अपराधका लागि सहज बन्दै काठमाडौंको काँडाघारी, प्रहरी निरीक्षक पाठक मौन



काठमाडौं । सुरक्षाको दृष्टिकोणले काठमाडौंलाई जति सुरक्षित मानिएको छ, दाबी गरिएको जति छैन। त्यसको पछिल्लो उदहारण हो, काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद हत्याकाण्ड।

गोठाटारस्थित व्यस्त सडकमा बा ६ च ५१५२ नम्बरको कारबाट निस्किने बित्तिकै गार्मेन्ट व्यवसायी मोहम्मदमाथि अज्ञात समूहले गोली प्रहार गर्‍यो। मोहम्मदलाई आक्रमणकारीले लखेटी लखेटी गोली प्रहार गरेको सिसिटिभी फुटेजमा देख्न सकिन्छ। गोली चलेको देखेपछि परिवारका सदस्यले प्रतिवाद गर्न खोज्दा आक्रमणकारी पेस्तोल छोडेर भागेका थिए। आक्रमणपछि घाइते भएका मोहम्मदको उपचारकै क्रममा ज्यान गयो।

 उनले आफूलाई सुरक्षा थ्रेट रहेको भन्दै गोकर्णेश्वरको जम्मुडाँडा प्रहरी चौकीमा निवेदन दिएका थिए । तर त्यो समयमा प्रहरीले उनको विषयमा जानकारी नभएकाले सामान्य लिएको थियो। मोहम्मदको हत्या भए पनि अहिलेसम्म उनको हत्यामा संलग्न रहेकालाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन।  नागरिकको सुरक्षामा खटिएका प्रहरीमाथि गम्भिर प्रश्न खडा भएको छ तर प्रहरी अझै पनि जिम्मेवार बन्न सकेको छैन । 

सामान्यतया रेस्टुरेन्ट, लाउन्ज, बार आदी मध्यरातसम्म सञ्चालन गर्न पाइदैन् । तर काठमाडौंको काँडाघारीमा रहेका अधिकांश रेस्टुरेन्टहरू रातभर सञ्चालन गरिएको पाइएको छ। हुन त प्रहरीको संलग्नतामा उक्त कार्य हुने गरेको घटना यसअघि नआएका भने होइनन् तर पनि प्रशासनको ध्यान त्यसतर्फ जान सकेको छैन् ।

काँडाघारीको सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक सुजन पाठक भने मौन छन्। यो क्षेत्र ठमेल होइन जहाँ निर्बाध रुपमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइन्छ। तर प्रहरी निरीक्षक पाठकले यसको नियन्त्रण गर्नेतर्फ ध्यान दिनुको साटो उल्टै मौन समर्थन जनाएका छन्। उनलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि यस विषयमा आफू जानकार नभएको बताउँछन् ।

स्थानीहरूले भने राति अबेरसम्म रेस्टुरेन्टमा होहल्ला हुने गरेको गुनासो गरेका छन्। प्रहरी प्रशासनको लापरबाहीका कारण कुनै बेला पनि अपराधका घटना हुनसक्ने भन्दै स्थानीय त्रसित बनेका छन्। जनताको जिउ ज्यानको रक्षाका निम्ति खटिने प्रहरीले नै आपराधिक क्रियाकलाप रोक्नतर्फ चासो नदिनु दुखद भएको एक स्थानीयले बताए।  

काठमाडौंको सुरक्षा व्यवस्थामाथि बारम्बार थ्रेट हुँदा पनि प्रहरी गम्भीर बन्न नसकेको उनको आरोप छ। ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा अपराधका घटना बढिरहेका बेला काठमाडौं उपत्यकामा हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरी असफल बन्दै गएको छ । यसले गर्दा पनि अपराधका लागि काठमाडौं सहज देखिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्