आगामी निर्वाचनमा हिंसात्मक गतिविधि बढी हुन्छन् : सिपी गजुरेल



काठमाडौं । विभिन्न ४ कम्युनिष्ट दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरूमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन् ।

उनीहरूले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नागरिकता विधेयकको विरोध गर्नेहरूले नागरिकले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताएका छन् ।

उनले मधेसमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेसमा नागरिकता पाउने खास जाती र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गरेका छन् ।

उनले भूमिहीन सुकुम्बासीका घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने माग राखेका छन् । उनले नागरिकता वितरण गर्ने काम सबैभन्दा धेरै मधेसमा हुनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकताको विषयलाई सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले राजनीति गरेको बताए ।

गजुरेलले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुविकरणको सम्भावना रहेको बताएका छन् । उनले यस वर्षको चुनावमा हिंसात्मक गतिविधि बढी हुने स्थिति रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्