सिंहदरबारले खोजेको फोटो



  • ललितकुमार यादव

काठमाडौं । नेपाली बृहत् शब्दकोशका अनुसार राजनीति भन्नाले प्रजाको शान्ति, सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्तुलन गर्ने र यस्तै कार्य गर्ने नीति भन्ने बुझिन्छ । अझ सरल भाषामा भन्दा-राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त भन्न सकिन्छ ।

जनता, देश र राजनीतिबीच अन्तरसम्बन्ध रहेको हुन्छ किनकि जनताबेगरको देश र देशबेगरको राजनीतिको परिकल्पनासमेत गर्न सकिँदैन । यस कारण हरेक राजनीतिज्ञ देश र जनताप्रति नैतिकवान्, इमान्दार नरहेसम्म देश र राजनीतिले सही गति र दिशा लिन नसक्नेमा कुनै शङ्का छैन ।

‘राजनीति केका लागि गरेको ? जोगी बन्नलाई हो र !’ नेपाली राजनीतिमा निकै चर्चित भनाइ हो यो । तर, जोगी बन्न राजनीति नगरेको भए पनि सेवा गर्न त हो नि ! जीवनको अन्त्यकालसम्म मन्त्री र प्रधानमन्त्री बन्नलाई मात्र राजनीति गरेको पनि त होइन होला । हामी सबैलाई थाहा छ, राजनीतिमा आएका पात्रहरूले राजनीतिलाई सेवाको रूपमा लिने गरेका छन् कि पेसाका रूपमा अपनाएका छन् ? तिनीहरूले भन्न सेवा भने पनि अधिकांशले राजनीतिलाई सेवा होइन, पेसा नै बनाएका छन् ।

नेपालको राजनीतिमा आएका अधिकांश पात्रले छिटो आर्थिक प्रगति गरेका छन् । अन्य पेसा अपनाएर दिनरात मिहिनेत गर्नेहरूभन्दा उनीहरूकै जीवनशैली उच्च छ । कुनै पेसा छैन, आम्दानीको देखिने कुनै स्रोत छैन, पुख्र्यौली सम्पत्ति पनि त्यति छैन तर काठमाडौंमा आलिसान बङ्गला ठड्याएका छन्, शानदार गाडी चढेका छन् । १०-२० जनालाई अगाडि–पछाडि लगाएर हिँडन सक्ने तागत छ । भड्किलो जीवनशौली छ ।

राजनीतिमा त्यागी, दानी, योगी र ज्ञानी व्यक्ति छँदै छैनन् भन्ने होइन । तर, त्यस्ता व्यक्तिहरू ठाउँमा पुग्नै सकेका छैनन् । उनीहरूको जमात सानो र छरिएर विभिन्न पार्टीमा रहेका कारण राजनीतिमा भए पनि अवसर पाउन सकेका छैनन् । पार्टीले मन्त्री र प्रधानमन्त्री दिने भएकाले उनीहरूले अवसर नै पाउन सकेका छैनन् । पार्टीका नेता, कार्यकर्तालाई आफ्ना झोले बनाउन सकेकाहरू पटकपटक मन्त्री र प्रधानमन्त्री भएका छन् तर कतिपय असल पात्रहरू त्यस्ता अवसरबाट बञ्चित छन् ।

एउटा व्यक्तिले कति पटक अवसर पाएमा आफ्नो क्षमताको प्रदर्शन गर्न सक्छन् ? यो गम्भीर प्रश्न हो नेपाली राजनीतिको । यहाँ पटकपटक अवसर पाएर पनि केही सुधारसमेत गर्न नसकेकाहरू चमत्कार गर्ने आश्वासन बाँडेर पुनः अवसर माग्ने खेती गरिरहेका छन् र उनीहरूको खेती मज्जाले फस्टाएको पनि छ ।

