कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च



सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झन्डै रु ५० करोड खर्च गरेको छ। सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पुँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ।

चालुतर्फको बजेट प्रदेशसभा सदस्यहरूको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधोपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयका कर्मचारीको तलब भत्तामा खर्च गरिएको छ। सवारीसाधन खरिद, मर्मत, भौतिक संरचना निर्माणलगायतका शीर्षकमा पुँजीगत खर्च गरिएको छ।

सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले यस अवधिमा प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटभन्दा कम खर्च भएको बताए। प्रदेशसभाले रु २३ लाख ३० हजार छ सय १० राजस्व आम्दानी गरेको छ। मुख्यमन्त्रीसहित सात मन्त्रीको सेवा सुविधा भने प्रदेशसभा सचिवालयले उपलब्ध गराउँदैन।

सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभा कारबाही, पद त्यागलगायतका कारण ३४ सदस्यीयमा सीमित हुन पुगेको थियो। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीको निर्वाचन कार्यक्रम सुरु भएसँगै प्रदेशसभाको कार्यकाल पनि यही असोज १ गतेदेखि समाप्त भएको हो।

प्रतिक्रिया दिनुहोस्