अग्रिम बुकिङमा ट्रान्जिटको टिकट काट्न बाध्य



  • रमेश पौडेल

काठमाडौं । दसैँमा उपत्यका बाहिर जाने यात्रुको सहजता लागि अग्रिम टिकट खुला भएको ६ दिन भयो। १ असोजदेखि खुलेको टिकट बिहीबारसम्म आइपुग्दा यात्रुले टिकट पाउन छाडेका छन् । दाङ जाने यात्रुले अहिले नेपालगन्जसम्मको मात्र टिकट पाउन थालेका छन्।

दाङ घर भएका विमल दर्जी बिहीबार गोङ्गबु बसपार्कमा १२ गतेका लागि टिकट काट्न आएका थिए। तर उनले दाङ जाने नपाएर नेपालगन्जसम्मको टिकट काटेर फर्केको बताए।

‘बिहान ७ बजेदेखि आएर बसेको १२ बजेदेखि मात्र बुकिङ खुला हुने रहेछ, घर जानुपर्ने दाङको सबै टिकट बुुक भइसकेछ’, उनले भने, ‘नेपालगन्जसम्मको टिकट काटेर फर्कें।’ दर्जीलाई नेपालटपले अब कसरी घर जानुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘नेपालगन्ज पुगरे अर्को गाडीमा घरसम्म जान्छु, नभए अर्को उपाय त केही छैन।’

त्यस्तै समस्या भोजपुर जाने किरण विष्टको पनि छ। उनी पनि भोजपुरसम्मको टिकट काट्न बसपार्क आएका थिए। तर सबै टिकट बुक भइसकेका कारण इटहरीसम्मको मात्र टिकट काट्नु परेको उनी गुनासो गर्छन्।

‘अब इटहरीसम्म जान्छु अनि त्यहाँ १ रात बसेर भोजपुरका लागि जान्छु’, उनी भन्छन्, ‘तर दसैँका बेला इटहरीबाट पनि गाडी पाइने हो वा होइन त्यो टुङ्गो छैन।’ धेरै ठाउँको टिकट सकिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर स्वीकार गर्छन्। ‘यो समयमा यातायात व्यवसायीले म्यानेज गरेर यात्रुलाई घरसम्म पुर्‍याउने हो, ट्रान्जिट गरेर लग्नु पनि म्यानेज नै हो’, उनी भन्छन्।

दसैँका बेला सबै यात्रुलाई गाडी उपलब्ध नहुने हुनाले पनि ट्रान्जिटको बाटो रोज्नुपरेको अध्यक्ष स्वाँरको भनाइ छ। विशेष गरी दुर्गम ठाउँमा कम मात्र गाडी हुने तर दसैँका बेलामा यात्रु बढी हुने हुनाले व्यवसायीले ट्रान्जिटको बाटो रोज्नुपरेको स्वाँरको भनाइ छ।

पहाडी जिल्लाको अग्रिम टिकट सकिएको बसपार्कको सम्पूर्ण व्यवस्थापन हेरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महानिर्देशक सुनिल कुँवर पनि स्वीकार गर्छन्। पहाडी जिल्लामा १ रुटको मात्र गाडी चल्ने भएकाले त्यस्तो समस्या आएको कुँवरको भनाइ छ।

‘तराईका जिल्लामा जाने यात्रुले ट्रान्जिट गराएर जानुपरेको छैन’, उनी भन्छन्, ‘पहाडका जिल्लामा भने ट्रान्जिट भएर जानुपर्ने बाध्यता आएको छ।’
यात्रुलाई गन्तव्यसम्म पु¥याउनका लागि भए पनि ट्रान्जिट गराउन बाध्य भएको कुँवरको भनाइ छ।

बिचौलियाको बिगबिगी

अहिले टिकट काउन्टरनजिक पुग्ने जोकोहीलाई पनि बिचौलियाले हैरान पार्ने गरेका छन्। कहाँ जाने हो ? म राम्रो सिट मिलाइदिन्छु । सस्तोमा टिकट मिलाइदिने भन्दै गरेको देखिन्छ। बिहीबार गोङ्गबु बसपार्कमा पनि त्यही दृश्य देखियो। द नेपालटपको टोली पुग्दा त्यहाँ एकछिन तानातानको माहोल नै बन्यो। पछि ‘हामी समाचार सङ्कलनका लागि आएका हौँ’ भनेपछि उनीहरू आफ्नो बाटो लागे।

तर यातायात व्यवसायी भने बसपार्कभित्र बिचौलिया नभएको दाबी गर्छन्। महासङ्घका अध्यक्ष स्वाँर भन्छन्, ‘बसपार्कभित्र देखिने बिचौलिया होइनन्, उनीहरू गाडीका कर्मचारीहरू हुन्, उनीहरूले बस काउन्टर देखाउने काम मात्र गरेका छन्।’

तर बस पार्कबाट बाहिर भने बिचौलिया भएको अध्यक्ष आफैँ स्वीकार गर्छन्। त्यसका लागि सिभिलमा प्रहरीहरू पनि खटाइएको उनको भनाइ छ।
यात्रुलाई त्यसरी दुःख दिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महानिर्देशक सुनिल कुँवर पनि स्वीकार गर्छन्। त्यसलाई रोक्न नसकिएको कुँवरको भनाइ छ।

उनी भन्छन्, ‘त्यसरी यात्रु बोलाउने प्रायः गाडीका सहचालक हुन्, हामीले उनीहरूलाई पनि नियन्त्रण गर्न खोजेका छौँ तर सकिरहेका छैनौँ।’ बसपार्कभित्र टिकटमा भने त्यरी बिचौलियाले कमिसन नखाएको कुँवरको दाबी छ। उनी भन्छन्, ‘आज भोलि जाने गाडीमा त्यसरी यात्रु बोलाएको हुन सक्छ तर उनीहरूले बसको टिकटमा कमिसन खान पाएका छैनन्।’

४२ हजारभन्दा बढी अग्रिम बुकिङ

बिहीबारसम्म ४२ हजार हाराहारी यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दैनिक १५ वटा काउन्टरबाट ८ हजार हाराहारी यात्रुले टिकट काटिरहेको कुँवर बताउँछन्। महानिर्देशक कुँवरका अनुसार विगतका वर्षमा अग्रिम बुकिङ खुलेको ६–७ दिनमा ३५ हजार यात्रुले बुकिङ गर्ने गरेका थिए । यो वर्ष पनि त्यही रेसियोमा बुकिङ भएको हो ।

सुरक्षा व्यवस्था चुस्त

अहिले दसैँतिहारका लागि सुरक्षा व्यवस्था चुस्त गरिएको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसरका एसपी दिनेश थपलियाका अनुसार व्यापक मात्रामा सिभिल सुरक्षाकर्मी खटिएका छन्।

थपलियाका अनुसार दसैँतिहारका लागि भनेर थप १५ जना प्रहरी पनि खटाइएको बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म चोरी लुटपाट जस्ता घटनाहरू घटेका छैनन्, आगामी दिनमा पनि त्यस्ता घटना हुन नदिन हामीले सक्दो सुरक्षा व्यवस्था मिलाएका छौँ।’

प्रतिक्रिया दिनुहोस्