एक जना पात्रले मन्त्री हुँदा सिन्कोसमेत भाँच्न सकेन भने त्यही पात्र प्रधानमन्त्रीका लागि कसरी असल पात्र हुन सक्छ ? एक पटक प्रधानमन्त्री हुँदा जनचाहनाअनुसारको काम गर्न नसकेका पात्र अब प्रधानमन्त्री भएमा चमत्कार नै गर्ला भनेर पत्याउने हामी कस्ता जनता ? ती पात्रहरूको क्षमता र व्यक्तित्वमा कस्तो परिवर्तन आयो र हामी उनीहरूलाई पुनः देशको बागडोर सम्हाल्ने जिम्मा दिन खोज्दै छौँ ? आममतदाताले यी र यस्तै प्रश्नको जबाफ खोजेर आफ्नो मतको सदुपयोग गर्न सक्नुपर्छ । नभए मतदाताले आफ्नो मत दुरूपयोग गरेको भन्दा फरक नपर्ला ।

हाम्रा ठूला भनिएका सबै दलको नेतृत्वले ६० काटिसकेका छन् । उनीहरू सबैले सत्तामा बसेर शासन चलाइसकेका छन् । तर पनि उनीहरूको सत्ताको प्यास मेटिएको छैन । आफ्नो क्षमताले भ्याएसम्मको प्रयास गरिसकेका पात्रहरू किन आफ्नै दलका अरू पात्रलाई अवसर दिन खोज्दैनन् ? के यसको चित्तबुझ्दो जबाफ छ हाम्रा शीर्ष नेताहरूसँग ? पक्कै छैन होला ।

तपाईं पुनः किन प्रधानमन्त्री हुन खोज्नुभएको ? भनेर सोध्दा, कसैलाई ज्योतिषीले यति पटक प्रधानमन्त्री हुने भनेर भनेकाले त कसैलाई आफू कति पटक प्रधानमन्त्री भएँ भनेर रेकर्ड कायम गर्नबाहेकको जबाफ पाउन मुस्किल छ । उमेरले पाका भइसकेका पात्र प्रधामन्त्री हुनै हुँदैन भने पनि होइन ।

उमेरले पाका भए पनि काम गर्न सक्ने क्षमता छ । तिनले आफ्नो क्षमता प्रदर्शन गर्ने कुनै अवसर पाएकै छैनन् । साथै, ती व्यक्ति आफू प्रधानमन्त्री भएमा आफुलाई अब्बल सबित गर्न सक्ने प्रयाप्त आधार छ भने सबैले त्यस्ता व्यक्तिलाई सहयोग पनि गर्नुपर्छ तर अब कुनै हालतमा आफ्नो क्षमताको प्रदर्शन गरिसकेका पुनः मञ्च दिने काम गर्नुहुँदैन ।

नेपालमा बारम्बार सरकार र मन्त्रीहरू फेरिए पनि जनअपेक्षा, चाहना र आवश्यकताअनुसारको काम हुन सकेको छैन । अहिले पनि आधारभूत आवश्यकताको रूपमा रहेको आधारभूत शिक्षा, स्वास्थ्य, सरसफाई, शुद्ध खानेपानी, रोजगारी र सिँचाइ आदिको माग जनताले गरिरहेकै छन् । दलहरूका चुनावी एजेण्डा पनि यिनै हुने गरेका छन् तर जनताको माग पूरा हुन सकेको छैन ।

यही कारणले शासन प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ पछिल्लो समय । हामीले व्यवस्था फे¥यौँ तर पात्र फेरेनौँ । हाम्रो गल्ती यहीँ भयो । व्यवस्था फेर्न यी पात्रहरूको पनि ठुलो योगदान रहेको छ । यी पात्रहरूले व्यवस्था फेरे तर आफ्ना चरित्र फेर्न सकेनन् । यी पात्रहरूले जेको विरुद्धमा सङ्घर्ष गरेका थिए, आफू सत्तामा पुगेपछि त्यही गर्न थाले । व्यवस्था परिवर्तनको अनुभूतिसमेत जनताले गर्न नसक्नुको मूल कारण यही हो ।

पछिल्लो डेढ दशककै समयमा यतिका धेरै सरकारहरू परिवर्तन भए तर कुनै सरकारले आफूलाई लोकप्रिय र अरूभन्दा फरक साबित गर्न सकेनन् । हाम्रो विडम्बना नै सरकार र मन्त्री परिवर्तन हुने तर देश र जनताले सरकार र मन्त्री परिवर्तन भएको अनुभूतिसमेत गर्न नपाउनु रहेको छ ।

