फैलिँदै डेंगीको संक्रमण, लुम्बिनीमा ३ जनाको मृत्यु



बुटवल । डेंगीको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगीको संक्रमण भने बढिरहेको छ । डेंगीको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र ३ जनाको मृत्यु भइसकेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगीको संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ भने सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एकरएक जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगी संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिलाको पनि डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगी संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।

प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा अहिलेसम्म २ हजार ६८३ जनामा डेंगीको संक्रमण भएको जानकारी दिए । भदौमा एक्कासि संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगी संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ । गत साउन मसान्तसम्म करिब ४०० जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।

तर, लुम्बिनी प्रदेश सरकारले डेंगी नियन्त्रणका लागि भने अहिलेसम्म कुनै पनि बजेट बिनियोजन गरेको छैन । निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्टयाएकोमा अहिलेसम्म सोही बजेटबाट काम चलाइरहेको बताए ।

रूपन्देहीमा पहिलोपटक २०६७र६८ मा २९० जनामा देखिएको डेंगीको संक्रमण २०७६र७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो । तर, यसवर्ष भने डेंगी रोकथाम अभियान शुन्य भएपछि डेंगी संक्रमण महामारीको रूपमा फैलिरहेको छ ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्