दसैँलाई ६० हजार खसीबोका



काठमाडौं । नजिकिँदै गरेको दसैँलाई ६० हजार खसीबोकाको माग रहेको अनुमान गरिएको छ। काठमाडौं उपत्यकाका लागि मात्र ६० हजार खसीबोकाको माग रहेको पशु सेवा विभागको अनुमान छ।

विभागका अनुसार गत वर्षको दसैँमा काठमाडौं उपत्यकामा ३८ हजार खसीबोका खपत भएका थिए। गत वर्ष महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण दसैँ खुलेर नमनाएको हुँदा उपत्यकामा ३८ हजार मात्र खसीबोका खपत भएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए।

यस पटकको अवस्था सामान्य नै रहेको हुँदा यो दसैँमा काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान विभागले गरेको प्रवक्ता डा. चन्द्र ढकालले बताए। खसीबोका खरिद बिक्री गर्ने व्यवसायी, खसीबोका उत्पादक कृषक, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालगायतका सरोकारवालासँगको छलफलमा यो दसैँलाई ६० हजार खसीबोका खपत हुन सक्ने अनुमान गरेको प्रवक्ता डा. ढकालको भनाइ छ।

गत वर्षको कोरोना भाइरस सङ्क्रमणको अवस्था हुँदा ३८ हजार खसीबोका खपत भए पनि यस पटक ६० हजार खसीबोका खपत हुने अनुमान गरेको उनले बताए। दसैँका लागि स्वदेशी उत्पादन नै पर्याप्त भएको उनले बताए। उनले भने, ‘विगतका दसैँलाई खसीबोका आयात गर्नुपर्ने अवस्था छैन । स्वदेशकै उत्पादन पर्याप्त छ।’

पछिल्लो समय कृषकहरूले व्यावसायिक रूपमा खसीबोकाको उत्पादन गर्न थालेपछि स्थानीय मागलाई धान्न पर्याप्त खसीबोका भएको उनले बताए। स्वदेशी उत्पादन पर्याप्त हुँदा पनि व्यवसायीले भारतबाट स्वस्थ खसीबोका ल्याउँछन् भने रोक लगाउन नसक्ने उनको भनाइ छ। स्वदेशमै पर्याप्त हुँदा वर्षमा करिब १० प्रतिशत मात्र भारतबाट आयात हुने गरेको उनले बताए।

राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका प्रमुख डा. माधवप्रसाद अर्यालका अनुसार ६० हजार खसीबोका काठमाडौं उपत्यमा भित्रिनेमा ४० हजार व्यवसायीले ल्याउनेछन् भने ३ हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले र अन्य बाँकी १७ हजार नजिकैको कृषकहरूले ल्याउने अनुमान छ।

दसैँलाई स्वदेशमै उत्पादन भएको खसीबोका काठमाडौंको बजारमा आउने उनको भनाइ छ । भारतबाट आयात गर्नुपर्ने अवस्था पछिल्लो समय नरहेको उनले बताए। नेपालमा वार्षिक ६ लाख ५८ हजार खसीबोका उत्पादन हुन्छन्। जसमध्ये कृषकले दसैँ लक्षित देशभरका लागि ३ लाख २९ हजार खसीबोका उत्पादन गर्छन् । त्यसमध्ये पनि ८२ हजार खसीबोका काठमाडौं उपत्यकाको मात्र भनेर कृषकले लक्षित गरेका हुन्छ।

नेपालको खसीबोका उत्पादन र खपतको हिसाब गर्दा बाहिरबाट आयात गर्नुपर्ने कुनै अवस्था रहेको डा. अर्यालको भनाइ छ। दसैँका लागि काठमाडौं उपत्यकाको माग करिब ६० हजार छ उत्पादन ८२ हजार छ भने अभाव हुने अवस्था नै नरहने उनको भनाइ छ। तर, बजारको व्यवस्थापनको समस्या नहुँदा कृषकले उत्पादन गरेका खसीबोका काठमाडौंसम्म पु¥याउन व्यवसायीलाई केही असहज भने देखिएको उनले बताए।

काठमाडौं चौपाय खरिद बिक्री व्यवसायी सङ्घका अध्यक्ष जनकराज खड्काले नजिकिँदै गरेको दसैँलाई व्यवसायीले करिब २६ हजार खसीबोका कलङ्की बजारमा ल्याउने तयारी गरेको बताए। च्याङ्ग्रा भने १ हजार २०० भन्दा बढी नआउने सम्भावना रहेको उनले जानकारी दिए।

च्याङ्ग्राको मूल्य धेरै महँगो भएको हुँदा व्यवसायीले यो दसैँमा थोरै सङ्ख्यामा मात्र च्याङ्ग्रा काठमाडौं ल्याउन लागेको उनले बताए । ८० प्रतिशत खसीबोका स्थानीय उत्पादन नै हुने करिब २० प्रतिशत भारतीबाट आउन सक्ने खड्कले जानकारी दिए। उनले गत वर्षको दसैँमा कलङ्कीको खसीबोका बजारमा व्यवसायीले ३० हजार खसीबोका भित्र्याइएको बताए।

यस पटक महानगरपालिकाले बजार भत्काउने भनेपछि व्यवसायीले राख्ने समस्या हुन्छ भन्ने डरले कमै खसीबोका ल्याउने योजना गरेको बताए ।
अध्यक्ष खड्काले खसीबोकाको मूल्य भने यथावत् रहेको बताए।

गत वर्षका जिउँदो खसीबोका प्रतिकिलो ६५० रुपैयाँ थियो । यस पटक जिउँदो खसीबोका मूल्य प्रतिकिलो ६५० देखि ७०० रुपैयाँ हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्