वृद्धको सहारा रामजानकी कुटी



  • विशाल बस्नेत

महोत्तरी । सत्यनारायणलाल कर्ण उमेरले ७० वर्ष पुगे । उनका १ छोरी र २ छोरा छन् । २०४७ सालतिर छोरी नीलमदेवीलाई कर्णले भारतमा विवाह गरिदिए । विवाह गर्दा लागेको ऋण र दाइजोमा भएको जग्गा जमिन दिएपछि कर्ण पूर्ण रूपमा घरवारविहीन बने।

कान्छा छोरा सन्तोष कर्ण भारतमा गएका थिए तर अहिलेसम्म उनी फर्किएका छैनन्। घरबाट हिँडेको २२ वर्ष भयो। जेठा छोरा सञ्जयलाल कर्ण उनीसँगै थिए तर श्रीमतीसमेत बितिसकेपछि विस्तारै कर्ण तिरष्कृत हुँदै गए। अहिले छोरा सिन्धुलीको एउटा निजी विद्यालयमा पढाउँछन्। परिवार उतै राखेर छोराछोरीको पठनपाठनसमेत उतै गराउँदै आएका छन्।

सत्यनारायण छोरा–बुहारीबाट वास्तै हुन छाडे । उनले एक्लो महसुस गर्दै गए र रामजानकी कुटी कर्णको सबथोक बनेको छ। साहाराविहीन भएको अवस्थामा औरही– २ मा रहेको कुटी कर्णका लागि पूर्ण सहारा बनेको छ । सत्यनारायणका लागि मात्र होइन, वृद्ध उमेरका औरही नगरपालिकाभित्र बस्ने जोकोहीका लागि रामजानकी कुटी सहारा बन्दै गएको छ ।

‘कहिलेकाहीँ सत्यनारायण जस्तै अन्य वृद्धहरू पनि घरमा झगडा भएपछि मन बहलाउन यतै आउँछन्’, कुटीका संरक्षक तथा महन्थ शम्भु दासले भने । कुटीमा भोजनका लागि नगर वा स्थानीय सरकारको कुनै सहयोग छैन। पारिवारिक बेमेल सिर्जना भएर कुटीमा सहारा खोजिरहेका केही वृद्धहरूको नै सहयोग रामजानकी कुटीको दौलत हो अनि यही दौलत सहाराविहीनहरूको सहारा बन्दै छ।

मन्दिरको पूर्वतर्फ फराकिलो जग्गामा फैलिएको पोखरी छ, जसको सौन्दर्यकरणको जिम्मेवारी नगरपालिकाले लिएको छ। तर, यो पोखरी रामजानकीको भने होइन। नगरपालिकाको स्वामित्वमा रहेको यस पोखरीको रेखदेख नगरबाट हुन्छ तर रामजानकी कुटी त्यतिकै बेवारिसे बनेको छ।

कुटीभित्र राम, जानकी, हनुमान, माहादेवको समेत मूर्ति छ। स्थानीयहरू बिहानै दर्शन गर्न जान्छन्, पूजापाठ गर्छन्, कतिपय दर्शन गरेर फर्कन्छन् भने कतिपय भोजन पनि उतै गरेर फर्कन्छन्। औरही नगरपालिकाका लागि रामजानकी कुटीको इतिहास निकै लामो छ। पहिले यो कुटी यही ठाउँको उत्तरतर्फ थियो । पछि ऐलानी जग्गामा यो कुटी निर्माण गरिएको कुटी तथा मन्दिरका महन्थ दासको भनाइ छ।

महन्थ दास यस कुटीका आफैँमा इतिहास हुन् । आजीवन ब्रह्मचारी बन्ने घोषणा गरेका दासले नै यो कुटीलाई हुर्काउँदै र फैलाउँदै ल्याएका हुन्।कुटीको नाममा ३ दशक अगाडि गाउँकै जमिन्दारले दिएको ९ कठ्ठा ५ धुर जग्गा छ तर गाउँकै सुशील यादवले उक्त जग्गा भोगचलन गर्दै आएका छन्।

महन्थ दासका अनुसार यादवले त्यस जग्गामा अहिले मोहियानी हक लगाएका छन्। कुटीको नाममा रहेको उक्त जग्गाको आधा अंशियार बनेर हत्याउन खोजिरहेको महन्थ दासको आरोप छ।

कुटी संरक्षक समितिले सुशील यादवविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दासमेत हालेका छन्। महन्थ दास आफैँ पटकपटक अदालतको ढोका ढकढक्याउन पुगेका छन् तर अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ।

महोत्तरीका उत्तरवर्ती क्षेत्रमा रहेका बर्दिबास, गौशाला जस्ता पालिकाका स्थानीय जलेश्वरसम्म पुग्न यही बाटो प्रयोग गर्छन्। अहिले आवतजावत गर्ने सडक पक्की बनेपछि जिल्लाका उत्तरी क्षेत्रका बासिन्दालाई यो सडक नै सबैभन्दा उपयोगी बनेको छ। त्यसैले यही सडक भएर आवतजावत गर्ने मानिसहरूका लागि यो कुटी थकाइ मार्ने चौतारोसमेत बनेको छ।

धेरै बिघा जग्गामा फैलिएको छेउमै रहेको पोखरीले कुटीको सौन्दर्यलाई थप शोभा प्रदान गरेको छ। पोखरीमा स्थानीय सरकारले डुङ्गा तथा मनोरञ्जनको व्यवस्था गरे यो कुटी पर्यटकका लागि आकर्षणसमेत बन्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्