयन्त्र र सरोकारवाला व्यक्ति तथा निकाय आजैदेखि गम्भीर हुन आवश्यक छ

प्रतिक्रिया दिनुहोस्