
सर्लाही । सर्लाहीमा २ जना पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका अनलाइन पानाका २ जना पत्रकारमाथि कुटपिट भएको हो ।
नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापाका सहोदर भाइ रामकुमार थापासहितको टिमले निर्घात रुपमा कुटपिट गरेको बताइएको छ । । मेयरका भाइ थापासहितले पत्रकारद्वय अधिकारी र भट्टमाथि हेलमेटले कुटपिटसमेत गरेका थिए ।
यसअघि अनलाइनपानाले नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो ।
मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि आफूहरू नगरपालिकामा पुगेका बेला आक्रमण भएको पीडित पत्रकार अधिकारीले बताए । तर, मेयर थापाकै संलग्नतामा आफूहरूमाथि कुटपिट भएको पीडित पत्रकारको आशंका छ ।
अनलाइनपानाले यसअघि भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानुनविपरीत, बागमतीका मेयर थापासहित १५ जनाविरुद्ध हत्या आरोप, कहाँ पुग्यो अनुसन्धान रु र बागमती नगरको अवैध धन्दा सागरनाथ वनको जग्गामा मेयरको रजाइँ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।
यसअघि पनि मेयर थापाका भाइ रामकुमारले पत्रकारद्वयलाई पटक-पटक ज्यान मार्ने धम्की दिएका थिए। यसै विषयको समाचार लेखेको हिमाल पोस्टका सम्पादक मोती खानाललाईसमेत ज्यान मार्ने धम्की दिएका थिए । मेयर थापामाथि विप्लव नेकपाका कुमार पौडेल हत्यामा सुराकी गरेको आरोप लागेको छ ।