पछिल्लो समयको कुरा गर्ने हो भने २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् दुई तिहाइ बहुमतका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली थिए । तर, दुई तिहाइको शक्तिशाली सरकारले पनि केही अविस्मरणीय काम गरेर आफूलाई अब्बल सावित गर्न सकेन, न त आफ्नो अवधि नै पूरा गर्न सक्यो ।

ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वर्तमान सरकारको गठन भयो । उनले पनि अध्यादेशबाट शासन चलाउने ओलीको पथलाई नै पछ्याए । ओलीलाई विस्थापित गरेका देउवाले सरकार परिवर्तन भएको महसुससमेत गराउन सकेनन् जनतालाई ।

देशमा विकास निर्माणको काम करिबकरिब ठप्प छ भने महँगीले नेपालीको भान्सामा चुह्लो नै बल्दैन कि जस्तो अवस्था छ । देश पशुपतिनाथको भरमा चलेको जस्तै चल्दै छ । नेपालले प्रजातान्त्रिक यात्राको सुरुआत गरेको ७ दशकभन्दा बढी, बहुदलीय व्यवस्था आएको ३ दशकभन्दा बढी र लोकतन्त्र आएको डेढ दशकभन्दा बढी भयो । यी व्यवस्थाहरूमा दलहरू अभ्यस्त भएको यतिको समय भइसक्दा पनि दलहरूले आफूलाई नै व्यवस्थित गर्न सकेका छैनन्, न त सत्ता स्वार्थभन्दा माथि नै उठ्न सकेका छन् ।

अहिलेसम्म दलहरूले लोकतन्त्रका आधारहरू कानुनी शासन, बहुमतको शासन र अल्पमतको कदर, प्रतिस्पर्धात्मक चुनाव, वाक् स्वतन्त्रता, समावेशीकरण र सकारात्मक विभेद, पारदर्शिता तथा जबाफदेहिता, मानवअधिकारको सुरक्षा, न्यायिक स्वतन्त्रता, समाजिक न्याय, सुशासनको प्रत्याभूति आदि नै पूर्ण रूपमा पूरा गर्न सकेका छैनन् । अहिले पनि एकातर्फ अदालतले दलहरूलाई विधिको शासनको पाठ पढाउनुपर्ने र अर्कातर्फ अदालत आफैँ विवादमुक्त हुन नसकेको अवस्था कायमै छ ।

नेपाली राजनीतिको विवादको मूल जरो प्रधानमन्त्री तथा मन्त्री को हुने भन्ने र भागबन्डा नै रहेको छ । हरेक राजनीतिक दल समूहमा विभाजित छ । समूहपिच्छे फरक स्वार्थ छन् । सत्तामा पुग्न र पार्टीबाट आफ्नो पक्षमा निर्णय गराउन शीर्ष भनिएका नेताहरूले नै समूहको नेतृत्व गर्ने गरेका छन् । देश र जनताभन्दा पार्टीको, पार्टीभन्दा गुटको र गुटभन्दा आफ्नै चिन्ता गर्ने प्रवृत्ति राजनीतिक नेतृत्वमा छ ।

कुनै राजनीतिक दलमा नेतृत्वले गरेको गल्तीलाई गल्ती भन्न सक्ने अवस्था छैन । कोही कसैले पार्टी नेतृत्वलाई सचेत गराउने हिम्मतसमेत गरेमा ती व्यक्ति राजनीतिबाट विस्थापित हुनुपर्छ कि पार्टीको महत्वपुर्ण जिम्मेवारीबाट बञ्चित हुनुपर्छ । नेतृत्वले दलहरूमा यसरी कब्जा जमाएर बसेका छन् कि नेतृत्वको निर्णयलाई चुपचाप नमानी सुखै छैन ।

