चाडबाडका मुखमा दुर्घटना



काठमाडौं । हुनत दुर्घटना भवितव्य हो । भवितव्यको कुनै निश्चितता हुँदैन । कारण भने हुन्छन्। बाढी–पहिरो, भूकम्प, सुनामी, खडेरी, हुरी–हुण्डरीको पूर्वआँकलन गर्न सकिँदैन सामान्य अवस्थामा। तर, कतिपय अवस्थामा भने यिनको पूर्वआँकलनसहित सजगताका पर्याप्त उपायहरू अपनाउन सकिन्छ।

यस्तै, सवारी दुर्घटनाको पूर्वअनुमान सबै अवस्थामा गर्न सकिँदैन तर केही अवस्था यस्ता हुन्छन्, जसको पूर्वअनुमान सजिलै गर्न सकिन्छ र त्यसबाट बच्न/बचाउन सकिन्छ। हरेक वर्ष वर्षाको समयमा बाढी–पहिरोको मारमा पर्ने, हुरी–हुण्डरीको कहर खेप्ने अवस्था विद्यमान छ।

पूर्वानुमान नगरिएका क्षेत्रमा यस्ता विपद् हुनु अन्यथा होइन तर पहिल्यैदेखि जहाँ बाढी–पहिरोको जोखिम छ भन्ने प्रस्ट थाहा छ, जहाँ मानिसको बसोबास उपयुक्त छैन भन्ने थाहा छ, ती स्थानमा समेत मानिसले अतिक्रमण गरेर आफैँले आफ्नो विनाश निम्त्याइरहेका पनि छन्।

यस्ता स्थानमा बस्ती बस्न नदिने प्रावधान राखी कडाइका साथ त्यसलाई कार्यान्वयन गरिनुपर्ने देखिन्छ। यसो भएमा जनधनको क्षति कम हुन सक्छ।
यस्तै अवस्था हुन्छ सवारी दुर्घटनामा पनि । नेपालको भौगोलिक अवस्थाका कारण विकट बाटो प्रशस्त छन् ।

सुरक्षित सडकको अभाव अद्यापि छ । तर, यसो भन्दैमा दुर्घटनाको सबै दोष बाटोलाई मात्र दिन सकिँदैन । यात्रुहरूमा सडकको अवस्था जाँच गर्ने क्षमता, आफू चढ्ने सवारी साधनको अवस्था बुझ्ने तथा सवारी चालकको दक्षता अनि उसको मादक पदार्थ वा नशा सेवनको अवस्था जाँच गर्ने यात्रु, सम्बन्धित सरोकारवाला सुरक्षा निकाय र सडक विभागको सक्रियता पनि यसमा जिम्मेवार पक्ष हुन् ।

हाम्रा ठूला चाडपर्व दसैँ–तिहारको समयमा अत्यधिक सवारी दुर्घटना हुने गरेका छन्। एकातिर कच्ची र अव्यवस्थित सडक त्यसमाथि मर्मत सम्भार नगरिएका र जोखिमपूर्ण । यसका कारण दुर्घटनाको जोखिम त्यसै बढ्ने नै भयो। अर्कातर्फ माथि भनिएका निकायहरूको र स्वयं यात्रुको सडक र सवारी साधन अनि सवारी चालकप्रतिको बेवास्ताका कारण हरेक पटक यस्ता खुर्घटना बढ्दो क्रममा छन्।

सडक साँघुरा र मर्मत सम्भार नभएका छन् भन्ने हरेक दिन हिँड्ने यात्रु, सवारी चालक र सडक विभागलाई पक्कै थाहा हुनुपर्छ/हुन्छ । तर, समयमै त्यस्ता सडकको मर्मत सम्भार नहुँदा अनाहकमा ठूलो धनजनको क्षति हुँदै आएको छ। अर्कातर्फ ट्राफिक प्रहरीको सक्रियता यस समयमा झनै बढ्नुपर्ने हो । तर, प्रहरी शहर केन्द्रित छ, पहाडमा वा विकट स्थानमा उसको उपस्थिति शून्यप्रायः छ ।

यसलाई अझ प्रभावकारी बनाउन आवश्यक देखिन्छ। सँगसँगै सयौँको जीवन बोकेर हिँडेका सवारी चालकहरूले बढीभन्दा बढी सम्वेदनशील भई होसियारीसाथ मापसे नगरी सवारी चलाउन जरुरी छ, यसका लागि यात्रुहरूले पनि उनीहरूलाई सजग गराउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्