लमजुङमा १ हजार ४१ उम्मेदवारमध्ये ६३ जनाले मात्र बुझाए निर्वाचन खर्च



लमजुङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उमेदवार भई कानून बमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विबरण नबुझाउने उमेदवारलाई निर्वाचन आयोगले कारवाही गर्ने निर्णय गरेको छ ।

आयोगले गत भदौ ३१ गते उक्त निर्णय गर्दै निर्वाचन खर्च नबुझाउने उमेदवारहरुलाई निर्णय भएको मितिबाट ६ बर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम जरिवाना बापतको रकम सरकारी वाँकी सरह असुल उपर गर्न केन्द्रिय तहसिल कार्यालयमा पठाउने निर्णय गरेको छ ।

लमजुङ जिल्लाका कूल १ हजार ४१ उमेदवार मध्ये जम्मा ६३ जनाले समयमै निर्वाचन खर्च विबरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी तोकिएको समय भन्दा ढिलो गरी बुझाउने ३९ जना रहेका छन् भने ९ सय ३९ जनाले निर्वाचन खर्च विबरण बुझाएका छैनन् । ढिलो वा विलम्ब गरि बुझाउने उमेदवारले समेत जरिवाना तिर्नुपर्ने निर्वाचन कार्यालयद्वारा प्रकाशित विबरणमा उल्लेख छ ।

लमजुङ जिल्लाका ८ बटा पालिकाबाट निर्वाचित प्रमुख र उपप्रमुख मध्ये सुन्दरबजार नगरपाािलकाका प्रमुख र क्व्होंलासोथार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मात्र समयमै निर्वाचन खर्च विबरण बुझाएका छन् । विबरण अनुसार क्व्होंलासोथारका ९६ जना उमेदवार मध्ये ३३ जनाले समयभित्र निर्वाचन खर्च विबरण बुझाएका छन् भने विलम्ब गरी बुझाउने ६ जना र नबुझाउने ५७ जना रहेका छन् । यसैगरी दूधपोखरी गाउँपालिकामा रहेका ७४ जना उमेदवार मध्ये २ जनाले विलम्ब गरी बुझाएको र बाँकीले नबुझाएको विबरणमा उल्लेख छ । त्यस्तै दोर्दी गाउँपालिकामा निर्वाचत मध्ये कुनै पनि उमेदवारले समयमा नबुझाएको उल्लेख छ ।

पराजित उमेदवारले पनि निर्वाचन खर्च बुझाउनुपर्ने प्रावधान छ । दोर्दीमा १ सय ३५ जना उमेदवार संख्या मध्ये १३ जनाले समयभित्र र ९ जनाले विलम्ब गरी बुझाएका छन् । वेसीशहर नगरपालिकामा निर्वाचित मध्ये कसैले पनि समयमा नबुझाएको रेकर्डमा देखिन्छ भने पराजितबाट ७ जनाले समयभित्र र १२ जनाले विलम्ब गरी बुझाएका छन् ।

वेसीशहरमा १ सय ६५ जना उमेदवारको संख्या रहेको थियो । त्यस्तै मध्यनेपाल नगरपालिकामा १ सय ५० जना उमेदवार मध्ये २ जना वडा अध्यक्ष र ४ जना वडा सदस्यका उमेदवारले मात्र समयमा बुझाएका छन् भने ६ जनाले विलम्ब गरी बुझाएका छन् । ९८ जना उमेदवार संख्या रहेको मस्र्याङ्दी गाउँपालिकाबाट कुनै पनि उमेदवारले समयमा बुझाएका छैनन् । त्यहाँका १ जना उमेदवारले विलम्ब गरी बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी १ सय ५६ जना उमेदवार रहेको राईनास नगरपालिकाबाट २ जना वडा सदस्यले मात्र समयमा निर्वाचन खर्च विबरण बुझाएका छन् । विलम्ब गरी २ जनाले बुझाएका छन् । सुन्दरबजार नगरपालिकाबाट प्रमुख सहित २ जनाले मात्र समयमा बुझाएका छन् भने १ जनाले विलम्ब गरी बुझाएको विवरणमा उल्लेख छ । सुन्दरबजारमा कूल १ सय ६७ जना उमेदवार रहेका थिए ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा १ बमोजिम निर्वाचन खर्च विबरण समयमा नबुझाउने उमेदवारहरु मध्ये नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उमेदवारलाई ४ लाख ५० हजार र वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उमेदवारलाई २ लाख रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

यसैगरी गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उमेदवारलाई जनही ३ लाख ५० हजार रुपैयाँ र वडा अध्यक्ष लगायत अन्य सदस्यहरुका लागि १ लाख ५० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्