दलहरूको नेतृत्वमा यस्ता प्रवृत्ति कायम रहेसम्म सही ठाउँमा सही व्यक्ति पुग्नै सक्दैनन् । सही ठाउँमा सही व्यक्ति नपुगी देश र जनताको पक्षमा काम हुनै सक्दैन । पटकपटक सत्ता परिवर्तन भए पनि देशको अवस्थामा कुनै परिवर्तन आउनेछैन ।
नयाँ संविधानअनुसार निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरूको ५ वर्षे कार्यकाल बडो उत्तारचढावपूर्ण कार्यकालको रूपमा भर्खरै सकिएको छ । कानुन बनाउन जनताबाट निर्वाचित प्रतिनिधिहरू कतिपय महत्वपुर्ण कानुनहरूको कुनै टुङ्गो नलगाईकनै बिदा भएका छन् ।

प्रतिनिधिसभाको पछिल्लो कार्यकालकै कुरा गर्दा ७५ वटा विधेयक सभाबाट पारित भए भने ४९ वटा अध्यादेश ल्याएर सरकारले आफ्नो तजबिजमा शासन चलाए । २ पटक विघटन र ९ महिना अवरोधको सामना गरेको प्रतिनिधिसभा २७ वटा विधेयक निष्क्रिय पारेर बिदा भयो । संविधानअनुसारका अन्य कानुन बनाउन प्रतिनिधिसभाको यो कार्यकाल निकै महŒवपूर्ण थियो तर प्रभावकारी हुन सकेन ।

आममतदाताले अघिल्लो प्रतिनिधिसभाको जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकै व्यवस्थापिका चाहेका छन् भने केही छैन, नभए आममतदाताले आफ्ना प्रतिनिधिको विकल्प खोज्नुपर्ने हुन्छ । उमेरले पनि आराम गर्न भनेकाहरूलाई प्रधानमन्त्री बनाउने गरी कहिलेसम्म आफ्ना प्रतिनिधिहरू छानिरहने । राजनीतिक दलहरूलाई प्रधानमन्त्रीमा नयाँ र सक्षम व्यक्तिलाई अगाडि सार्न आममतदाताले बाध्य पार्न सक्नुपर्छ । सक्षम प्रधानमन्त्री र मन्त्री दिन नसक्ने व्यक्तिलाई आफ्नो प्रतिनिधि छानेर कुनै काम छैन ।

यसै वर्ष भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित केही जनप्रतिनिधिहरूले आमजनताको वाहवाही पाउन सफल भएका छन् । उनीहरूले जनताको वाहवाही पाउन आफ्नो जिम्मेवारी पूरा गरिदिए पुगेको छ । नेपालका लागि यस्तै बिनाभेदभाव, कसैको डर त्रास र कुनै लोभ लालचबिना आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने जनप्रतिनिधिहरूको आवश्यकता छ । यस्ता व्यक्तिहरूबीच ध्रुवीकरण हुन त्यति नै आवश्यक छ ।

व्यक्ति असल छ तर पार्टी नेतृत्वको दास छ भने काम लाग्दैन किनकि तिनले प्रधानमन्त्री बनाउने भनेको तिनै पूर्वपरीक्षित पात्रलाई नै हो, जसले शासन सत्ता हातमा लिन र चलाउन पनि जानेका छन् तर देश र जनताको पक्षमा नयाँनयाँ काम गर्न जान्दैनन्, चाहँदैनन् ।

अब सिंहदरबारमा झुण्डिने फोटो नयाँ होस् भनेर सिंहदरबारले पनि खोजेको छ । आमजनता जस्तै सिंहदरबार पनि पुराना फोटोहरूबाट वाक्क र दिक्क भइसकेको छ । सिंहदरबारको कुर्सीले पनि नयाँ व्यक्तिलाई आसन दिन चाहेको छ ।

सिंहदरबारले खोजेको फोटो दिन आममतदाता सँगसँगै राजनीतिक दलका दोस्रो तहका भनिएका नेताहरू पनि अगाडि सर्नुपर्छ । प्रधानमन्त्री हुने क्षमता भएका व्यक्तिहरू अब पनि पालो कुर्दै बस्नुहुँदैन । उनीहरूले नेतृत्वका लागि पार्टीमा हस्तक्षेप गर्न सक्नुपर्छ । शीर्ष नेताहरू नेतृत्व हस्तान्तरण गर्न तयार नभए विद्रोह गर्नसमेत तयार हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्