चुनावको मुखमा २५ करोडको ‘समाजवादी कार्यक्रम’



  • सुमन दाहाल

हेटौँडा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब २ महिना पनि बाँकी छैन अर्थात् आजको ५७औँ दिनमा देशले २०७२ सालको संविधान निर्माणपछि दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पाउँदै छ। पहिलो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल १ असोज २०७९ देखि सकिइसकेको छ।

४ मङ्सिरमा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले २ र ३ असोजमा समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दिइसकेका छन्। राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमहरू पनि सुरु गरिसकेका छन्। तर, यता बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकार भने निर्वाचन प्रभावित पार्न भिन्नै तरिकाले कार्यक्रमको तयारीमा जुटेको छ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले निर्वाचनको मुखमै ‘समाजवादी वडा कार्यक्रम’ ल्याएर २५ करोड रुपैयाँ खर्च गर्ने योजनाअनुरूप कार्यक्रम अघि सारेका हुन्। बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशका ११९ वटा स्थानीय तहमा प्रत्येक स्थानीय तहको एउटा वडामा ‘समाजवादी वडा कार्यक्रम’ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ।

यसका लागि प्रदेशको नीति, कार्यक्रम तथा बजेटमै २५ करोड रुपैयाँ बजेट छुट्याइएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनले प्रदेश सरकारको सो कार्यक्रम निर्वाचन लक्षित नभई प्रदेशलाई समाजवाद उन्मुख गराउने कार्यक्रम रहेको दाबी गरे ।

‘हाम्रो संविधानमा हाम्रो देश समाजवाद उन्मुख हुनेछ भनेको छ । संविधानमा परिभाषित गरेको कुरा हो । त्यो समाजवाद भनेको कस्तो हो ? त्यसलाई कसरि चिन्ने ? त्यो कार्यक्रम भनेको के हो ? समाजमा के भयो भने समाजवाद उन्मुख हुन्छ देश भन्नेबारे अहिले कुनै व्यख्या छैन’, द नेपालटपसँग कुरा गर्दै खनालले भने ।

उनले थपे, ‘यो समाजवादी कार्यक्रम कस्तो हुन्छ भन्ने कुरामा त अनभिज्ञता छ । त्यस कारण समाजवाद उन्मुख अर्थतन्त्रमा जाँदा त्यहाँको शिक्षा कस्तो हुने ? स्वास्थ्य कस्तो हुने ? सामाजिक बनावट कस्तो हुने ? सामाजिक सद्भाव कस्तो हुने ? ती सबै कुरालाई पहिचान गर्न समाजवादी वडा कार्यक्रम ल्याउँदै छौँ ।’

मन्त्री खनालले प्रदेशको नीति तथा कार्यक्रम, बजेटमा पनि आइसकेको समाजवादी कार्यक्रमलाई कार्यान्यनमा ल्याउनका लागि तयारी सुरु भएको बताए । ‘नीति तथा कार्यक्रम र बजेटमा त्यो लेख्नका लागि मात्र भयो । लेखेर मात्र भएन, त्यसका लागि बजेट विनियोजन भएको छ’, मन्त्री खनालले भने, ‘अहिलेका लागि २५ करोड बजेट विनियोजन भएको छ । आवश्यक पर्दा रकम थप्न पनि सकिन्छ।’

मन्त्री खनालले सो समाजवादी वडा कार्यक्रम कहाँबाट, कुन वडाबाट सुरु गर्ने भन्नेबारे हालसम्म कुनै तयारी नभएको र केही दिनमै यसबारे थप आवश्यक निर्णय लिइने बताए।

‘कति वडाबाट त्यो सुरु गर्ने ? कुन वडाबाट सुरु गर्ने ? प्रत्येक पालिकाको कम्तीमा एउटा वडाबाट सुरु गर्ने कि अथवा अहिले आधामा मात्र सुरु गर्ने कि भनेर त्यसका लागि रकम विनियोजन गरेर अघि बढ्ने तयारी छ’, खनालले भने, ‘समाजवादी वडा कार्यक्रममा समाजवादी शिक्षा, स्वास्थ्य, बाटो, सामाजिक जनसद्भावका लागि मोडल तयार गर्दै छौँ । मन्त्रिपरिषद्ले समाजवादी कार्यक्रमलाई अघि बढाउने निर्णय गर्‍यो । त्यसको मोडल अब तयार हुन्छ।’

उनले समाजवादी वडा कार्यक्रम देशमै पहिलो पटक नमुना कार्यक्रमको रूपमा सुरुआत हुनेसमेत बताए। मन्त्री खनालले उक्त समाजवादी वडा कार्यक्रम निर्वाचन लक्षित कार्यक्रम नभएको समेत दाबी गरे। उनले बजेटमा आइसकेको कार्यक्रमलाई कार्यान्वयनमा लैजान लागेको भन्दै सो कार्यक्रम चुनाव लक्षित नभएको बताए।

यसअघि गएको स्थानीय निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत बाग्मती प्रदेश सरकारले ५ लाख रुपैयाँका दरले २ हजार ३०० वटा टुक्रे योजना वितरण गरेको थियो ।

टुक्रे योजनाका लागि प्रदेश सरकारले ३ अर्ब १५ करोड ३५ लाख रुपैयाँ निकासा गरेको थियो । उपभोक्ता समितिको नाममा आफ्नो पार्टी निकट कार्यकर्ता पोस्दा प्रदेश सरकारको करोडौँ रुपैयाँ दुरूपयोग हुनुका साथै कार्यक्रम प्रभावकारी नहुँदा प्रदेश सरकार निकै आलोचित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्